ओमको शाखा पोखराको लेकसाइडमा
काठमाडौः ओम डेभलपमेन्ट बैंक लिमिटेडले पोखराको लेकसाइडमा नयाँ शाखा विस्तार गरेको छ । शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका प्रवक्ता तथा बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलले शुक्रबार गरेका थिए । बैंकले हाल ३१ वटा शाखाबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
शाखा उद्घाटनका क्रममा बैंकका अध्यक्ष सुशीलकुमार गोशली र प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले बैंकका विभिन्न गतिविधि जानकारी गराउँदै मनास्लु विकास बैंकसँग मर्जरको प्रक्रियामा रहेको बताए । मर्जरपछि बैंकका शाखा ४२ पुग्नेछन् ।
कार्यक्रममा बैंकका सञ्चालक राजेन्द्रकुमार बटाजूले स्वागत मन्तव्य दिएका थिए भने नेपाल राष्ट्र बैंक पोखरा शाखाका का.मु. निर्देशक अमर अधिकारी, पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष तथा नेपाल पर्यटन बोर्डका पूर्व सदस्य गणेशबहादुर भट्टराई, पोखरा पर्यटन परिषद्का अध्यक्ष सोमबहादुर थापा तथा सेदीबगर आमा समूहकी अध्यक्ष सरिता सिग्देलले शुभकामना मन्तव्य दिएको बैंकले जनाएको छ ।
बैंकले आर्थिक वर्ष २०७३ पुस मसान्तसम्म १२ अर्ब ९९ करोड निक्षेप संकलन र ११ अर्ब ३४ करोड कर्जा लगानीबाट २९ करोड ८९ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ ।