मानवरहित रूसी यान प्रक्षेपण

मानवरहित रूसी यान प्रक्षेपण

मस्को: अन्तरिक्षमा अवस्थित अन्तर्राष्ट्रिय भू–उपग्रह केन्द्र (इन्टरनेसनल स्पेस स्टेसन)मा रूसले मानवरहित अन्तरिक्ष यान (स्पेसक्राफ्ट) प्रक्षेपण गरेको छ।

लामो अवधिका लागि रूसले भाडामा लिएको काजकिस्तानको बाइकोनुर अन्तरिक्ष यान प्रक्षेपण परिसरबाट बुधबार बिहान सोयुज–यु बुस्टर रकेटमा जडान गरी प्रोग्रेस एमएस–०५ नामक उक्त स्पेसक्राफ्ट सफलतापूर्वक प्रक्षेपण गरिएको थियो । उक्त स्पेसक्राफ्ट मानवरहित कार्गोसिप भएको तथा त्यसमा इन्टरनेसनल स्पेस स्टेसनमा बस्ने वैज्ञानिकहरूलाई आवश्यक पर्ने उपकरण, सरसामान, खाद्य पदार्थ लगायतका सामग्री रहेको जनाइएको छ ।

गत वर्षको १ डिसेम्बरका दिन यसैगरी रूसले प्रोग्रेस सिप प्रक्षेपण गरेकोमा भुइँ छाडेको सात मिनेटमै उक्त यान आकाशमा विस्फोट भई मंगोलियाको सीमाक्षेत्र नजिकै साइबेरियाको दक्षिण क्षेत्रमा अवस्थित मानव बस्तीमा झरेको थियो । दुर्घटनाग्रस्त यानले ठूलो परिणाममा रासायनिक फोहरमैला उत्सर्जन गरे पनि धन्न, उक्त क्षेत्रमा मान्छेको बस्ती अलि पातलो भएकाले धनजनको खासै क्षति भएन । यानको इन्जिनमा खराबी आई आकाशमै विस्फोट भएको पत्ता लागेको थियो ।

यस्तै तथ्यलाई ध्यानमा राखी सो प्रोग्रेस एमएस–०५ प्रक्षेपण गर्नुपूर्व उक्त योजनाका प्राविधिक इन्जिनियर तथा वैज्ञानिकको टोलीले यानको इन्जिनलगायत अन्य पार्टपुर्जाको विस्तृत चेक, जाँचसहित निर्माण केन्द्रको पनि कडा अनुगमन गरेका थिए । प्रक्षेपण गरिएको केही घण्टापछि निर्धारित समय र तालिकामा कुनै तलमाथि नभई सोयुज–यु बुस्टर रकेटबाट उक्त प्रोग्रेस एमएस–०५ कार्गो सिप छुट्टिएर निक्लिई पृथ्वीको कक्षमा प्रवेश गरेको र केही बेरमै इन्टरनेसनल स्पेस स्टेसनको बाह्य घेरा (आउटपोस्ट) तर्फ जाने मार्गमा अघि बढिरहेको छ । उक्त सिप आगामी शुक्रबार स्पेस स्टेसनमा अवतरण गर्ने लक्ष्य राखिएको छ ।

त्यसैगरी संयुक्त राज्य अमेरिकाको टेक्सास राज्यको हाउस्टनबाट स्पेस–एक्स नामक वैज्ञानिक संस्थाद्वारा गतः आइतबार प्रक्षेपण गरिएको ड्रयागन नामक कार्गाे सप्लाई सिप पनि यस साताभित्रै इन्टरनेसनल स्पेस स्टेसनमा पुगिसक्ने हाउस्टनमा अवस्थित मिसन कन्ट्रोल सेन्टरले अनुमान गरेको छ । केही वर्षदेखि संयुक्त राज्य अमेरिका तथा रूसले संयुक्त लगानीमा अन्तरिक्ष अन्वेषण योजना सञ्चालन गर्दैै आइरहेका छन् ।

यसै योजनाअन्तर्गतको अन्तरिक्षमा अवस्थित इन्टरनेसनल स्पेस स्टेसनमा हाल अमेरिकी अन्तरिक्ष संस्था नासा आबद्ध अन्तरिक्ष वैज्ञानिकद्वय सेन किम्ब्रो र पेग्गी ह्विट्सन, रूसी अन्तरिक्ष वैज्ञानिकहरू आन्द्रेइ बोरिसेन्को, सर्गेइ रिजिकोभ र ओलेग नोभित्स्कि तथा फ्रान्सेली अन्तरिक्ष वैज्ञानिक थोमस पेस्क्यु कार्यरत छन् । -रासस/एपी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.