निगमका नयाँ जहाजले आजबाट उडान भर्ने
काठमाडौः नेपाल एयरलाइन्सका चिनियाँ नयाँ जहाजले मंगलबारबाट उडान भर्ने भएका छन् । नेपाल वायु सेवा निगमले १५ दिनअघि नेपाल अवतरण गराएका चिनियाँ दुई नयाँ विमान मोडर्न आर्क (एमए ६०) र वाई १२ ले मंगलबारबाट उडान गर्ने भएका हुन् ।
निगमका प्रवक्ता रविन्द्र श्रेष्ठका अनुसार निगमले नयाँ विमानको उडान तालिका पुरानै गन्तव्यमा थप गरेको हो । उनले भने, ‘नयाँ विमानका लागि नयाँ गन्तव्य अझै तय भएको छैन ।’ यो सँगै निगमसँग आन्तरिक उडानका लागि ६ वटा जहाज छन् । अहिले निगमका दुई वटा एमए ६०, दुई वटा वाई १२ र दुई वटा ट्विनअटर विमान छन् । आन्तरिक उडान भरिरहेको एउटा ट्विनअटर विमानको अहिले मर्मत भइरहेको छ ।
२०७० सालमा निगमले गरेको सम्झौता अनुसार चीनबाट अझै दुई वटा विमान ल्याउन बाँकी छ । तत्काललाई ६ वटा जहाजबाट आन्तरिक उडान भर्ने भए पनि थप दुई विमान भित्र्याएपछि निगमसँग आन्तरिक उडानका लागि नौ वटा विमान हुनेछन् । निगमले चीन सरकारको सहुलियत ऋणमा यी विमान भित्र्याएको हो ।
निगमले २०७१ वैशाखमा चिनवाट पहिलो जहाज एमए ६० र कात्तिकमा वाई १२ ल्याएको थियो ।
२०६९ सालमा नेपाल र चीन सरकारबीच भएको सम्झौताबमोजिम नेपाल वायुसेवा निगमले कुल ६ वटा जहाज ल्याउने भनिएकोमा अनुदानमा दुई वटा र सहुलियत ऋणमा चार वटा ल्याउने सहमति भएको थियो । उक्त सहमति अनुरुप निगमले २०७१ वैशाखमा अनुदानमा पहिलो जहाज एमए ६० ल्याएको थियो भने कात्तिकमा वाई १२ जहाज ल्याएको थियो ।
हाल निगमले चार वटा विमानबाट २० वटा गन्तव्यमा सेवा दिइरहेकोमा थप विमानबाट अहिलेलाई पुरानै गन्तव्यमा थप उडान गर्ने योजना बनाएको छ । ५६ सिट क्षमताको नयाँ विमान एमए ६० ले दैनिक काठमाडौं-विराटनगर-काठमाडौं र धनगढी उडान भर्नेछ भने हप्तामा चार दिन (आइतबार, सोमबार, मंगलबार र शुक्रबार) काठमाडौं-भद्रपुर उडान भर्नेछ । फेवा नाम दिइएको यस विमानको नेपाली कल साइन ‘नाइन एन एकेआर’ रहेको प्रवक्ता श्रेष्ठले बताए ।
त्यस्तै एमए ६० ले हप्तामा तीन दिन (बुधबार, बिहीबार र शनिबार) काठमाडौं-भैरहवा उडान भर्नेछ । त्यस्तै १७ सिटे वाइ १२ ले काठमाडौं-पोखरा दैनिक दुई उडान र नेपालगन्ज एउटा उडान गर्ने भएको छ । यो विमानले काठमाडौं भैरहवा रुटमा हप्तामा चार दिन (आइतबार, सोमबार, मंगलबार र शुक्रबार) उडान गर्नेछ भने हप्ताको तीन दिन (बुधबार, बिहीबार र शनिबार) काठमाडौं-सिमरा उडान भर्ने निगमले जनाएको छ ।
निगमले वाइ १२ लाई गौंथली नामाकरण गरेको छ । निगमका अनुसार एमए ६० को परीक्षक पाइलट क्याप्टेन गोपालसिंह बिष्ट छन् भने वाई १२ का लागि विदेशी पाइलट राखिएको छ ।