‘उपचार गर्न आएको हुँ’
काठमाडौंः डेढ केजी सुनका गहना लगाएर दुबईबाट आउँदा गत आइतबार विमानस्थलमा पक्राउ परेका भारतीय नागरिक कश्यप कान्तिलालले आफू खुट्टाको उपचार गर्न नेपाल आएको र निर्दोष रहेको दाबी गरेका छन् ।
भन्सार विभागले सोमबारबाट उनीसँग बयान लिइरहेको छ । ‘हामीले विभिन्न कोणबाट प्रश्न गरिरहेका छौं तर उसको एउटै दाबी छ– म निर्दोष छु’, त्रिभुवन विमानस्थल भन्सार विभागका प्रमुख नारायण सापकोटाले भने । भन्सार कर्मचारीले गत आइतबार कान्तिलाललाई विमानस्थल आगमनतर्फको ‘वाक थ्रु’ बाट पक्राउ गरेका थिए । उनले आधा आधाआधा केजीका दुईवटा सिक्री र आधा केजीको एउटा बाला लगाएका थिए ।
कान्तिलाल पक्राउ परेको सूचना पाएपछि दुबईमा रहेका उनका दाजु–भाउजू सोमबार नेपाल आएका छन् । उनकी भाउजू पोखराकी हुन् । बयानक्रममा कान्तिलालको दोभाषेको काम उनैले गरिरहेकी छन् । बयानका क्रममा कान्तिलालले आफू उपचार गर्न नेपाल आएको र एक डेढ केजी सुनको गहना लगाएर दुबईमा हिँड्नु सामान्य भएको बताएका छन् । ‘दुबईमा म निस्फिक्री यी गहना लगाएर हिँड्थें । मलाई लाग्यो– नेपालमा पनि यो सामान्य हो’, बयानक्रममा ३५ वर्षीय कान्तिलालले भनेका छन्, ‘यहाँस्थित कोरियन अस्पतालमा खुट्टाको उपचार गर्न नेपाल आएको हुँ ।’
भन्सार कार्यालय स्रोतका अनुसार कान्तिलालको खुट्टामा ठूलो घाउ पनि छ । उनको घुँडादेखि तलसम्म घाउ रहेको भन्सार कार्यालयका अधिकारीले बताए । ‘तर यत्तिमै उनी निर्दोष हुन् भन्न सकिन्न । यसअघि पनि उक्त अस्पतालमा उपचार गर्न आएको बताएकाले हामी जाँच गर्दैछौं’, सापकोटाले भने । कान्तिलाललाई कोरियन अस्पतालको ‘लोकेसन’ बारे सोधिए पनि आफूलाई त्यसको नाम थाहा नभएको तर त्यहाँ पुग्नसक्ने बताएका छन् ।
कान्तिलालका दाजुभाउजुले दुबईमा सुनपसल रहेको जानकारी दिएका छन् । नेपालीले विदेशबाट आउँदा अधिकतम ५० ग्रामबराबर सुनका गहना लगाएर आउन पाउने प्रावधान छ । विदेशीको हकमा यो स्पष्ट छैन । कान्तिलालबाट बरामद भएको सुनको मूल्य नेपाली बजारमा ७१ लाख ६३ हजार छ ।
उनी दोषी ठहर भए विगो, विगोबराबरको जरिवाना र तीन महिनादेखि एक वर्षसम्म कैद सजाय पाउने छन् । ‘हामी सक्दो प्रयास गर्ने छौं । बयान केही दिन स्थगित गरेर पुनः सुचारु गर्ने तयारी पनि छ । यसरी गर्दा धेरै अपराधीले गल्ती स्विकारेको इतिहास पनि छ । तर अहिले नै भन्न सकिने अवस्था छैन’, विमानस्थल भन्सार प्रमुख सापकोटाले भने ।