किन लाग्‍दैन पढाइमा मन ?

 किन लाग्‍दैन पढाइमा मन ?

मानिस मन र शरीरको संयुक्त रूप हो। त्यसैले मानिसका रोगहरू शारीरिक पनि हुन सक्छन्, मानसिक पनि हुन सक्छन्। तर अधिकांश रोगहरू मनोवैज्ञानिक कारणले पैदा हुन्छन्। यस्ता कतिपय रोगहरू बुढेसकालमा देखा पर्छन् भने कुनै रोगहरू युवाकालमा देखा पर्छन्।

बाल्यकालमा नै देखा पर्ने रोगहरू पनि प्रशस्त हुन्छन्। कतिपय यस्ता रोगहरू मानिसले जन्मिँदै लिएर आएका हुन्छन्। यस्तै एक मानसिक रोग हो, लर्निङ डिसअर्डर, जुन रोग बालबालिकाले पढाइलेखाइ सुरु गर्दा पढाइलेखाइमा कठिनाइ उत्पन्न भई प्रकाशमा आउँछ।

तर बालबालिकाको यो मनोवैज्ञानिक समस्यालाई स्वास्थ्य र शिक्षाको कमीले गर्दा नेपालमा पूर्णतया नजर अन्दाज गरिँदै आइएको छ र केही अपवादलाई छोडेर यसको निदान र उपचार खोजिएको पाइँदैन। र, यस्ता विद्यार्थीलाई ‘कमजोर, बुद्धु तथा गोबरगणेश आदिको उपनामले सम्बोधन गरेको पाइन्छ। शिक्षक, सहपाठी, आमाबाबा तथा आफन्तहरूको यस्तो व्यवहारले गर्दा यस्ता बालबालिकामा अन्य मनोवैज्ञानिक समस्याहरू पनि थपिँदै जान्छन्।

के हो लर्निङ डिसअर्डर ?
डायगोनोस्टिक एन्ड स्ट्याटिस्टिक मेनुअल (डीएसएम-फोर-टीआर)का अनुसार बालबालिकाको पढ्ने, गणित हल गर्ने तथा लेख्ने क्षमता यदि सो उमेर समूहका बालबालिकाको भन्दा, उसको बुद्धिमत्ता तथा शैक्षिक स्तरता भन्दा कम भयो भने त्यसलाई लर्निङ डिसअर्डर (सिकाइ विकृति) भनिन्छ।

यो समस्याले बालबालिकाको शैक्षिक उपलब्धिका साथै लेख्ने, पढ्ने तथा गणितीय समस्या समाधानसँग सम्बन्धित दैनिक क्रियाकलापहरूमा समेत प्रत्यक्ष प्रभाव पार्दछ।

तर सेन्सरी डिफिसिट्स (जस्तै, कान तथा आँखा आदिको समस्या) बाट उत्पन्न भएको पढाइलेखाइ सम्बन्धित समस्यालाई लर्निङ डिसअर्डरअन्तर्गत राखिँदैन। यदि लर्निङ डिसअर्डर भएका बालबालिकामा अन्य समस्याहरू जस्तै सेन्सरी डिफिसिट्स छ भने समस्या झन् बढी गम्भीर भएको हुनुपर्छ।

लर्निङ डिसअर्डरलाई पहिला शैक्षिक दक्षता विकार (एकाडेमिक स्किल्स डिसअर्डर) भन्ने गरिन्थ्यो। यो रोग सिकाइ असक्षमता (लर्नि· डिस्एबेलिटिज) को एक प्रमुख प्रकार हो।

नेपालमा पाँचदेखि १० प्रतिशत स्कुले बालबालिका यस विकृतिबाट पीडित भएको अनुमान गर्न सकिन्छ। तसर्थ एक हजार विद्यार्थी भएको माध्यमिक विद्यालयमा कम्तीमा पनि ५० देखि १०० जना विद्यार्थी सिकाइ विकृतिबाट पीडित हुन सक्ने सम्भावना छ। एसएलसी परीक्षामा धेरै विद्यार्थी अनुत्तीर्ण हुनुमा यस विकृति पनि एक हो।

