बालबालिकामा किन लाग्छ नखाने बानी ?
बालबालिकाको खानपानको समस्याले धेरै अभिभावकलाई पिरोलेको हुन सक्छ। यो उमेरका बालबालिकाको शारीरिक विकास छिटो हुने गर्छ। त्यसैगरी बालबालिकामा चालको विकासको समय पनि यही भएकाले यो उमेरमा उनीहरूलाई पौष्टिक खाना र शक्तिको आवश्यकता पर्ने देखिन्छ।
अर्कोतर्फ आफ्ना छोराछोरीको नयाँ खानेकुराहरू नकार्ने (नियोफोबिया), अलग्गै बस्न रुचाउने र खाना नखाने व्यवहारले अभिभावक पनि आजित भइसकेको देखिन्छ।
यस्तै समस्याहरू लिएर बालरोग विशेषज्ञहरूकहाँ आउने अभिभावकको संख्या संसारभर सबैभन्दा उच्च रहेको छ। नयाँ तथ्यांकअनुसार बढ्दो उमेरका बालबालिकामध्ये २० देखि २५ प्रतिशत बालबालिकामा खाना नखाने समस्या रहेको देखाएको छ।
खानपानको समस्या भएका बालबालिका (कम खाने, गाह्रो मानेर खाने, खाना रोजेरमात्र खाने, खाना खाँदै नखाने,) मध्ये १६ देखि ३० प्रतिशतलाई कुनै रोग लागेर नखाएको पाइएको छ भने बाँकी अन्यलाई बानीजन्य समस्या भएका कारण खाना नखाने गरेको पाइएको छ।
बालबालिकाले खाना नखानुमा धेरै कुराहरूले भूमिका खेलेको हुन्छ। उनीहरूले खाने बेलामा दिएको संकेत आमाले बुझ्न नसक्दा पनि खाना खुवाउन समस्या हुन्छ। बच्चाहरूको समस्याप्रति आमाको प्रतिक्रिया तथा बच्चालाई खुवाउने बेलाको आमाको मुड (रिस वा राहत), बच्चाको उमेर र विकासअनुसारको खानालगायतका कुराहरूको सम्बन्ध रहेको हुन्छ।
आमाको मुडले गर्दा बालबालिकाले गाह्रो मानेर खाने वा खाँदै नखाने गरेको पाइन्छ। त्यसैगरी आमा धेरै रिसाउने र चिच्याउने गरेका कारणले पनि बालबालिकाले छिटो वा ढिलो खाना खानेसमेत गरेको पाइन्छ।
पछिल्लो अनुसन्धानले खानपिनको समस्या हुने बालबालिकामा आमाले उनीहरूसँग कम कुरा गरेको, उनीहरूको इसारा नबुझेको, बच्चाको भावनालाई कम बुझेको र बच्चासँग कम खेल्ने गरेको देखिएको छ।
खाना र खाने समयको नियम
खाना खाने तालिका बनाउनुपर्छ। जस्तै— हरेक चार घन्टामा एकपटक खुवाउनुपर्छ, चारघन्टा नपुगी बीचमा सानो वा ठूलो खाने वा पिउने कुरा दिनु हुँदैन। प्यास लागेमा खाना खानु दुई घन्टा अघिमात्र पानी पिउन दिनुपर्छ।खाना खाने समय सीमित गरेर तोकिएको हुनुपर्छ, जस्तै ३० मिनेट।
बच्चालाई एकदुईवटा सामान्य खेलौना दिएर शान्त स्थानमा खाना खुवाउनुपर्छ।
खाना खुवाउने व्यक्तिको मुड शान्त हुनुपर्छ।
बच्चालाई सजिलो ठाउँमा राखेर खुवाउनुपर्छ। आफैं खान सक्ने बच्चाहरूलाई उनीहरूकै लागि बनाइएको अग्लो कुर्सीमा राखेर खुवाउनुपर्छ।
