फागुन सात
एक अर्थमा प्रजातन्त्र अनुदार शासन व्यवस्था हो । त्यहाँ मूल्य, मान्यता र परम्परालाई अवज्ञा गर्न कठिन हुन्छ । तर प्रजातन्त्र उराठलाग्दो कर्मकाण्डी व्यवस्था बन्न पुग्यो भने त्यो जनताको चाहना र आकांक्षालाई प्रतिनिधित्व गर्ने जीवन्त प्रणालीका रूपमा स्थापित हुन सक्दैन । तर प्रजातन्त्र र जनताका बीचमा सम्बन्ध टुटेमा त्यसले प्रजातन्त्रको मौलिक मान्यतालाई समाप्त पार्दछ ।
नेपालमा ६७ औं प्रजातन्त्र दिवसलाई कर्मकाण्डीरूपमा मनाइए पनि त्यसमा त्यसका ‘हिरोहरू' लाई उचित सम्मान नदिइएको मात्र हैन, अपमानित गरिएको अवस्था छ । प्रजातन्त्र जनताद्वारा जनताका लागि को राज्यप्रणाली र शासन व्यवस्था हो । मुलुकको आत्मसम्मान, सार्वभौम हैसियत र स्वतन्त्रता अनि जनताको सामूहिक आत्मनिर्णयको अधिकारप्रति संवेदनशील, समर्पित र प्रतिबद्ध नभएको व्यक्ति या नेतृत्वले प्रजातन्त्र बलियो बनाउन सक्दैन । उ कर्मकाण्डी बन्न जान्छ । अहिले नेपालमा अधिकांश राजनीतिक नेतृत्व त्यस अर्थमा कर्मकाण्डी छन् र प्रजातन्त्रको रट लगाएर मुलुक र प्रजातन्त्रप्रति बफादार रहेको अर्थ या सन्देश प्रवाह गर्नका लागि मात्र ।
प्रजातन्त्रको स्थापना अक्सर उच्चतम उत्सर्ग र त्यागविना सम्भव हुँदैन । नेपाल कहिल्यै पनि बाह्य शक्तिको अधिनमा नरहेको मुलुकका लागि राष्ट्रियता र सार्वभौम हैसियतको निरन्तरताले बढी महत्ववपूर्ण स्थान लिनु अस्वाभाविक थिएन शासक र आम जनताका सोचाइ र बुझाइमा । प्रजातन्त्रले राष्ट्रियता र स्वतन्त्रता मजबुत बनाउँछ तथा हरेक नागरिक राष्ट्रका समान सरोकारवाला भएको सन्देश पनि जान्छ भन्ने सोचको विस्तार आवश्यक थियो ।
२००७ सालमा राजा त्रिभुवन र प्रजातन्त्रका लागि मुलुकभित्रै संगठित तर गोप्य अभियानमा लागेका ‘प्रजा परिषद्' बीचको सम्बन्ध तथा सहमति नेपालमा प्रजातन्त्रको दरिलो आधार बन्यो । त्यसपछि नै नेपालको अस्तित्वका लागि राष्ट्रियता र प्रजातान्त्रिक शक्तिबीच मेलमिलापपूर्ण सम्बन्ध र सहकार्य हुनुपर्छ भन्ने मान्यता विकसित भएको हो । मुलुकभित्रका ती शक्तिबीचको यही विश्वासका कारण नै राजा त्रिभुवनले विश्वास गरेका हुन् भारत र त्यहाँको तात्कालिन नेतृत्वलाई । आफू भर्खरै उपनिवेशबाट मुक्त भई प्रजातान्त्रिक मुलुकको नेतृत्व समालेको वर्गले नेपालको आन्दोलनलाई या प्रजातन्त्रतर्फको यात्रालाई सघाउन पुर्याउने छ भन्ने सोच विवेकसम्मत नै थियो, समग्र परिस्थितिको पृष्ठभूमिमा ।
विभिन्न उतारचढाव, आशंका, परस्पर विश्वास र राजा तथा दलका नेताहरूबीचको तिक्ततापूर्ण सम्बन्धले प्रजातन्त्रले जरा गाड्न नसकेको मात्र हैन दुर्भाग्यवश प्रजातन्त्र र राष्ट्रियताका प्रतिकात्मक शक्तिहरू अलग धु्रवमा उभिन पुगे नेपालमा । २०४६ को आन्दोलन र २०४७ को संविधानले ती दुर्भाग्यलाई सम्बोधन गर्ने कोसिस गरे पनि केही हदसम्म आन्तरिक, सामाजिक, आर्थिक परिवेश र आन्तरिक तथा बाह्य षडयन्त्रबाट माओवादी आन्दोलन जन्मियो ।
बाह्य उक्साहट र अभिभावकत्वमार्फत नेपाली समाजले व्यवस्थापन गर्न नसक्ने परिवर्तनको कारक बन्यो माओवादी शक्ति । फागुन ७ मात्र हैन, त्यसका लागि त्रिभुवन र नेपाली एकताका नायक पृथ्वीनारायण शाहलाई समेत, या अर्को हिसाबले नेपाली इतिहास अवमूल्यन गर्ने प्रयास पनि भित्रिए ०६३ को परिवर्तनसँगै ।
फागुन ७ लाई कर्मकाण्डमा सीमित राखेर प्रजातन्त्र दरिलो हुँदैन । जबसम्म ००७ को परिवर्तन र राजा त्रिभुवनसहित चार सहिद शुक्रराज शास्त्री, धर्मभक्त, दशरथ चन्द र गंगालाललाई अवमूल्यन गर्ने वर्तमान शैलीले निरन्तरता पाउँछ, जनताले सम्मान पाउन सक्दैनन् । नेपाली राज्यको अस्तित्व र प्रजातन्त्रप्रति उसको क्रमिक विकासको मूल तारिख हो फागुन ७ । यो दिन आत्मसमीक्षाको अवसर पनि हो ।
के राजनीतिलाई बाह्यनिर्देशकको दायरामा ल्याएर मुलुकको सम्मान र स्वतन्त्रता बच्ला ? के आत्मसम्मान र स्वतन्त्रताविना प्रजातन्त्र सुरक्षित रहला ?