निर्वाचनको मिति घोषणा गरिए सशक्त आन्दोलन: मधेसी मोर्चा
काठमाडौंः मधेसी मोर्चामा आबद्ध दलका नेताहरुले संविधान संशोधन नगरी स्थानीय निर्वाचनको मिति घोषणा भए सरकार छोडेर आन्दोलन गर्ने चेतावनी दिएका छन्। उनीहरुले निर्वाचनको मिति घोषणा भएको आधा घण्टाभित्रै सरकारलाई दिएको समर्थन फिर्ता लिएर आन्दोलन सुरु गर्ने चेतावनी दिएका हुन्।
मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले सरकारले चुनावको मिति घोषणा गरेको आधा घण्टाभित्रै सरकारलाई दिएको समर्थन फिर्ता लिएर आन्दोलन गर्ने बताए। रिपोर्टर्स क्लब नेपालले आइतबार गरेको साक्षात्कारमा उनले भने,‘यदि संविधान संशोधन नभएर मिति घोषणा भए, मोर्चाले त्यसको आधा घण्टाभित्रै सरकारलाई दिएको समर्थन फिर्ता लिएर आन्दोलनको कार्यक्रम घोषणा गर्छ, अब हुने आन्दोलनले जनविद्रोहको स्वरुप लिन्छ।’ उनले भने,‘तर अझैपनि हामी यो सरकारले त्यसो गर्दैन भन्नेमा आशावादी छौं, गर्यो भने सरकारले सबैभन्दा ठूलो संकट व्यहोर्छ।’
उनले सरकारले निर्वाचनको मिति घोषणा गरेपनि निर्वाचन कुनै हालतमा हुन नसक्ने ठोकुवा गरे। यादवले भने,‘स्थानीय तह पुर्नसंरचना आयोगको प्रतिवेदन पनि विवावस्पद छ। त्यसलाई सच्याउनको लागि सरकारले गठन गरेको समितिको प्रतिवेदनपनि सावर्जनिक भएको छैन, अनि के को चुनाव गर्ने?’ उनले केन्द्रले नै स्थानीय तहको निर्वाचन गरेर संघीयता नै फाल्न खोजेको आरोप लगाए।
यादवले भने,‘हामी चुनावको विरोधी होईनौं, तर पहिला समस्याको समाधान गरेरमात्रै सार्थक निर्वाचन गर्नुपर्छ।’ उनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संविधान संशोधन हुनै सक्दैन भनेर झुठको खेती गरिरहेको आरोप लगाए।
कार्यक्रममा नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झाले सरकारले चुनावको मिति घोषणा गरे नेपालमा भिडन्तको राजनीति सुरु हुने चेतावनी दिए। झाले भने,‘चुनावको मिति घोषणा गर्न सरकारले पाउँछ, तर राति गरेपनि हुन्छ, दिउँसो गरेपनि हुन्छ, तर भोलि चुनावको मिति घोषणा हुन्छ भने त्यो नहुने निर्वाचन हो।’
उनले जबरजस्ती चुनावको मिति घोषणा गर्नु भनेको सरकारले भिडन्तको राजनीति निम्त्याउनु भएको टिप्पणी गरे। झाले भने,‘जबरजस्ती चुनाव गरिए मधेसी जनतालाई सहिद बनाउने चुनाव हुनेछ, हजारौं मान्छेहरुलाई सहिद बनाउने बाहेक यो निर्वाचनले केही निकास दिँदैन। हामी बरु सहिद बन्न तयार छौं तर मधेसमा चुनाव हुन दिँदैनौं।’
उनले मधेसको समस्या समाधान नगरी चुनावको मिति घोषणा गरिए काठमाडौं–मधसशको धागो कमजोर हुने बताए। झाले भने,‘अब पनि धोकाधडीको राजनीति लागु नगरौं, जबरजस्ती चुनाव घोषणा गरिए भिडन्तबाहेक केही हुन्न।’