मन्दिरको भेटी प्रशासनको नियन्त्रणमा
परासी: हिन्दु र मुस्लिम समुदायको आस्थाको धार्मिक स्थल मदारबाबामा भक्तजनले चढाएको भेटी रकम प्रशासनले नियन्त्रणमा लिएको छ । आर्थिक दुरुपयोगको आशंकाले भेटी स्वरूप दैनिक उठ्ने रकम प्रशासनले नियन्त्रणमा लिएर बैंक दाखिला गर्ने गरेको हो ।
रकम दुरुपयोग हुन नदिन प्रशासकीय अधिकृत ज्योतिराज अर्याल र लेखापाल दिलीप यादवको संयुक्त खाता सञ्चालन गरिएको छ । उक्त खाताबाट मेलाका लागि चाहिने आवश्यक रकम मेला व्यवस्थापन समितिलाई दिँदै आएको प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले बताए । ‘मेलामा चढाइएको भेटी रकम निरानी गर्न एकजना समितिका पदाधिकारी र दुईजना सुरक्षाकर्मी खटाइएको छ । उनीहरूले उठेको रकम दैनिक साँझ हिसाब गरेर भोलिपल्ट बैंक दाखिला गर्ने गरेका छन्’, प्रजिअ रानाले भने ।
मेलामा उठेको रकम हिनामिना भएको भन्दै विगतका वर्षहरूमा उजुरी पर्ने गरेकाले यस वर्षदेखि प्रशासनको रोहबरमा बैंकमा जम्मा गर्न लगाइएको रानाले बताए । उठेको रकम गोपीगन्जस्थित इनोभेटिभ डेभलपमेन्ट बैंकमा जम्मा गरिएको छ । मेलाको रकमबारे विवाद बढेपछि दुई वर्षअघि मेला सञ्चालन गर्न दुईवटा समिति गठन गरिएको थियो । आफूहरू आधिकारिक भन्दै दाबी गरेपछि दुई समितिका व्यक्तिहरूलाई राखेर प्रशासनले यस वर्ष एउटा समिति बनाई मेला सञ्चालन गर्न अनुमति दिएको छ ।
समितिको विवाद भएपछि प्रशासनले खाता रोक्का गरेको थियो । पहिला भेटी रकमबाट हरेक दिनको खर्च दिने गरिएको थियो । अहिले भने खर्च भएको बिल पेस गरेपछि मात्र रकम निकासा गर्ने व्यवस्था गरिएको प्रजिअ रानाले बताए । यसले रकम हिनामिना हुन नपाउने प्रशासनको भनाइ छ । विवाद हुँदा खातामा २९ लाख रुपैयाँ रहेको थियो । व्यवस्थापनका लागि रकम आवश्यक भएकाले अहिले नौ लाख ७५ हजार रुपैयाँ दिइएको प्रशासनले जनाएको छ ।
नवलपरासीको रूपौलिया र कुडियाको संगमस्थान मदारीडाँडामा हरेक वर्ष ९ दिनसम्म मेला लाग्ने गरेको छ । मेला शिवरात्रीको दिन समापन हुने गर्छ । यस वर्ष फागुन ५ देखि मेला सञ्चालनमा छ । मेलामा हरेक दिन डेढ लाखदेखि दुई लाखको हाराहारीमा भेटी रकम संकलन हुने गरेको मेला व्यवस्थापन समितिका अध्यक्ष जमालुद्दीन अन्सारीले बताए । उनले हरेक वर्ष मेलामा २० देखि ३० लाख रुपैयाँ भेटी रकम संकलन हुने बताए ।
यस वर्ष सात लाखभन्दा बढी भक्तजन आउने अनुमान गरिएको अन्सारीले बताए । मेला व्यवस्थापनका लागि एक सय ५० भन्दा बढी सुरक्षाकर्मी खटाइएको जिल्ला प्रशासनले जनाएको छ जसमा सशस्त्र प्रहरीका ४० र नेपाल प्रहरीका एक सयजना छन् । त्यसैगरी १७ जना ट्राफिक प्रहरी छन् भने एक सयभन्दा बढी स्वयंसेवक खटाइएको छ । मेलामा नेपाललगायत भारतका विभिन्न स्थानबाट हिन्दु र मुस्लिम समुदायका भक्तजन आउने गरेका छन् ।
मदरबाबाले लामो समय तपस्या गरेको उक्त स्थानमा पुग्न रूपौलियाको महलबारीबाट तीन घन्टाको उकालो पैदल हिँड्नुपर्छ । मदारबाबा मुस्लिम समुदायका भए पनि उनलाई भारत र नेपालका हिन्दुले वर्षाैंदेखि पूजा गर्दै आएका छन् । मेलामा भक्तजनले भाकल गर्छन् र भाकल चढाउँछन् ।