जातीय पहिचानका कुरा गर्ने विखण्डकारी हुन् : शेर्पा
भोजपुर (जरायोटार) : पूर्वपर्यटन मन्त्री कृर्पाशुर शेर्पाले अमुक जातजाती, भाषा, धर्म र लिङ्गको आधारमा राजनीति गर्नेहरु विखण्डनकारी भएको बताएका छन्।
शेर्पाले जातीय पहिचानले सामाजिक सद्भाव र राष्ट्रिय अखण्डता खल्बलिने भन्दै त्यस्ता विषय छाडेर सबै शक्ति विकाश निर्माणमा जुटनु पर्ने बताए। भोजपुरको जरायोटारस्थित महेन्द्रोदय माध्यमिक विद्यालयको ६० औं वार्षिकोत्सव उद्घाटन गर्दै शेर्पाले भने, ‘म जातीय पहिचानको विरोधी हुँ। मैले जातको कुरा गरेको भए भोजपुरे जनताले शेर्पाको छोरालाई जिताउने थिएनन्। ’
उनले विकाशमा राजनीतिक स्वार्थ लादन नहुने बताए। शेर्पाले राजनीति र विकाश फरक विषय भएकाले दुवैलाई फरक–फरक ढंगले लिनु पर्नेमा जोड दिए। नेपालमा विकाका कुरालाई राजनीतिसँग जोडेकाले मुलुकमा सोचे जति विकाश हुन नसकेको उनको भनाइ।
शेर्पा भोजपुर क्षेत्र नम्बर १ का सभासद हुन्। उनले गाँउ विकाशका लागि स्थानीय जनसमुदाय नै सक्रिय हुनु पर्ने बताए। शेर्पाले महेन्द्रोदय माध्यमिक विद्यालयमा एक लाख रुपयाँको छात्रवृत्ति कोष स्थापना गरेका छन्। शेर्पाले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चुडामणि दाहाल र प्रधानाध्यापक सुरेन्द्र प्रसाद साहलाई एक लाख नगद दिएका थिए।
शेर्पाले शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आएका छन्। शेर्पाले भोजपुरका झण्डै सात दर्जन विद्यालयमा छात्रवृत्तिकोष स्थापना गरिसकेका छन्। शेर्पाले आगामी आर्थिक वर्षको संसद विकाश कोषबाट महेन्द्रोदय विद्यालयको स्तरोन्तीका लागि १० लाख रुपैयाँ दिने बताए।
शेर्पाले जरायोटारमा भएको खानेपानीको समस्या समधान गर्न पहल गर्ने समेत बताएका छन्। पहिलो पटक भोजपुर पुगेका काठमाडौ क्षेत्र नम्बर ७ का सभासद् रामवीर मानन्धरले जरायोटारवासीको खानेपानीको समस्या समधान गर्न आफूले समेत पहल गर्ने बताए। एमाले केन्द्रीय सदस्य सूर्य थापाले भौगोलिक हिसाबले राजधानीबाट टाढा भए पनि भोजपुरका बासिन्दाहरु मुलुकको नीति निर्माणको तहमा पुगेको बताए। उनले शेर्पाले भोजपुरको शिक्षा र स्वास्थ्य क्षेत्रमा गरेको योगदान सहरानीय भएको बताए।