बुद्धिबल (नाम परिवर्तन) १८ वर्षका युवक हुन्। उनी सानैदेखि पढाइलेखाइमा निकै कमजोर थिए। पढाइलेखाइमा उनको पटक्कै रुचि थिएन। उनका अक्षर र लेखाइ पनि निकै नराम्रो र फोहोर थिए। बल्लतल्ल उनले आठ कक्षा उत्तीर्ण गरे। तर नौ कक्षा पढ्दापढ्दै उनले स्कुल छोडे। विगत चार वर्षदेखि उनी निठल्ल घरमा बस्छन्। टीभी हेरेर तथा संगीत सुनेर दिन काट्छन्। साथीसंगीहरूसँग खेल्न तथा घुम्न पनि हिँड्दैनन्।

साथीको सल्लाहमा उनका बाबाले उनलाई ओपन स्कुलको परीक्षा दिलाउन भर्ना पनि गरिदिए, तर उनले परीक्षा नै दिएनन्। छोराको व्यवहार देखेर आजित भएका उनका बाबाआमाले केही महिना अगाडि परामर्शका लागि मनोवैज्ञानिककहाँ लिएर गए। मनोवैज्ञानिक परीक्षणबाट उनी लर्निङ डिसअर्डरको समस्याबाट पीडित भएको र यसै कारणले उनले पढाइ छोडेको खुल्न आयो।

मानसिक मन्दता (मानसिक दुर्वलता) मा देखा पर्ने बौद्धिकताको कमीले बालबालबालिको सम्पूर्ण कग्निटिभ प्रक्रियालाई नै प्रभावित गर्छ, जवकि लर्नि· डिसअर्डरले कुनै विशिष्ट सीप वा सक्षमतामा कठिनाइ पैदा गर्छ। जस्तो कि कुनै बालक गणितको समस्या हल गर्न तथा संगीत सिक्ने कार्यमा निकै अब्बल देखिन्छ भने उसलाई किताब पढ्न निकै कठिनाइ पर्न सक्छ।

यसैगरी कुनै बालिकाले राम्रोसँग धाराप्रवाहमा पढ्न तथा लेख्न सक्छिन्, तर उनलाई गणितको प्रश्न हल गर्न निकै कठिनाइ पर्न सक्दछ। अतः बालबालिकाले कुनै एक क्षेत्रमा कम उपलब्धि हासिल गर्ने, तर अन्य क्षेत्रहरूमा भने औसत वा उल्लेखनीय उपलब्धि हासिल गर्ने खालका छन् भने यस्ता बालबालिकामा लर्नि· डिसअर्डरको सम्भावना रहन्छ।

लर्निङ डिसअर्डरको दुष्परिणाम

लर्निङ डिसअर्डरले बालबालिकाको पढाइलेखाइ चौपट बनाउनुको साथै निम्नलिखित दुष्परिणामहरू पैदा गर्न सक्दछ।

आत्मविश्वासमा कमी हुनु।

सामाजिक दक्षतामा कमी आउनु।

विद्यालय छोड्नु। यो समस्याबाट पीडित ४० प्रतिशत बालबालिकाले बुद्धिबलले झैं बीचमै पढाइ छोड्छन्।

रोजगार र सामाजिक जीवनमा कठिनाइ पर्नु। यो समस्याबाट पीडित भएका युवालाई रोजगारी र सामाजिक सहभागितामा ठूलो कठिनाइ देखा पर्छ।
दुश्चिन्ता र डिप्रेसनको समस्या पैदा हुनु।

नूर गिर्नु, आफुलाई बुद्धु ठान्नु।

लर्निङ डिसअर्डरको प्रकार
लर्निङ डिसअर्डर अनेक प्रकारका हुन सक्छन्। तर डीएसएम-फोर-टीआरले लर्निङ डिसअर्डरलाई निम्न चार वर्गमा वर्गीकरण गरेको छ। ती हुन्ः
पठन विकृति (रिडि· डिसअर्डर):

