नेतृत्वका लागि राप्रपामा भोलि निर्वाचन

नेतृत्वका लागि राप्रपामा भोलि निर्वाचन

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्वका लागि सोमबार निर्वाचन हुने भएको छ । निर्वाचन समितिले शनिबार प्रकाशन गरेको कार्यतालिकाअनुसार सोमबार बिहान ७ बजेदेखि मतदान हुनेछ ।

निर्वाचन कार्यक्रमअनुसार आइतबार उम्मेदवारले मनोनयन दर्ता गर्ने र सोमबार निर्वाचन हुनेछ । नयाँ विधानअनुसार महाधिवेशनले एक अध्यक्ष र १ सय ६१ केन्द्रीय सदस्य छान्नेछ । अध्यक्षका लागि हालसम्म पार्टी अध्यक्ष कमल थापा र राष्ट्रिय अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले उम्मेदवारी घोषणा गरेका छन् । अन्य थुप्रै नेताले केन्द्रीय सदस्यको उम्मेदवारी घोषणा गरेका छन् ।

यसअघि कमल थापालाई अध्यक्ष बनाउने भनी लोकेन्द्रबहादुर चन्द, लोहनी र पशुपतिशमशेर राणाले गरेको सहमति तोडिएको छ । डा. लोहनीले सहमति तोडेर अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेपछि निर्विरोधको सम्भावना कम भएको हो । यद्यपि, शीर्ष नेता सहमतिका लागि अन्तिम समयसम्म छलफलमा जुट्ने प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिए ।

यसैबीच, निर्वाचनका लागि मतपत्र प्रयोग गर्ने कि विद्युतीय मेसिन भन्नेमा विवाद भएको छ । निर्वाचन समितिले विद्युतीय मतदान प्रयोग गर्ने निर्णय गरेपछि लोहनी पक्षले आपत्ति जनाएको छ । राप्रपा नेपालको अघिल्लो महाधिवेशनमा इलेक्ट्रोनिक मेसिन प्रयोग गरेर अध्यक्ष थापाले अनुचित भोट ल्याई ठूलो मतान्तरले अर्का प्रत्यासी पद्मसुन्दर लावतीलाई हराएको भन्दै लोहनी पक्षले असन्तुष्टि जनाएको हो ।

एकीकृत राप्रपाको महाधिवेशनमा मतदानका लागि प्रयोग गर्न लागिएको इलेक्ट्रोनिक भोटिङ मेसिनमा घुसपैठ भएको आरोप उसले लगाएको छ । सफ्टवेयरबाट चल्ने मेसिनमा घुसपैठ भएको भन्दै शनिबार बन्दसत्रमा केहीबेर होहल्लासमेत भएको थियो । बन्दसत्रमा डा. लोहनीले जबर्जस्ती विद्युतीय मेसिन प्रयोग गरिए निर्वाचनसमेत बहिष्कार गर्ने चेतावनी दिएको एक नेताले बताए । प्रवक्ता श्रेष्ठले भने निर्वाचन समितिले विद्युतीय मतदान प्रयोग गर्ने निर्णय भएको जानकारी दिए ।

शनिबारको बन्दसत्रमा अध्यक्ष कमल थापाले पेस गरेको राजनीतिक प्रतिवेदन, राष्ट्रिय अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पेस गरेको आर्थिक प्रतिवेदन र बुद्धिमान तामाङले पेस गरेको विधान संशोधन प्रस्तावमाथि छलफल भएको थियो ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.