'९–१२ कक्षामात्र पनि चलाउन पाउनुपर्छ'
शिक्षा ऐन संशोधन भएसँगै त्यसअघि उच्च माध्यमिक तह भनेर परिभाषित गरिएको कक्षा ११ र १२ पनि विद्यालय तहमा गाभिएको छ । ऐन संशोधनपछि मुलुकको शिक्षाक्षेत्रलाई अहिले तीन तहमा वर्गीकरण गरिएको छ, कक्षा एकदेखि आठसम्मको आधारभूत तह, ९ देखि १२ सम्मको माध्यमिक र त्यसभन्दा माथिको शिक्षालाई विश्वविद्यालय शिक्षा । ११ र १२ लाई माध्यमिक तहमा गाभिए पनि हाल ११ र १२ मात्र चलाएका तर त्यसभन्दा तल्लो तहको पढाइ सञ्चालन नगरिएका विद्यालयलाई कसरी व्यवस्थापन गर्ने भन्नेमा विवाद छ । शिक्षा मन्त्रालय २०७५ सालसम्ममा जसरी पनि सबै विद्यालयले कक्षा एकदेखि १२ सम्मको पढाइ सञ्चालन गर्नुपर्ने पक्षमा छ, भर्खरै पुनर्गठन भएको उच्च शिक्षालय र माध्यमिक विद्यालय संघ (हिसान) यसको विपक्षमा छ । उच्चशिक्षाको समग्र पक्षबारे हिसानका पदाधिकारीसँग अन्नपूर्ण पोस्ट्ले आयोजना गरेको गोलमेच:
सञ्चारमाध्यमले राम्रा र नराम्रा सबै मुद्दा केलाउनुपर्यो
रमेश सिलवाल
अध्यक्ष, हिसान
अहिले शिक्षाको संरचना छ, कक्षा एक–आठ, ९–१२ र त्यसभन्दा माथिको विश्वविद्यालय शिक्षा । हामीले हिसानको नाम परिवर्तन गरे पनि संरचनाचाहिँ एउटै राखेका छौं । अब उच्च माध्यमिक शिक्षा नरहने भएपछि हामीले माध्यमिक र विश्वविद्यालय शिक्षालाई पनि समेट्ने गरी संस्था निर्माण गरेका हौं ।
अहिले यसको दायरा फराकिलो भएको छ । अब यहाँ विश्वविद्यालय, सीटीईभीटीसँग सम्बन्धन लिएका तथा स्कुल पनि मेम्बर बन्न सक्ने भएका छन् । सर्वसम्मत नयाँ नेतृत्व चयन गरेका छौं । नौ महिनाअघिको कार्यसमितिमा विभिन्न कारणले छुट्नुभएका साथीलाई पनि समेटेका छौं ।अब अर्को पाटोतर्फ जाऔं, अन्नपूर्ण पोस्ट्सँग हाम्रो सम्बन्धको विषयमा । अन्नपूर्ण पोस्ट्लाई हामीले धन्यवाद दिनैपर्छ, यसले हामीले उठाएका मुद्दा चाहे शिक्षा नियमावली होस् वा अन्य नीतिगत विषयलाई प्राथमिकताका साथ स्थान दिएको छ । हामीले तपाईंसँग अपेक्षा गरेको के हो भने मुलुकमा सबैभन्दा धेरैलाई चाहिने शिक्षा र स्वास्थ्य हो । तर सबैभन्दा थोरै ठाउँ पाउने पनि यही विषय भएको छ । यो पेजचाहिँ शिक्षालाई भनेर छुट्ट्याएको हामी पाउँदैनौं । हामी हाम्रो प्रशंसा मात्र गर्नुहोस् भन्दैनौं । तर धेरै राम्रा निजी तथा सरकारी शैक्षिक संस्थाका विषयमा समाचार आउनुपर्यो । यसले हामी सबैको रक्षा गर्नमा पनि मद्दत पुर्याउँछ ।
