नेवानि बोर्ड सदस्यमा पहाडी
काठमाडौः ३० वर्ष वायु सेवाको अनुभव बटुलेका अच्युतराज पहाडीलाई सरकारले नेपाल वायु सेवा निगमको सञ्चालक समिति सदस्यमा नियुक्त गरेको छ । लामो समय निगमका विभिन्न पदमा बसेर कौशलता प्रदर्शन गरेका पहाडीलाई बिहीबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बोर्ड सदस्यमा मनोनयन गरेको हो ।
यसअघि निगमकै इन्जिनियरिङ विभागका निर्देशक रहेका पहाडी एक महिनाअघि मात्रै अवकाश पाएका थिए । नेपाल सरकारको गत बुधबारको निर्णय अनुसार पहाडीलाई नेपाल वायु सेवा निगमको सञ्चालकमा नियुक्त गरिएको संस्कृति तथा पर्यटनमन्त्री जीवनबहादुर शाहीले बताए । उनले बिहीबारै नियुक्तिपत्र बुझिसकेका छन् ।
उनी एयरक्राफ्ट इन्जिनियरिङका विज्ञसमेत हुन् । एयरक्राफ्ट इन्जिनियरिङ, मर्मत तथा सम्भारमा उनी वायु सेवाकै एक मात्रै विज्ञ हुन् । उनलाई नेपाल सरकारले चार वर्षका लागि बोर्ड सदस्यमा नियुक्त गरेको हो ।
‘सरकारले मेरो विज्ञता र अनुभवको कदर गर्दै वायु सेवा निगमको सञ्चालक समिति सदस्यमा नियुक्त गरेकाले म आफ्नो जिम्मेवारीप्रति प्रतिवद्ध भएर अघि बढ्नेछु’, पहाडीले भने ।