भारतीय केन्द्रीय रेलमन्त्री नेपालमा
काठमाडौं : भारतीय केन्द्रीय रेलमन्त्री सुरेश प्रभु नेपाल नेपाल आइपुगेका छन्। नेपाल उद्योग परिसंघले फागुन ८ र ९ मा आयोजना गर्न लागेको ‘सेकेन्ड इन्फ्रास्ट्रक्चर समिट-२०१७’ सहभागी हुन भारतीय रेलमन्त्री नेपाल आएका हुन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने उक्त सम्मेलनमा भारतीय रेलमन्त्री मुख्य वक्ता रहनेछन् । भारतीय केन्द्रीय रेलमन्त्रीले नेपाल-भारतबीचका सीमापार रेल सजाल निर्माणका संबन्धमा नेपालको उच्चस्तरीय राजनीतिक नेतृत्वसँग छलफल गर्ने भएका छन् ।
परराष्ट्र मन्त्रालयका अनुसार भारतीय रेलमन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल, भौतिक योजनामन्त्री रमेश लेखकसँग फरकफरक भेटवार्ता गर्नेछन् ।
सरकारी अधिकारीहरुका अनुसार नेपाल–भारतबीचको जयनगर-बिजलपुर-बर्दिवास र जोगबनी-बिराटनगर सीमापार रेलवे निर्माणमा भइरहेको प्रगतिबारे भ्रमणमा छलफल हुनेछ ।
प्रधानमन्त्री दाहालको गत सेप्टेम्बरमा सम्पन्न भारत भ्रमणका क्रममा भएको द्विपक्षीय सहमति अनुशार अन्य तिन नयाँ सीमापार रेल निर्माणबारे भारतीय मन्त्रीको भ्रमणमा कुराकानी हुनेछ ।
नेपालगंज-नेपालगंज रोड, काकड्भिट्टा-न्यू जलपाइगुडी र भैरहवा-नौतनवा सीमापार रेलको निर्माण सुरु गर्ने बिषयमा पनि भ्रमणमा छलफल हुने भएको छ । सीमापार रेल निर्माणका लागि नेपालतर्फ जमिन अधिग्रहणको काम अघि बढाउन लागिएको सरकारी अधिकारीहरुले बताएका छन्।