एनबी बैंकको नयाँ लोगो सार्वजनिक
काठमाडौः नेपाल बंगलादेश बैंक लिमिटेडले आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ । बैंकले शुक्रबार एक समारोहबीच आफ्नो नयाँ लोगो सार्वजनिक गरेको हो । नयाँ लोगो सार्वजनिक गर्दै बैंक सञ्चालक समितिका अध्यक्ष जलाल अहमदले नयाँ लागोसँगै बैंक नयाँ चरणमा प्रवेश गरेको बताए । उनले नयाँ लोगोको प्रर्वद्धनले बैंकको छविलाई अझ उच्च बनाउन मद्दत गर्ने तथा बैंकले पनि आफ्नो सेवासुविधालाई अझ चुस्तदुरुस्त बनाउने बताए ।
बैंकको विगत वर्षदेखि प्रचलनमा रहेको आफ्नो लोगोलाई थप केही परिमार्जन गरी नयाँ स्वरूप र आकारमा लोगोलाई प्रस्तुत गरिएको बैंकले जनाएको छ । नयाँ लोगोमा रातो र हरियो रंगको प्रयोग गरिएको छ । लोगोमा प्रयोग भएको रातो रंगले हार्दिकता, परिपक्वता, निर्भिकता, उत्साह र ऊर्जालाई प्रतिविम्वित गर्ने तथा हरियो रंग विश्वासनियता, सृजनशिलता, गतिशिलता, प्रगतिको बाहक रहेको कम्पनीले जनाएको छ ।
अहिलेको परिस्थितिमा नेपाल बंगलादेश बैंक एक उत्कृट, विश्वसनीय, सक्षम र सिर्जनशील बैंक भएकोले सम्पूर्ण ग्राहक तथा समग्र समाजमा छुट्टै पहिचान बनाउन सफल भएको र नयाँ लोगोले त्यसको प्रतिनिधित्व गर्ने बैंकको विश्वास छ ।
बैंकको चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार चुक्ता पुँजी चार अर्ब एक करोड रुपैयाँ रहेको छ । बैंकले ४१ अर्ब तीन करोड निक्षेप संकलन गरी ३६ अर्ब २० करोड रुपैयाँ कर्जा लगानी गरेको जनाएको छ । साथै सोही अवधिमा बैंकको खुद नाफा ५४ करोड ६ लाख रहेको छ । बैंकले हाल ४३ शाखा, ७ शाखारहित सेवा, दुई एक्सटेन्सन काउन्टर तथा ३९ वटा एटीएमबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।