रहस्यमय तरिकाले रोकियो उसुको साधारणसभा, राखेपले पत्र लुकाएको आरोप
काठमाडौं: विगत लामो समयदेखि तदर्थवादमा चलिरहेको नेपाल उसु संघको चुनावी साधारणसभा अनिश्चित बनेको छ । गत फागुन ७ हुने भनिएको पूर्वनिर्धारित साधारणसभा राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अन्तिम समयमा आएर स्वीकृति नदिएपछि स्थगित भएको हो । संघले चुनावी साधारणसभाको स्वीकृतिका लागि गत पुस २७ गते राखेपसँग पत्राचार गरेको थियो ।
राखेपले लामो समयपछि फागुन ७ गते साधारणसभा गर्न मौखिक स्वीकृति दिएको थियो । राखेपको स्वीकृतिपछि संघले ३६ जिल्लाका प्रतिनिधिलाई साधारणसभाका लागि काठमाडौं बोलाएको थियो । साधारणसभामा ३६ जिल्लाका प्रतिनिधि र २२ जना कार्यसमिति सदस्य गरी ५८ जना सहभागी थिए । साधारणसभा हुन नसकेपछि उनीहरू तीन दिन काठमाडौं बसेर जिल्ला फर्किएका थिए ।
आफूहरू साधारणसभामा जुटिरहँदा राखेपले संघद्वारा दर्ता गरिएको पत्र लुकाउने काम गरेको आरोप उसु संघका कार्यवाहक अध्यक्ष वीरबहादुर तामाङले लगाए । राखेपका सदस्यसचिव केशवकुमार विष्टले फागुन ६ गते आठौं एसियन विन्टर गेममा सहभागी हुन जापान प्रस्थान गर्नुअघि नै साधारणसभाका लागि लिखित रूपमा स्वीकृति दिने आश्वासन दिए पनि शुक्रबार मध्यान्हदेखि उनी सम्पर्कविहीन बनेका आरोपसमेत तामाङले लगाए ।
राखेपले अन्तिम समयमा स्वीकृति नदिँदा चुनावी साधारणसभा प्रभावित भएको उनले बताए । ‘फागुन ७ गते साधारणसभा गर्न राखेपले मौखिक स्वीकृति दिएको थियो, त्यही स्वीकृतिका आधारमा हामीले साधारणसभाको सबै तयारी गरेका थियौं तर, हामीले राखेपमा दर्ता गराएको पत्र नै हराएको भन्दै लिखित स्वीकृति नदिएपछि साधारणसभा स्थगित भयो’, तामाङले भने । साधारणसभामा तामाङ अध्यक्षका प्रत्यासी रहेका थिए ।
उसु संघको पछिल्लो चुनावी साधारणसभा २०६८ साल चैतमा भएको थियो । उक्त साधारणसभाबाट निर्वाचित दीपक सरकारको नेतृत्वको कार्यकाल २०७२ साल चैतमा सकिएको थियो । कार्यकाल सकिएको लामो समयपछि सदस्यसचिव विष्टले पुरानो कमिटीलाई भंग गर्दै नयाँ कमिटी पुनर्गठन गरेका थिए ।
विष्टले आङडेन्डी शेर्पा अध्यक्ष र प्रनिलध्वज कार्की महासचिव रहेको कमिटी पुनर्गठन गर्दै तीन महिनाभित्र साधारणसभा गर्न निर्देशन दिएका थिए । अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) को दबाबका कारण अन्तिम समयमा आएर राखेपले साधारणसभाको अनुमति नदिएको आरोप संघका एक सदस्यले लगाए ।