स्थानीय निर्वाचन घोषणाविरुद्ध मोर्चाद्वारा मसाल जुलुस प्रदर्शन
सप्तरी: कांग्रेस-माओवादी नेतृत्वको गठबनधन सरकारले स्थानीयको निर्वाचन मिति घोषणा गरेपछि आक्रोशित संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले मंगलबार साँझ सदरमुकाम राजविराजका साथै जिल्लाका प्रमुख बजारमा मसाल जुलुस प्रदर्शन गरेको छ।
संविधान संशोधनमार्फत आफ्ना माग सम्वोधन नगरी स्थानीय निकायको निर्वाचन मिति घोषणा गरेको विरोधमा मोर्चाका कार्यकर्ताहरुले मशाल जुलुस प्रदर्शन गरेका हुन्। स्थानीय महादेव मन्दिरको प्राङ्गणबाट मशालसहित निक्लिएका प्रदर्शनकारीहरुले सरकारविरुद्ध चर्को नाराबाजी गर्दै नगर परिक्रमा गरेका थिए।
नगरपरिक्रमा पछि सोही स्थानमा पुगेर विरोध सभामा परिणत भएको र मोर्चाले सांकेतिक विरोधस्वरुप मसाल जुलुस प्रदर्शन गरेको मोर्चाका सप्तरी संयोजक अमरनाथ मण्डलले बताए। उनले परिमार्जनसहित संविधान संशोधन नभएसम्म मधेसमा आन्दोलन चर्काउने र कुनै पनि तहको निर्वाचन हुन चेतावनी दिए।
यस्तै मोर्चा निकट मधेशी विद्यार्थी मोर्चा सप्तरीले मधेशको माग सम्बोधन नभएसम्म फागुन १८ गते तोकिएको स्ववियु निर्वाचन समेत हुन नदिने चेतावनी दिएको छ।