बच्चालाई खाना खुवाउने व्यक्ति उसको आदर्श व्यक्ति हुनु उपयुक्त हुन्छ। बच्चाले धेरै मन पराउने र उसले भनेको मान्ने व्यक्तिले खुवाउनु राम्रो हुन्छ। खानाको नियमहरू (आफैं खान सक्ने बच्चाहरूका लागि)
अभिभावकले खाना नखुवाइ खाना खानको लागि सहयोग मात्र गर्नुपर्छ।
खानालाई पुरस्कारको रूपमा कहिल्यै पनि दिनु हुँदैन।
बच्चाहरूले खानालाई खेल बनाउन थालेमा १० देखि १५ मिनेटमा खाना खान दिन बन्द गर्नुपर्छ।
खाना खाने समय खेल्ने समय होइन। त्यसैले खेल खेल्न थालेमा खानामा ध्यान रहँदैन र खाना नखाने सम्भावना बढी हुन्छ।
बच्चाहरूले खाना खाने समयमा रिसाएर खाना फाल्न थालेमा तत्कालै खाना खाने कार्यक्रम बन्द गर्नुपर्छ। खाना खाने समयको नियम (आफैं खान सक्ने बच्चाहरूका लागि)
खाना खाने कुरासँग सम्बन्धित नियमहरू बनाएकै हुनुपर्छ। खाना खाने ठाउँबाट नउठ्ने, खाना नफाल्नेलगायतका नियमहरू बच्चाको उमेरको आधारमा निर्धारण गर्नुपर्ने हुन्छ। दुईतीनवटा नियमबाट सुरु गरेर बच्चाहरूको खाने समय र खाने बानी सिकुन्जेलसम्म बिस्तारै नियमहरू थप्दै लैजानुपर्छ।
बच्चाहरूले खाना खाने समयको नियमहरू सबै नसिकुन्जेलसम्म हामीले सधैं खाना खानुअघि नम्र भएर नियमहरू सम्झाउनुपर्छ।
खाना खाने समय रमाइलो हुनुपर्छ। बच्चाहरूसँग कुराकानी गर्नुपर्छ। बच्चाले राम्ररी खाना खाएमा पनि धेरै धन्यवाद दिएर फुक्र्याउनु हुँदैन र कम खाएमा कराउनु वा गाली गर्नु हुँदैन।
खाना खाने समयको नियमपालना नगरेमा फेरि नियम पालना गर्नु भन्ने र फेरि पनि (तेस्रो पटक) नियमपालना नगरेमा ती नियमहरूलाई केही समयको लागि स्थगित गरी फेरि सुरु गर्नुपर्छ।
बच्चालाई खुवाउँदा थोरै खानाबाट सुरु गर्नुपर्छ। बच्चालाई दिएको खाना खाएमा राम्रो कुराहरू भन्नुपर्छ र उसलाई राम्रो कुराका लागि खाना थप्न प्रेरित गर्नुपर्छ।
खाना खाने समय सकिएमा खाना नसकिएकै अवस्था भए पनि प्लेट उठाउनुपर्छ। खाना नसकिएको भए अभिभावकले बच्चाहरूलाई कराउने र गाली गर्ने गर्नु हुँदैन।
अर्को खानासम्म बच्चालाई मिठाई र चकलेटहरू खान दिनु हुँदैन।ड्ड बीचमा खान खोजेमा र खानाका लागि जिद्दी गरेमा नियमलाई केही समयका लागि बन्द गरेर फेरि हार नमानी सोही नियमलाई पुनस्र्थापित गरी निरन्तरता दिनुपर्छ। बच्चाहरूले नियम धेरै तोड्ने गरेमा नियम पालना गर्ने बानी सिक्नका लागि ढिलो हुन सक्छ।
माथिका नियमहरू बालबालिकाको हितको लागि हो। एक पटक सफल भएमा बालबालिकाको खाना खाने समस्या नै रहँदैन।
(बालरोग तथा नवजात शिशु विशेषज्ञ डा.साह ग्रान्डी अन्तराष्ट्रिय अस्पताल, धापासीका बालरोग विभागका निर्देशक हुन्।)