माओवादी, कांग्रेस र मोर्चाका नेताबीच बालुवाटारमा के कुरा भयो ?
काठमाडौं : संविधान संशोधन र निर्वाचनको मिति घोषणाको विषयमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दल माओवादी केन्द्र, नेपाली कांग्रेस र मधेशी मोर्चाका नेताबीच बैठक सम्पन्न भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आब्हानमा बसेको बैठकमा संविधान संशोधन प्रस्ताव र स्थानीय निर्वाचनको मिति घोषणाका विषयमा केन्द्रित भएर छलफल भएको छ।
बैठकमा प्रधानमन्त्रीले सरकार स्थानीय निर्वाचनको मिति घोषणा गर्ने अन्तिम तयारीमा रहेको मोर्चाका नेतालाई जानकारी गराएका छन् । प्रधानमन्त्री मधेशमा जनसंख्याको घनत्वलाई मध्यनजर गर्दै स्थानीय तहको संख्या बढाउन सरकार लागिरहेको जानकारी मधेसी मोर्चाका नेतालाई गराएका छन् । साथै प्रधानमन्त्री प्रचण्डले फागुन १० गतेबाट सुचारु हुने संसदबाट संविधान संशोधन विद्येयकअघि बढाएर निष्कर्षमा लैजाने विश्वास दिलाउदै राजनीतिक गतिरोधका लागि स्थानीय तहको निर्वाचनमा आउन मोर्चाका नेताहरुलाई आग्रह गरेका छन ।
मोर्चाका नेताहरुले मोर्चाको मुख्य चासो सीमाङ्कनको हेरफेरसहित संविधान संशोधन भएको बताउँदै संशोधन प्रस्ताव टुंगोमा पुगेपछि मात्रै निर्वाचनको मिति घोषणा गर्न प्रधानमन्त्रीसँग अनुरोध गरे। आइतबार साँझको बैठकमा संविधान संशोधन प्रस्तावको प्रक्रिया, त्यसमा सरकारले खेल्ने भूमिका, स्थानीय तहको संख्यामा हेरफेर, स्थानीय निर्वाचनको औचित्य र सरकारले गरेको तयारी लगायतका विषयमा खुलेर सकारात्मक छलफल भएको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनाल ‘बलदेव’ले जानकारी दिए ।
बैठकमा संविधान संशोधन प्रस्ताव र स्थानीय निर्वाचनको मिति घोषणाका विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालय स्रोतले जानकारी दिएको छ। बैठकमा मोर्चाका नेताले संविधान संशोधनबिना निर्वाचन प्रक्रिया अगाडि नबढाउने अडान दोहोर्याएको बालुवाटार स्रोतले जानकारी दियो ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री बिमलेन्द्र निधि, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, मधेशी मोर्चाका नेताहरु महन्त ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, राजेन्द्र श्रेष्ठलगायत सहभागी थिए।
आइतबार दिउँसो बसेको मधेसी मोर्चाको बैठकले परिमार्जनसहितको संविधान संशोधनबिना हुने स्थानीय निर्वाचन अस्वीकार गर्ने निर्णय गरिसकेको थियो । मोर्चाले सरकारले संसदमा प्रस्तुत गरेको संशोधन अपूर्ण रहेकोले सो संशोधन परिमार्जनसहित पारित हुनुपर्ने मागलाई अडानकै रुपमा अघि सारेको छ ।
त्यस्तै आइतबार बिहान बसेको सत्ता साझेदारी नेपाली कांग्रेस पदाधिकारीको बैठकले आगामी वैशाखसम्म स्थानीय निर्वाचन हुनु पर्ने निर्णय गरेको छ । छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवासँग निर्वाचनको मिति घोषणा गरेर संविधान संशोधनको प्रक्रिया अगाडि बढाउने समझदारी बनाएका प्रधानमन्त्री प्रचण्डले मधेशकेन्द्रित दलका नेताहरुसँग पुन छलफल गरेर निकासको प्रयासलाई निरन्तरता दिएका हुन्।