तिनाउ विकास बैंक ‘क’ वर्गमा सूचीकृत
काठमाडौः तिनाउ विकास बैंक लिमिटेड आर्थिक वर्ष २०७३/७४ मा ‘क’ वर्गमा वर्गीकरण भएको छ । नेप्सेले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा बैंकलाई ‘क’ वर्गमा सूचीकृत गरेको बैंकले जनाएको छ । नेप्सेले चुक्ता पँजी, साधारण सेयरधनीको संख्या, मुनाफा, सेयरको किताबी मूल्य, आय–व्यय विवरणका आधारमा कम्पनीलाई ‘क’ वर्गमा सूचीकृत गर्दै आएको छ ।
तिनाउ विकास बैंकको चुक्ता पुँजी ३४ करोड १३ लाख ७० छ । केही समयभित्र जारी गर्ने हकप्रद सेयरपश्चात बैंकको चुक्ता पुँजी ४६ करोड ८ लाख ५० हजार पुग्ने बैंकले जनाएको छ । चालू आवको दोस्रो त्रैमासिकसम्ममा तीन अर्ब ६४ करोड निक्षेप संकलन गरी बैंकले तीन अर्ब नौ करोड कर्जा प्रवाह गरेको छ ।
बैंकले आठ करोड ५४ लाख सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको छ । बैंकले रूपन्देही, नवलपरासी तथा चितवन जिल्लाका विभिन्न स्थानका ११ वटा शाखामार्फत अत्याधुनिक मोबाइल तथा एटीएम बैंकिङ कारोबार गर्दै आएको छ ।