हाफिजबाट खतराबढेपछि पाकिस्तानले गर्यो आतंककारी घोषणा
म्युनिख : पाकिस्तान सरकारले हाफिज सइ पाकिस्तानका लागि खतरनाक भएको भन्दै उनलाई आतंककारी घोषणा गरेको छ । पाकिस्तानी रक्षामन्त्री ख्वाजा मुहम्मद आसिफले हाफिज सइदबाट खतरा महसुस गरेर उनलाई नजरबन्द गरिएको स्पष्ट पारेका छन् ।
जर्मनीको म्युनिखमा आयोजित अन्तर्राष्ट्रिय सुरक्षा सम्मेलनका क्रममा उनले भने, ‘सइद पाकिस्तानका लागि निकै खतरनाक सावित हुने भएकाले उनलाई नजरबन्दमा राखेका छौं ।’
आसिफले सुरक्षा सम्मेलनमा पाकिस्तानी राष्ट्रिय हितलाई ध्यानमा राखेर सइदलाई गिरफ्तार गर्नुपरेको स्पष्ट पारे । कट्टरपन्थी र आतंकवादसँग लड्न पाकिस्तानले यस्तो कदम चालेको उनले दाबी गरेका छन् । उनले भने, ‘आतंकवादसँग कुनै धर्म जोडिएको हुँदैन । आतंकवादी भनेका आतंकवादी हुन् । उनीहरू इसाइ, मुस्लिम, बौद्ध वा हिन्दु कोही पनि हैनन् । उनीहरू केवल अपराधी हुन् ।’
सइदलाई लाहोर सहरबाट जनवरी २० तारिखमा आतंकवाद विरोधी कानुनअन्तर्गत नजरबन्द राखिएको छ । उनको समर्थनमा पाकिस्तानमा विशाल र्याली निस्किएका थिए । उनलाई पाकिस्तान छोड्न पनि प्रतिबन्ध लगाइएको छ । सइदको विषयलाई लिएर भारत र पाकिस्तानबीच कटुता उत्पन्न हुँदै आएको छ ।
उनलाई भारतको मुम्बईमा भएको आतंकवादी आक्रमणको मुख्य योजनाकार भएको भारतीय भनाइ छ । उक्त आक्रमणमा १ सय ६६ जना मारिएका थिए । संयुक्त राज्य अमेरिकाले पनि सइदलाई पक्राउ गर्नेलाई १ करोड अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको छ । सन् २००८ को नोभेम्बरमा सइदलाई नजरबन्दमा राखिएको थियो। त्यसको केही समयपछि पाकिस्तानी अदालतले उनलाई रिहा गर्न आदेश दिएको थियो ।
आसिफले पाकिस्तान आतंकवादसँगको लडाइँमा साथ रहेको पनि प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘म विश्व समुदायलाई पाकिस्तान आतंकवादविरुद्धको अग्र मोर्चामा रहेको आश्वस्त पार्न चाहन्छु । पाकिस्तानी जनता र अन्तर्राष्ट्रिय समुदायप्रतिको आफ्नो कर्तव्यप्रति सजग रहेको उनले स्पष्ट पारे । पश्चिमी देशले लिएको केही नीतिले भने आतंकवाद उन्मूलन हुन कठिन हुने उनले बताए ।
पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफले सइद आतंकवादी नभएको भन्दै सरकारी कारबाहीको निन्दा गरेका छन् । मुसर्रफले भने, ‘सइद आतंकवादी होइनन् । उनी विशुद्ध धार्मिक संगठन चलाउने व्यक्ति हुन् । उनले पाकिस्तानमा भूकम्प र बाढी गएका बेला ठूलो सहयोग गरेका छन् ।’ उनले सइद तालिवान र अलकायदाका विरुद्ध भएकाले उनलाई कारबाही गर्न नपर्ने बताए । सइदका अनुयायी स्वेच्छाले भारतीय सेनासँग लड्न कश्मीर जाने भएकाले उनी राष्ट्रका लागि खतरनाक नभएको उनले जिकिर गरे ।
हाल अफगानिस्तानी गुप्तचर संस्था भारतीय कठपुतली भएको उनले आरोप लगाए । अफगान गुप्तचर निकायले पाकिस्तानमा सक्रिय आतंकवादी संगठनलाई सहयोग गर्ने गरेको दाबी गरे ।
सइदका हतियार लाइसेन्स खारेज
पाकिस्तान सरकारले हाफिज सइदमाथि कडा प्रतिबन्ध लगाएको छ । सइदले लिएको हतियारको लाइसेन्स खारेज गरिएको छ । उनी र उनका सहयोगीका नाममा ४४ वटा हतियार लिएर हिँड्न पाउने लाइसेन्स थियो ।
पाकिस्तानी सुरक्षामा प्रतिकूल भएको बताउँदै यस्तो प्रतिबन्ध लगाइएको सरकारले जानकारी दिएको छ । पञ्जाब प्रान्तको गृह मन्त्रालयले सइदको संगठन जमात–उद–दावा र फलाह–ए–इन्सानियतमाथि गरिएको कारबाहीअन्तर्गत भएको बताएको छ । पञ्जाबको प्रान्तीय सरकारले ‘पाकिस्तानको शान्ति सुरक्षामा खतरा भएकाले सइदको हतियार लाइसेन्स खारेज गर्नुपरेको’ उल्लेख गरेको छ ।