रासस वार्षिकोत्सवमा सञ्चारमन्त्रीले सुनाए ‘राजाको कथा’
काठमाडौं : यो आमाले सुनाउनुभएको कथा हो। एक राजा थिए। उनले बजार बनाउने घोषणा गरेछन् र भनेछन्, ‘बजारमा सबै कुरा बेच्न राख्नुपर्छ, बिके बिकिहाल्छ नबिकेको कुरा म किनिदिन्छु।’
राजाले घोषणा गरेको बजार खुब चल्यो। जे पनि बिक्छ भनेर एउटाले बजारमा शनिको मूर्ति ल्याएर राखेछ। त्यो कसैले किनेन। शनि लाग्यो भन्नासाथ मान्छे डराउँछन्। मूर्ति किन्ने कुरा त धेरै गाह्रो भयो। तर, राजा वचनबद्ध थिए। उनले मूर्ति किने। मूर्ति घर लगिसकेपछि दरबारमा त्यसको असर देखियो।
घरका लक्ष्मी, सरस्वती, गणेश सबै बाहिर निस्कन थाले। तिमीले शनि भित्र्याउने हो भने हामी बस्दैनौँ भनेर सबै भाग्न थाले। अन्तिममा सत्य पनि बाहिर निस्किँदै रहेछ। उसलाई समातेर राजाले भनेछन्, ‘अरु सबै भागुन्। लक्ष्मी, सरस्वती र गणेश भागुन् तर तपाईं भाग्न पाउनुहुन्न। किनभने मैले जे भनेको थिएँ त्यही गरेको छु। म सत्यको पक्षमा छु। मैले किन्छु भनेको थिएँ, किनेँ। त्यसैले तपाईं भाग्न पाउनुहुन्न।’ राजाले त्यसो भनेपछि सत्य भित्र गए। भित्र गएपछि सत्यसँग नजोडिएर त बस्नु भएन भन्दै सरस्वती, गणेश, लक्ष्मी सबै घरमै फर्किएर आए !
यो कथा शनिबार सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले राष्ट्रिय समाचार समिति (रासस) का पत्रकारलाई सुनाएका हुन्। राससको ५६ औँ वार्षिकोत्सवको अवसरमा आयोजित विशेष कार्यक्रममा बोल्दै मन्त्री कार्कीले सत्यको पक्षमा लाग्न पत्रकारलाई राजाको कथा सुनाएका हुन्।
मन्त्री कार्कीले सत्यबाहिर गएर लेख्ने र आफ्नो पार्टीको गलत कुरा लेख्ने पत्रकारलाई प्रश्न गरे, ‘अब हाम्रो पार्टीको नेतालाई अलिकति खुसी पारिहालौँ भन्नुहोला तर पार्टीको सत्यसँग सम्बन्ध विच्छेद भएपछि तपाईंको पार्टी रहला ? तपाईंको लेखाइले कति दिनसम्म जोगाउला ?’
उनले सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा लेखेजस्तो गरी समाचार नलेख्नसमेत पत्रकारलाई सुझाव दिए। ‘पत्रकारको लेखाइ फेसबुके र ट्वीटे मात्र भएर हुँदैन। लेखाइमा दम हुनुपर्छ त्यसो भए मात्र सच्चा पाठक पाउनुहुन्छ।’
पत्रकार सत्यको पक्षमा कहिल्यै डगमगाउन नहुने बताउँदै मन्त्री कार्कीले थपे, ‘आस्था सबैका हुन्छन्, पत्रकारको पनि पार्टीविशेष, गाउँविशेष अनुराग होला तर त्यहाँ गलत काम रहेछन् भने मुटु मिचेर सत्यको पक्षमा निर्णय गर्नुपर्छ।’
मन्त्री कार्कीले पत्रकार अल्छी भएकाले पाठक पनि हल्का विषयमात्र पढ्ने गरेको सन्दर्भलाई समेत घुमाउरो शैलीमा स्पष्ट पारे। ‘म आमा जातिलाई सम्मान गर्छु। तर, यहाँ धेरै अल्छी आमाहरूले नानीलाई लिटो खुवाउँदैनन्। बजारमा गएर चाउचाउ र चटपटे किनेर खुवाउँछन्। स्कुलको अगाडि छाडिदिन्छन्’, कार्कीले पत्रकारप्रति व्यङ्ग्य गर्दै भने, ‘त्यस्तै हाम्रा पत्रकार पनि सत्य कुरा खोज्दैनन्। चटपटे कुरा लेख्छन्। पाठकलाई चटपटे विषयमा नशा परेको छ। अब सुपाठ्य विषयमा बानी पार्नुपर्छ। पाठकलाई चटपटे विषयवस्तुको नशाबाट मुक्त गर्नुपर्छ।’
सञ्चारमन्त्रीले यसरी पत्रकारिताको पाठ पढाउँदै गर्दा तीन दशकदेखि पत्रकारिता गर्दै आएका रासस अध्यक्ष कुलचन्द्र वाग्ले, नायब महाप्रबन्धक सुरेन्द्रबहादुर नेपाली, प्रधान सम्पादक राजुकाजी शाक्य मन्त्रमुग्ध देखिन्थे।
