पर्यटक लोभ्याउन ‘रक गार्डेन’ अवधारणा
घेर्मुः लमजुङमा पर्यटक लोभ्याउन ‘रक गार्डेन’ अवधारणा ल्याइएको छ । प्राकृतिक रूपमा मिलेर बनेको चट्टानलाई सजाएर स्थानीयले ‘रक गार्डेन’ नामाकरण गरेका छन् । अन्नपूर्ण पदमार्गमा पर्ने घेर्मुको खानीगाउँमा स्थापना गरिएको रक गार्डेन अवधारणा नेपालमौ पहिलो हो । पछिल्ला वर्ष गाउँ हुँदै हिड्ने पर्यटकको संख्यामा कमी आउन थालेपछि घेुर्मका स्थानीय नयाँ रणनीतिका साथ पर्यटक भित्र्याउन लागिपरेका छन् । प्रकृतिले रमाउने पर्यटकलाई आकर्षण गर्न त्यहाँका स्थानीयले नेपालमै पहिलो पटक ‘रक गार्डेन’ को अवधारणा भित्र्याएका हुन् ।
‘रक गार्डेनको अवधारणा सुरु भएसँगै पर्यटकको आगमन बढ्न थालेको छ’, रक गार्डेन निर्माण समितिका अध्यक्ष कामसार्की गुरुङ भन्छन्, ‘आन्तरिक र बाह्य दुवै पर्यटक रक गार्डेनको सुन्दरता देखेर दंग छन् ।’ खानीगाउँसँगै जोडिएको रक गार्डेन पहरै पहराले बनेको छ । कतै गुफा छन्, कतै ओढार । कतै ठूला-ठूला सुरुङ भेटिन्छन् । निकै लोभलाग्दो रक गार्डेन पूरै चहार्न आधा घन्टाभन्दा बढी समय लाग्छ । ‘रक गार्डेन पर्यटकीय मात्र नभई ऐतिहासिक रूपमा पनि उत्तिकै महत्वपूर्ण छ’, अध्यक्ष गुरुङ भन्छन्, ‘परापूर्व कालमा हाम्रा पुर्खा कसरी ओडारमा बस्थे त्यसको झल्को रक गार्डेनले दिन्छ ।’
एउटा पहरोबाट अर्कोमा पुग्न पुल बनाइएको छ । पहराभित्रको सुरुङ हुँदै अर्कै ठाउँ जाने बाटो छ । गार्डेनको बिचमा बस्ने ठाउँ बनाइएको छ । जिल्ला विकास समिति लमजुङको वातावरणमैत्री स्थानीय शासन कार्यक्रमअन्तर्गत गत आर्थिक वर्ष २०७२/०७३ मा आठ लाख रुपैयाँ र स्थानीयको एक लाख ७३ हजार रुपैयाँको श्रमदानबाट रक गार्डेनमा केही पूर्वाधार तयार भएका छन् ।
हालै रक गार्डेनको अवलोकन गर्न पुगेका जिल्ला विकास समिति लमजुङका कार्यक्रम अधिकृत मेघेन्द्र पोख्रेलले थोरै लगानीमा उल्लेख्य काम गर्न सकिन्छ भन्ने उदाहरण रक गार्डेनले दिएको बताए । ‘स्थानीय जागरुकता र पर्यटकीय सम्भावना देख्दा निकै खुसी लाग्यो’, उनले भने, ‘रक गार्डेनले उत्कृष्ट पर्यटकीय गन्तव्यको सम्भावना बोकेको छ ।’
रक गार्डेनको स्तरोन्नतिका लागि घेर्मु गाविसले चालू आर्थिक वर्षमा दुई लाख रकम विनियोजन गरेको छ । घेर्मुका सचिव राजेन्द्र शर्माका अनुुसार सो रकमले स्थानीयले पिकनिक स्पट र अन्य पूर्वाधार बनाउने तयारी गरेका छन् । रक गार्डेनमा ‘रक स्टे’को अवधारणा पनि ल्याइएको छ । ‘रक गार्डेन’ हेर्न आउने पर्यटक चट्टानमै बास बस्छन् । रक गार्डेनस्थलमा अहिले फूल रोप्ने, बिजुली सुविधा पुर्रयाउने, कुर्सी निर्माण गर्ने, ओडार छिर्ने सुरुङ मार्ग, पिकनिकस्थल, पोखरी, ढुंगेधारा, बासस्थान निर्माण गर्ने काम भइरहेको छ ।
‘रक गार्डेन बनाउने हाम्रो पञ्चवर्षीय योजना हो’, अध्यक्ष गुरुङ भन्छन्, ‘अब गाउ“मा रक गार्डेनस“गै होमस्टे र रक स्टेको अवधारणा पनि अघि बढाउछौं ।’ पाँच सय ८० मिटरको रुट सर्किट प्राकृतिक सुन्दरताका दृष्टिले निकै मनमोहक छ । अन्नपूर्ण पदयात्राका लागि आएका आन्तरिक तथा बाह्य पर्यटकलाई चट्टानको बगैंचाले आकर्षित गर्ने गर्छ ।
रक गार्डेनको सुरुवातमै पर्यटक आकर्षित छन् । अहिले नै दैनिक करिब ७० जनाको हाराहारीमा पर्यटक रक गार्डेनमा आउने गरेको स्थानीय लेखमान गुरुङ बताउँछन् । प्रकृतिले कलात्मक तरिकाले सिर्जना गरेको ‘रक गार्डेन’ घुम्दा पर्यटक अनौठो मान्छन् । ठूला चट्टानभित्र नै खाने, बस्ने र शौचालयको व्यवस्था गर्ने योजना गाउँलेको छ । लमजुङ सदरमुकाम बेसीसहरबाट २२ किमिको कच्चीबाटोको यात्रा गरी ताघ्रिङको रामबजारबाट १५ मिनेटको दुरीमा रक गार्डेन पुग्न सकिन्छ ।