ग्रामीण क्षेत्रमा साइन रेसुंगा
बुटवल: साइन रेसुंगा डेभलपमेन्ट बैंकले आफ्नो केन्द्रीय कार्यालय बुटवलमा राख्ने योजना बनाएको छ । राष्ट्रिय स्तरको विकास बैंक बनाउने योजनासहित अगाडि बढेको साइन रेसुंगाको कार्यक्षेत्र अहिले १० जिल्लामा छ ।
एक अर्ब १० करोड चुक्ता पँजी रहेको बैंकले राष्ट्रिय स्तरको विकास बैंक बन्ने दीर्घकालीन योजना सार्वजनिक गरेको हो । राष्ट्र बैंकले निर्धारण गरेको न्यूनतम पुँजी पुर्याउन बोनस सेयर जारी गर्ने बैंकले जनाएको छ । नवौं वार्षिकोत्सवका अवसरमा बुधबार बुटवलमा सेयरधनीसँगको भेटघाट कार्यक्रममा बैंकका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले सर्वसाधारणसँगको अपनत्वलाई जोगाइराख्न बुटवलमै केन्द्र बनाएर सेवा विस्तार गर्ने बताए । गुल्मीको रेसुंगा, प्युठानको गौमुखी विकास बैंकसँग मर्जर भएको बैंकले आठ वर्षअघि बुटवलबाट कारोबार सुरु गरेको थियो ।
१० जिल्ला कार्यक्षेत्र रहेको बैंकको नौ जिल्लामा २९ शाखा सञ्चालनमा छन् । बैंकका कार्यकारी अधिकृत प्रकाश पौडेलले ग्रामीण क्षेत्रमा शाखा कार्यालय खोल्दै बैंकिङ सेवाको पहुँच नपुगेका ठाउँमा सेवा विस्तार गर्ने बताए । उनले अहिले एक लाख ३० हजार ग्राहक साइनसँग जोडिएको बताए ।बैंकको निक्षेप नौ अर्ब २० करोड, कर्जा लगानी आठ अर्ब १७ करोड रहेको छ । अन्य बैंकसँग लगानीयोग्य रकम अभाव भए पनि साइनले उत्पादनमूलक क्षेत्रमा जति पनि लगानी गर्न सक्ने पौडेलले बताए ।
बैंकको निष्कृय कर्जा शुन्य दशमलव ३५ प्रतिशत छ । बैंकले उत्पादनशील क्षेत्रमा १७ प्रतिशत, औद्योगिक क्षेत्रमा ८ दशमलव ८० प्रतिशत, यातायात तथा सञ्चारमा ८ दशमलव २६ प्रतिशत, निर्माणमा १९ दशमलव ७९ प्रतिशत, व्यापारमा २३ दशमलव ८१ प्रतिशत, जग्गामा ८ दशमलव ८५ प्रतिशत लगानी गरेको छ । बैंकले कालिकानगरमा पाँच तले सुविधासम्पन्न कार्यालय निर्माण गर्ने योजना बनाएको छ ।