इँटा उद्योगमै पढ्छन् बालबालिका
मलंगवा: इँटा उद्योगलाई बाल श्रममुक्त र उद्योगमा काम गर्ने मजदुरका बालबालिकालाई शिक्षा प्रदान गर्न सर्लाहीका तीन इँटा उद्योगमा बालमैत्री अनौपचारिक कक्षा सञ्चालन गरिएको छ।
शिक्षा पाउने उमेरमा इँटा उद्योगमा काम गर्ने र मजदुर काममा आएपछि उनीहरूका बालबालिका पढाइबाट बञ्चित हुने भएपछि उद्योगमै पढाउन कक्षा सञ्चालन गरिएको हो। विश्व शिक्षाको सहयोग र बाल संरक्षण संस्था लालबन्दीको पहलमा सासापुर, लक्ष्मीपुर र ईश्वपुरका उद्योगमा बालबालिकालाई पढाउन सुरु गरिएको छ।
३ देखि ५ वर्षसम्मका ८० बालबालिका उद्योगमा पढिरहेका छन्। ५ देखि १४ वर्षसम्मका सय बालबालिकालाई ६ महिनाको अनौपचारिक शिक्षा प्रदान गरी नजिकको विद्यालयमा भर्ना गरिएको छ। कक्षा सञ्चालन गर्न ३ शिक्षिकासमेत राखिएको छ।
उद्योगमा अनौपचारिक शिक्षा प्राप्त गरेपछि उनीहरूलाई नजिकैको विद्यालयमा भर्ना गर्ने गरेको बाल संरक्षण संस्थाकी अध्यक्ष राधा घिमिरेले बताइन्। ६ महिने अनौपचारिक शिक्षण सिकाइ क्रियाकलापपछि बालबालिकालाई विद्यालय भर्ना गर्ने गरिएको घिमिरेले जानकारी दिइन्।
आमाबाबुको रोहवरमै बालबालिकालाई १० देखि ४ बजेसम्म पढाउन थालिएको छ। शनिबार र बिदाको दिन कक्षा सञ्चालन हँदैन। कक्षा सञ्चालन हुने गरेका उद्योगमा बालबालिकालाई श्रममा लगाइएको छैन। आमाबुबासँगै खाना र खाजा लिएर बालबालिका पढ्न आउँछन्।
४ बजेपछि अभिभावकसँगै घर फर्किन्छन्। ‘आमाबुबा काममा आएपछि बालबालिका विद्यालय जाँदैनथे', घिमिरेले भनिन्, ‘उद्योगमै कक्षा सञ्चालन हुन थालेपछि मजदुरका बालबालिकाले पढ्न पाएका हुन्।'
आफूले काम गरेको हिसाब-किताब आफ्नै सन्तानले गर्न थालेपछि खुसीको सीमा नरहेको लक्ष्मीपुर-३ सुरेश दासले बताए। उनले भने, आफूहरूले पढ्न नपाए पनि सन्तानले पढ्न पाएकोमा खुसी छौं।'
उद्योगमा काम गर्ने मजदुर विपन्न र दलित परिवारका बढी रहेका छन्। पढ्न आउने बालबालिकालाई शैक्षिक सामग्री र दिउँसोको खाजा निःशुल्क प्रदान गरिएको कार्यक्रम संयोजक निकेश त्रिपाठीले बताए।