स्थानीय निर्वाचनको मिति घोषणा भोलिः खनाल
काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनाल बलदेवले सरकारले भोलि नै निर्वाचनको मिति घोषणा गर्ने स्पष्ट पारेका छन्।
खनालले प्रधानमन्त्री निवास बालुवाटारमा भएको काँग्रेस–माओवादी केन्द्रको बैठकले भोलि बस्ने मन्त्रिपरिषदको बैठकले नै निर्वाचनको मिति घोषणा गर्ने बताएका हुन्। उनले भने,‘चुनावको लागि सबै प्रक्रिया पुरा भइसक्यो, यसका लागि निर्वाचन आयोग र सूरक्षा निकायका प्रमुखहरुसँग कुरा गरेर जेठको पहिलो हप्ता गर्नेगरि भोलि निर्वाचनको मिति घोषणा गरिनेछ।’
आइबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले मुलुक अब चुनावमा गएको समेत उद्घोष गरे। खनालले सबै दलहरुलाई विश्वासमा लिएर नै सरकारले चुनावको मिति घोषणा गर्न लागेको बताए। उनले भने,‘निर्वाचनको मिति घोषणा गर्नेबारेमा हामीले मधेसी मोर्चासँग पनि छलफल गरेका छौं। उहाँहरुले पहिला संविधान संशोधन भन्नुभएको छ, संशोधन नभईकन चुनावमा नजाने भनेर उहाँहरुले भन्नुभएको छ, उहाँहरुसँग पनि आज कुरा हुन्छ।’
उनले स्थानीय तह पुनःसंरचनामा मधेसी मोर्चाले आपत्ति जनाएकोले उनीहरुले भनेबमोजिम जनसंख्याको आधारमा पुनःसंरचना गर्ने समेत जनाए।
खनालले भोलि पनि निर्वाचनको मिति घोषणा नगरिए सरकारलाई प्राविधिक रुपमा कठिनाइ हुने बताए। उनले भने,‘भोलि निर्वाचनको मिति घोषणा गरेपनि मोर्चाको माँगलाई सम्बोधन गर्नको लागि सदनमा संविधान संशोधन प्रस्तावलाई छलफल गरेर टुंगो लगाइन्छ।’