कांग्रेस र माओवादीबीच चुनावको मिति घोषणा गर्ने सहमति
काठमाडौं : सत्ता गठबन्धनका कांग्रेस र माओवादी केन्द्रबीच स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेपछि संविधान संशोधनको प्रक्रिया अगाडि बढाउने नयाँ समझदारी भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाका साथमा माओवादी र कांग्रेसका शीर्ष नेताबीच आइतबार बालुवाटारमा भएको छलफलमा निर्वाचनको मिति घोषणा गरेपछि संविधान संशोधनको प्रक्रिया अगाडि बढाउने सहमति भएको छ।
कांग्रेस र माओवादीबीच समझदारी भएपछि निर्वाचनको विषयमा छलफल गर्न मधेशकेन्द्रित दलका नेतासँग पुन छलफल गर्ने समझदारी भएको हो।
बैठकमा सहभागी माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठका अनुसार संविधान संशोधनको प्रक्रिया टुंगो लगाएपछि चुनावको मिति घोषणा गर्ने स्थिति रहेन। ‘हामी छिटै चुनावको मिति घोषणा गर्ने तयारीमा छौँ। मधेशी मोर्चासँग पनि हामी छलफलमै छाँै। उहाँहरुबाट हामीले आन्दोलनको अपेक्षा गरेका छैनौँ,’ श्रेष्ठले भने,‘संविधान संशोधन प्रक्रिया टुंगो लगाएर निर्वाचन गर्ने मुल कुरामा हामी सहमत छौँ।’
कांग्रेस महामन्त्री शशांक कोइरालाका अनुसार तराईमा जनसंख्या र पहाडमा भूगोलको आधारमा क्षेत्र निर्माण गर्ने बारेमा पनि छलफल भएको थियो। प्रधानमन्त्री दाहालले जेठ भित्र निर्वाचन गराउने गरी फागुन पहिलो साता निर्वाचनको मिति घोषणा गर्ने बताउँदै आएका थिए।
मधेशकेन्द्रित दलका नेताहरुले आफूहरुले उठाएका माग सम्बोधन नगरी घोषणा गरिने निर्वाचनलाई आफूहरुले असफल पार्ने चेतावनी दिदँै आएका छन्। प्रमुख प्रतिपक्षी दल एमालेले भने तत्काल निर्वाचनको मिति घोषणा गर्न प्रधानमन्त्री दाहाललाई दबाब दिदैँ आएको छ।