मुलुकभित्र राम्रा शैक्षिक संस्था छन् भन्ने समाचार आउन सके विदेश जानेहरू पनि रोकिन्थे । विदेश जाँदा ठगिएको विषयमा बढी स्थान पाउँछ । तर हामीले गरेका राम्रा असल कामबारे यिनीहरूले ठीक गरे भन्ने विषयमा पनि वकालत गरिदिनुहोस् । यसका लागि शिक्षाक्षेत्रलाई मात्र समेट्ने गरी न्यूनतम एक हप्तामा एक पेज छुट्ट्याइदिनुहोस् । यसो भएमा हामीलाई पनि अपनत्व महसुस हुन्छ । शिक्षालाई पनि यो पत्रिकाले ‘स्पेस’ दियो भन्ने महसुस हुन्छ । यो दिन अन्नपूर्ण पोस्ट्मा शिक्षासम्बन्धी राम्रा लेख आउँछन्, शिक्षाका विकृति–विसंगतिसम्बन्धी समाचार आउँछन् भन्ने अपेक्षा हुन्छ । यसले सबैलाई फाइदा पुर्याउँछ । अन्नपूर्ण अहिले अलि हाई साउन्डिङमा आउन लागेको पनि देखिन्छ । यससँग हाम्रो अपेक्षा पनि छ ।
जिरो प्लस टू हटाउनुहुन्न
युवराज शर्मा
वरिष्ठ उपाध्यक्ष, हिसान
अहिले मुख्य रूपमा विद्यालय र उच्चशिक्षालाई नेतृत्वदायी संस्था बनाउन हिसानलाई ‘रिनेमिङ’ गर्याैं । अहिलेजसरी ९–१२ सम्मको माध्यमिक शिक्षा आयो, त्यसैगरी हाइयर एजुकेसनको महत्व पनि उस्तै छ । वैदेशिक सम्बन्धनमा सञ्चालित, सीटीईभीटीको सम्बन्धनमा सञ्चालितलगायत संस्थालाई समेट्न पनि एउटा संस्थाको आवश्यकता छ । त्यहीअनुसार हामी गयौं । संरचना परिवर्तन गरे पनि हिसानको ब्रान्डलाई छाडेनौं ।
मुख्य रूपमा अहिले ‘प्लस टु एजुकेसन’मा दुई–तीनवटा चुनौती छन् । नियमावलीले ९–१२ लाई व्यवस्थापन कसरी गर्ने भन्नेमा प्रस्ट व्यवस्था गर्न सकेको छैन । नियमावली आइसकेको पनि छैन । ११–१२ केही हदसम्म त्यही तहमा राख्छ कि भन्ने पनि छ । नियमावलीमा सामुदायिक कलेज र वैदेशिक सम्बन्धनमा सञ्चालित संस्थालाई छुट्टै विधि बनाइने भनेर तोकिएको छ । हिजोे पीसीएल थियो, त्यसपछि प्लस टू आयो र अहिले फेरि ११ र १२ लाई पनि त्यही तहमा राख्छ कि भन्ने देखिएको छ ।
अझै पनि मुलुकभर एक सय ५६ वटा ‘जिरो प्लस टू’ सञ्चालनमा छन् । त्यसले उच्चशिक्षामा तरंग ल्याएको छ । हिजो १० कक्षापछि थप अध्ययन गर्न बैंगलोर जाने विद्यार्थीलाई ११–१२ आएपछि रोेकेको छ । विभिन्न विश्वविद्यालय पनि यिनै विद्यार्थीबाट उठेका छन् । तर कर्मचारीतन्त्रमा रहेको एक समूहले हिजोको उमाशिप पनि सुन्न चाहनुभएको थिएन, अहिले ११–१२ पनि सुन्न चाहनुभएको छैन । उच्च माध्यमिक विद्यालय संघ पनि उहाँहरूलाई मन परेको थिएन ।
माध्यमिक तह कसरी जान्छ भन्ने पनि हेर्न बाँकी छ । स्ट्रक्चरका हिसाबले परीक्षा बोर्डमार्फत ११ र १२ को परीक्षा सञ्चालन गर्ने भनिएको छ । बोर्डले १०, ११ र १२ को परीक्षा लिनुपर्छ । तर दुई महिनाको अन्तरमा १५ लाख परीक्षाको जाँच चलाउने मेकानिज्म अहिले छैन । कुनै संरचना पनि छैन । भोलि १० को परीक्षा प्रादेशिक संरचनामा जाला, तर स्पष्ट छैन । ११ को जाँच नलिएर १२ मा जाने पनि देखिएको छ । तर भोलि कठिन छ । अहिले ११ को ग्रेडिङ आउने कि नआउने अन्योल पनि छ । चुनौती पनि छ ।
