पेनग्यु र वैदेहीलाई उपाधि
काठमाडौंः नेपाल आईटीएफ जुनियर यू-१८ टेनिस च्याम्पियनसिप अन्तर्गत सर्किट दुईको एकलको उपाधि चीनका पेनग्यु लु र भारतकी वैदेही चौधरीले जितेका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा भएको पुरुष फाइनलमा पेनग्युले सर्किट एकका विजेता भारतका मृत्युञ्जय बदोलालाई ६-३ र ७-५ को सोझो सेटमा पराजित गर्दै उपाधिमाथि कब्जा जमाए ।
महिला एकलको उपाधि भिडन्तमा सर्किट एककी च्याम्पियन वैदेहीले आफ्नै देशकी शिवानी स्वरूप इङ्लेलाई सोझो सेटमा ६-३ र ६-१ ले हराइन् । वैदेहीले शुक्रबार शिवानीसँगै मिलेर महिला युगलको उपाधि जितेकी थिइन् । पुरुष युगलको उपाधि भारतका आदित्य ऐयर र पीयूष सुरेन्द्र सलेकरको जोडीले जित्यो ।विजेतालाई आयोजक अखिल नेपाल लनटेनिस संघका चार उपाध्यक्ष केशवराज पाण्डे, विनोद कायस्थ, दिनेश तुलाधर र राजु श्रेष्ठले पुरस्कार प्रदान गरे ।
सर्किट दुईमा विभिन्न ११ देशका ५८ पुरुष र ३८ महिला गरी ९६ खेलाडीले पुरुष/महिला एकल र युगलमा प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा भारतबाट सर्वाधिक ६२ खेलाडी सहभागी थिए भने नेपालबाट नौ पुरुष र नौ महिला गरी १८ खेलाडीले सर्किट दुईमा प्रतिस्पर्धा गरेका थिए । नेपाली १८ खेलाडीमध्ये सर्किट दुईमा माहिका राणा, प्रेरणा कोइराला र संरक्षकभूषण वज्राचार्यले पहिलो चरणको खेलमा जित हात पारेका थिए ।