साधारण अर्थमा पठनपाठनसँग सम्बन्धित कठिनाइलाई पठन विकृति भनिन्छ। तर डीएसएम-फोर-टीआरले यसको आधिकारिक परिभाषा दिएको छ। डीएसएमका अनुसार पठन (शुद्ध र उपयुक्त गतिमा पढ्ने) क्षमता सोही उमेर समूहका बालबालिकाभन्दा निकै कम देखियो भने पठन विकृति भनिन्छ।

र, यस्तो समस्याले बालबालिकाको शैक्षिक उपलब्धि तथा पठनपाठनसँग सम्बन्धित दैनिक क्रियाकलापहरू प्रभाव पारेको हुनुपर्छ। रिडिङ डिसअर्डरको उदाहरण हो, डिस्लेक्सिया। यस समस्यासँगै म्याथमेटिक्स डिसअर्डर तथा राइटिंग डिसअर्डरसमेत देखा पर्न सक्दछ।

वास्तवमा यस समस्यासँगै गणितको समस्या वा लेखन समस्यामध्ये कुनै एक नदेखिनु दुर्लभ मानिन्छ। लर्निङ डिसअर्डरका पाँचजना रोगीमध्ये चारजना यस समस्याबाट पीडित हुन्छन्। डिस्लेक्टिक बालबालिका कस्ता हुन्छन् भन्ने जानकारीका लागि हिन्दी चलचित्र तारे जमिन पर हेर्न सकिन्छ।

गणित विकृति (म्याथमेटिक्स डिसअर्डर):
बालबालिकामा गणित हल गर्ने क्षमता सोही उमेर समूहका बालबालिका भन्दा कम छ भने त्यसलाई गणित विकृति (म्याथमेटिक्स डिसअर्डर) भनिन्छ। र, यस्तो समस्याले बालबालिकाको शैक्षिक उपलब्धि तथा हिसाबकिताबसँग सम्बन्धित दैनिक क्रियाकलापहरूसमेत प्रभाव पारेको हुन्छ। यो समस्या प्रायः पठन विकृति तथा लेखन विकृतिसँगै देखा पर्छ। यस समस्यालाई मेडिकल भाषामा ‘डिसक्यालकुलिया' भनिन्छ।

स्मृति सानैदेखि नै गणितमा निकै कमजोर थिइन्। शिक्षक तथा उनका आमाबाबाले बिस्तारै-बिस्तारै उमेर बढ्दै गएपछि उनले गणितमा सुधार ल्याउने अनुमान गरेका थिए। उनको गणित राम्रो गर्न घरमा नै ट्युसन राखेर पढाउँदै आएका थिए। तर कक्षा तीनको त्रैमासिक, अर्धवार्षिक तथा वार्षिक तीनै परीक्षामा स्मृति गणितमा निकै कम अंक ल्याएर अनुत्तीर्ण भइन्।

स्मृतिका गणित शिक्षकले उनका बाबालाई बोलाएर उनको मनोवैज्ञानिक परीक्षणको लागि सिफारिस गरे।मनोवैज्ञानिक सेवा केन्द्रमा स्कुल न्युरोसाइकोलोजिस्टद्वारा स्मृतिको लर्निङ डिसअर्डर परीक्षण भयो। तर स्मृतिको आईक्यू ११२ आयो।

यसले स्मृति एक श्रेष्ठ आईक्यूवाला विद्यार्थी भएको देखियो। तर उनको गणितको उपलब्धि परीक्षण अंक भने निकै कम देखियो। आईक्यू र गणितको उपलब्धि परीक्षण अंकबीचको यो ठलो फरकले गर्दा न्युरोसाइकोलोजिस्टले स्मृति डिसक्यालकुलिया, गणितसम्बन्धी सिकाइ विकृतिबाट ग्रस्त भएको निचोड निकाले।

लेखन विकृति (राइटिङ डिसअर्डर):
यस समस्यबाट ग्रस्त बालबालिकाले लेख्ने क्रममा शुद्धाशुद्धिमा प्रशस्त गल्ती गर्छन्। हिज्जे तथा क्रम आदि मिलाउँदैनन्। निकै भद्दा र नराम्रो लेख्छन्। यस समस्यालाई मेडिकल भाषामा ‘डिसग्राफिया' भनिन्छ।