११ र १२ एक–दुई कक्षामा जान चाहेको छैन । त्यसरी जान आएको पनि होइन । नेपालको पाठ्यक्रमअनुसार चलेर नेपाली विद्यार्थीलाई यहीँ पढाउन खुलेको संस्थालाई १–१२ मा जाऊ भन्नु गलत हो । यसलाई ‘एड्रेस’ गर्न पनि हिसानको भूमिका महत्वपूर्ण छ । हामीलाई ९–१२ मा जान दिनुपर्छ । हाइयर एजुकेसनको जग पनि यही हो । अहिले ११–१२ को जुन क्षमता छ, त्यसलाई बिगारिनुहुँदैन ।
उच्चशिक्षा आयोग गठन होला । यस विषयमा आयोगले पनि बोल्ला । उच्चशिक्षाबारे बृहत् छलफल गर्नु जरुरी छ । माध्यमिक र विश्वविद्यालयबारे अलि बढी छलफल गर्नु जरुरी छ । हामी निजीशिक्षाबारे मात्र होइन, समग्र मुलुकको शिक्षाको गुणस्तर र उत्कृष्ट शिक्षा नेपालमै भन्ने नाराका साथ अघि बढेका छौं ।
हिसानले ठूलो धनराशि बिदेसिनबाट रोकेको छ
नवराज पाण्डे
वरिष्ठ उपाध्यक्ष, हिसान
नेपालको शिक्षा कता लैजाने भन्ने कुरा युवाको हातमा छ । हामीसँग मिल्दाजुल्दा मुलुक साउथ कोरिया, मंगोलियामध्ये मंगोलियामा ३५ लाख जनसंख्या रहेछ । ३५ वटै विश्वविद्यालय रहेछन् । साउथ कोरियामा साढे तीन करोड जनसंख्या छ । तर साढे चार सय विश्वविद्यालय रहेछन् । जापानमा पनि धेरै विश्वविद्यायल छन् ।
हाम्रो देशमा नयाँ जेनेरेसन धेरै रहेको तर पढ्ने अवस्था नरहेको जस्तो देखिन्छ । निजीक्षेत्रले हाइयर एजुकेसनमा बढी इन्भल्मेन्ट भएर विदेश जाने विद्यार्थीलाई रोकेको छ । अहिले नौवटा मात्र विश्वविद्यालय छन् । ‘एजिङ’ र ‘पपुलेसन’का समस्याका कारण जर्मनी, जापानलगायत मुलुकका विश्वविद्यालयको इन्ट्रेस्ट यहाँ जोडिएको छ । त्यहाँ विद्यार्थी नै छैन ।
हामीकहाँ प्रशस्त विद्यार्थी रहे पनि सरकारको विश्वविद्यालय, स्पष्ट नीति र कार्यक्रम नहुँदा समस्या थपिएको छ । निजीले व्यापार मात्र गर्न खोज्यो भन्ने आरोप लागेको छ । हामी पनि शिक्षाको विकासमा लागेका छौं भन्ने बुझाउन सकेका छैनौं । अन्नपूर्ण पोस्ट्ले यस्ता विषयमा आँखा खोलिदिनुपर्यो । हिसानले देशसुहाउँदो, भूगोलसुहाउँदो ‘कोर्स’ र ‘करिकुलम’ ल्याएर ठूलो धनराशि बिदेसिनबाट रोकेको छ । देशसुहाउँदो शिक्षा नेपालमै दिएर यही ‘जब क्रिएट’ गरेर हाम्रो विकास गर्नेतर्फ लाग्नुपर्नेछ । यसमा हिसानले ठूलो भूमिका खेलेको छ ।
देशसुहाँउदो ‘करिकुलम’ बनाउने र गुणस्तरीय शिक्षा नेपालमै दिनेतर्फ लाग्नुपर्छ । एकै प्रकारको कोर्समध्ये विदेशको कार्यक्रमलाई महँगो शुल्क तिर्ने र स्वदेशी कोर्सलाई सस्तोमा पढाउनुपर्ने अवस्था अन्त्य हुनुपर्छ । यसका लागि हामी सरकारसँग सहकार्य गरेर अघि बढ्न तयार छौं ।