मन्त्री कार्कीले पछिल्लो समय सार्वजनिक संस्थालाई बचाउनु चुनौतीपूर्ण भएको उल्लेख गर्दै आफ्नो पूँजीको सदुपयोग गर्दै राम्रा काममा जनशक्ति परिचालन गर्न समेत निर्देशन दिए।
कार्यक्रममा राससका पुराना पत्रकार एवं सांसद रामचन्द्र पोखरेलले आफ्ना पत्रकारिताका अनुभव साट्दै राससका पत्रकारलाई अन्तर्राष्ट्रिय तालिम र प्रशिक्षणको अवसरका लागि बजेट वृद्धि गर्न व्यवस्थापनलाई सुझाव दिए।
राससका अध्यक्ष वाग्लेले भने सेवाग्राहीको सन्तुष्टिका निम्ति सेवा विस्तार र आधुनिकीकरणको तयारी भइरहेको बताए। कार्यक्रममा प्रेस काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले राससको प्रतिस्पर्धी कोही नभएकाले आफैँलाई अझ मजबुत बनाउनुपर्नेमा जोड दिए।
राससले राजनीतिक प्रभावभन्दा व्यावसायिकतालाई प्राथमिकता दिनुपर्नेमा कार्कीको जोड थियो। कार्यक्रममा राससका नायबमहाप्रबन्धक नेपालीले प्रविधिको विकाससँगै बौद्धिक सम्पत्तिको अधिकार उपभोग गर्न रासस तयार हुनुपर्नेमा जोड दिए भने रासस सञ्चालक समितिका सदस्य गंगाधर पराजुलीले राससले नयाँ शैलीमा समाचार प्रस्तुत गरेर निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न तयार हुनुपर्ने बताए।
नेपालको एकमात्र समाचार संस्था राससका कुल एक सय ९८ ग्राहक छन्। तीमध्ये ९० वटा अनलाइन छन्। २०१८ साल फागुन ७ गते स्थापना भएको राससको ५६ औँ वार्षिकोत्सवको अवसरमा सञ्चारमन्त्री कार्कीले पुराना तथा नयाँ पत्रकार र कर्मचारीलाई सम्मान तथा पुरस्कार प्रदान गरे।
रासस पत्रकारिता पुरस्कारबाट कार्यकारी सम्पादक विकासप्रसाद लोहनी र वरिष्ठ संवाददाता नारायणप्रसाद न्यौपाने १०-१० हजार नगदसहित सम्मानित भए। विकास क्षेत्रअन्तर्गत पूर्वाञ्चलबाट यामबहादुर प्रधान, मध्यमाञ्चलबाट नवदीप श्रेष्ठ, पश्चिमाञ्चलबाट कृष्ण दर्नाल, मध्यपश्चिमाञ्चलबाट रामचन्द्र न्यौपाने, सुदूरपश्चिमाञ्चलबाट धनबहादुर भण्डारी र काठमाडौँ उपत्यका क्षेत्रबाट अच्युत रेग्मी पुरस्कृत भएका छन्।
उत्कृष्ट आलेखतर्फ पूर्णप्रसाद मिश्र र कविता उपाध्याय सम्मानित भए भने फोटोतर्फ रत्नकृष्ण श्रेष्ठ र धनवीर महतो पुरस्कृत भए। अडियोतर्फ कृष्णराज गौतम र नारायण ढुंगाना जनही पाँच हजारसहित सम्मानित भए।
राससका निम्ति भौतिक सम्पत्ति संरक्षण र विस्तारमा योगदान पुर्याउने नारायणप्रसाद अधिकारी, नारायणी रजौरे, शेरबहादुर सिंह, भगवानमान श्रेष्ठ र राजु विश्वकर्मा सम्मानित भए।
राससले प्रदान गर्ने ‘आदित्यध्वज जोशी स्मृति पुरस्कारबाट न्हुछेराज बज्राचार्य र सागुरसिंह राना सम्मानित भए भने वासु रिमाल यात्री पुरस्कारबाट मोहिनी मिश्र र नीरज गौतम सम्मानित भएका छन्।
रासस २० वर्षे दीर्घसेवा पदकबाट मोहम्मद सदरुल र वीरेन्द्रनारायण कर्ण सम्मानित भए। सवारीचालक केशव खत्री, कार्यालय सहयोगी फिरुराम चौधरी, केदारप्रसाद तिमिल्सिनालाई समेत २० वर्षे दीर्घसेवा पदकबाट सम्मानित भएका छन्।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ रासस शाखाका अध्यक्ष विष्णुप्रसाद नेपाल, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, राससका अध्यक्ष प्रेमप्रसाद उपाध्याय, रासस कर्मचारी सङ्घका अध्यक्ष मनोजकुमार लामिछाने र रासस कर्मचारी कर्मचारी युनियनकी अध्यक्ष कालिका खड्काले शुभकामना दिँदै कर्मचारीको हक हितका लागि सम्बन्धीत निकायको ध्यानाकर्षण गराए।