नाडा अटोमोबाइल्सद्वारा मौद्रिक नीतिमा पुनर्विचार गर्न आग्रह
काठमाडौं: नाडा अटोमोबाइल्स एसोसिएसन नेपालले राष्ट्र बैंकलाई मौद्रिक नीतिमा पुनर्विचार गर्न आग्रह गरेको छ ।
सवारीसाधनको क्षेत्रलाई खुम्च्याउने गरी निजी प्रयोजनका सवारीसाधनमा ऋण प्रवाह गर्दा सवारी मूल्यांकनको अधिकतम ५० प्रतिशतसम्म मात्र बैंकले लगानी गर्न सक्ने नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा उल्लेख भएको सम्बन्धमा एसोसिएसनले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
देशको विकास गरी संमृद्ध बनाउन सवारीसाधन अपरिहार्य रहेकाले देशभर सडक सञ्जाल पुर्याउन र प्रत्येक नागरिकलाई आवागमनमा सहज बनाउन आफ्नै सवारीसाधन होस् भन्ने नीति आउनु पर्नेमा त्यसको विपरीत कर्जा प्रवाहमार्फत अंकुश लाग्ने गरी नीति ल्याएको भन्दै संघले ध्यानाकर्षण गराएको हो ।
संघले यो आफैंमा विरोधाभाषपूर्ण देखिने भन्दै मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाअन्तर्गत ५० प्रतिशतसम्म मात्र हुने व्यवस्थालाई पुनर्विचार गर्न सरोकारवालाई आग्रह गरेको छ । सोको सीमा निर्धारण गर्ने अधिकार ग्राहकको उचित पहिचान गरी सम्बन्धित बैंक तथा वित्तीय संस्था नै हुने बताइएको छ ।