अन्य सिकाइ विकृति (अदर लर्निङ डिसअर्डर):
यसअन्तर्गत उपर्युक्त तीन वर्गमा नपरेका सिकाइ विकृति पर्छन्। तर मेडिकल कारणले गर्दा पैदा भएको सिकाइ समस्यालाई यस वर्गमा समावेश गरिँदैन।

लर्निङ डिसअर्डरका कारणः
लर्निङ डिसअर्डरका विभिन्न कारणहरू हुन सक्छन्। तर यसको प्रमुख कारण जैविक हो। जैविक कारणले लर्निङ डिसअर्डर पैदा हुने भए पनि मनोवैज्ञानिक कारणहरूले यसलाई जटिल मानसिक रोग बनाइदिएको हुन्छ। एडीएचडीबाट पीडित ७० प्रतिशत बालबालिकामा पनि लर्निङ डिसअर्डर देखा पर्छ।

लर्निङ डिसअर्डरबाट पीडित अधिकांश बालबालिका दुश्चिन्ता तथा डिप्रेसनको अनुभव गर्छन् र, आफूलाई बुद्धु र अक्षम ठान्छन्। साधारणतया यो समस्या भएका बालबालिका र सामान्य बालबालिकामा कुनै फरक देखिँदैन, बालबालिकालाई हेरेर यो समस्या पहिचान गर्न सकिँदैन।

लर्निङ डिसअर्डरको उपचारः
लर्निङ डिसअर्डरको उपचार औषधिबाट हुँदैन। तर एडीएचडीसँगै लर्निङ डिसअर्डर पनि देखिएको छ भने यस्ता बालबालिकालाई दिने औषधि भनेको रिटालिन (मेथिल्फेनिडैट) हो। तर, यस्ता समस्याका लागि साइकोथेरापी तथा मनोवैज्ञानिक शिक्षा निकै उपयोगी हुन सक्छ।

जस्तो कि म्याथमेटिक्स डिसअर्डरबाट पीडित बालबालिकाका लागि फ्ल्यास कार्ड, वर्ड बुक्स तथा कम्प्युटर ग्याम्स आदि प्रभावकारी मानिन्छन्। यसैगरी यस्ता बालबालिकालाई केवल गणनामात्र नसिकाएर समस्या समाधानमूलक प्रश्नहरू हल गर्न लगाइन्छ।

रिडिङ डिसअर्डरको समस्या भएका बालबालिकालाई रिडिङ इनस्ट्रक्सन प्रोग्रामजस्तै ओर्टोन गिलिंगहम एन्ड डिस्टार टेक्निक, मेरिल प्रोग्राम तथा एसआरए रिडिङ प्रोग्राम आदि उपयोगी मानिन्छन्। यसका साथै बिहेभियर रापी, कग्निटिभथेरापी तथा कग्निटिभ बिहाभियरथेरापीजस्ता साइकोथेरापीकबाट यस्ता विकृतिबाट पीडित बालबालिकाको शैक्षिक स्तर सुधार्न सकिन्छ।

अन्त्यमा यदि बालबालिका पढाइलेखाइमा निकै कमजोर छन्। खासगरी पढ्ने, लेख्ने तथा गणित हल गर्ने सवालमा अन्य बालबालिका भन्दा निकै पछाडि परेका छन् भने यसको कारण लर्निङ डिसअर्डर पनि हुन सक्छ।

तसर्थ समयमा नै मनोवैज्ञानिक वा मनोचिकित्ससँग सम्पर्क गरेर यसको उचित निदान खोज्नु ठीक हुन्छ। खुसीको कुरा के भने बालबालिकामा देखिने यस्ता अधिकांश मनोवैज्ञानिक समस्याको समाधान गर्न सकिन्छ।

सुरुमा नै प्रभावकारी चिकित्सा उपलब्ध गराइएको खण्डमा यस्ता बालबालिकाले बुद्धिबलको जस्तो नियति बेर्होनु पर्दैन। इन्ट्रोलर्निङ डिसअर्डर, यस्तो रोग हो, जुन बालबालिकाले पढाइलेखाइ सुरु गर्दा पढाइलेखाइमा कठिनाइ उत्पन्न भई प्रकाशमा आउँछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.