नीतिगत तहमा बस्नेले बुझेनन
लोकबहादुर भण्डारी, उपाध्यक्ष, हिसान
हिसानलाई नयाँ नामकरण गरेपछि यो निजी संस्थाको पनि अब्बल संस्था बनेको छ । यसले विश्वविद्यालयलाई पनि समेट्न सक्छ भन्नेतर्फ हामी लागेका छौं । हामीजस्ता युवाले गरेको कामलाई ‘ब्लेमिङ’ गरिएको छ । यसलाई हिसानले व्यवस्थित गर्नुपर्छ । हामी निरुत्साहित भएका छौं । अहिले ग्रेडिङका कारण सरकारी स्कुलमा शिक्षक नपढाए पनि हुन्छ भनेर उम्किन खोजिरहेका छन् । तर हामी यसलाई व्यवस्थित गरिनुपर्छ, परिमार्जित गरिनुपर्छ भनेर लागिरहेका छौं ।
सँगसँगै अर्को वर्ष ग्रेडिङ हुने कि नहुने भन्ने अन्योल छ । मिडियाले पनि समाचार सही तरिकाले सम्प्रेषण गर्नुपर्छ । धेरै संस्था अहिले पनि सम्बन्धन नपाएर छटपटिरहेका छन् । नियमावली आउन खोजिरहेको छ । कानुनसंगत तरिकाबाट आइदिए हुन्छ । शिक्षा उन्नत हुनुपर्छ भन्ने तरिकाले सोच्नेभन्दा पनि यसलाई बिगार्नेतर्फ केही समूह लागिरहेका छन् । राज्यले ‘एड्रेस’ गर्न सकेको छैन । मन्त्रीहरूले पनि बुझ्न सकेका छैनन् । नौ महिनाका लागि आएका मन्त्रीले बुझ्दैमा समय गइरहेको छ । मन्त्रीले बुझ्न नसकेकै कारण ‘जिरो प्लस टू’ खारेज हुने अवस्थामा पुगिसकेको छ । हामीलाई कुनै पनि नीतिनियम बनाउने भन्ने विषयमा समावेश गरिँदैन । हामी आफै आचारसंहिता बनाएर लागिरहेका छौं । हामीजस्ता थुप्रै संस्था अब्बल छन् । नमुना छन् । तर राज्यले हामीलाई जहिले पनि ‘इग्नोर’ गर्न खोज्छ ।
अहिले स्कुलमा कर्मचारी नियुक्तिमा पनि सरकारी मान्छे हुने भइसके । नियमावलीमा शिक्षक पदपूर्ति समिति छ । तीनजनाको पदपूर्ति समितिमा जिल्ला शिक्षा कार्यालयका मान्छे मात्र दुईजना हुन्छन् । हामीले जे पायो त्यही गरेका छैनौं । शुल्क पनि मनलागी लिएका छैनौं । हिजो चलाऊ भन्दै आग्रह गर्ने अनि अहिले चेपुवामा मात्र पार्ने प्रवृत्ति गलत छ । यस कुरालाई व्यवस्थित तरिकाबाट उठान हुनुपर्यो ।
हाम्रो योगदान राज्यले बुझेन
रामहरि सिलवाल
सचिव, हिसान
पाँच सय अर्बको लगानी भएको शैक्षिक संस्थाको हामीले प्रतिनिधित्व गरिरहेका छौं । उत्कृष्ट शिक्षा नेपालमै भनेर जसरी हामीले शिक्षामा लगानी गरिरहेका छौं, तर हामीले साथ पाएका छैनौं । जब विद्यार्थी भर्नाको समय आउँछ अनि शुल्क बढी लियो, ताला लाग्यो भन्ने विषयले समाचारमा बढी स्थान पाउँछ । स्कुलले यति शुल्क लियो, लुट्यो भनेर मात्र समाचार आउँछ । सरकारले तोकेको न्यूनतम शुल्क लिन नसक्ने स्कुल पनि थुप्रै छन् ।
प्लस टु मन्टेस्सोरीको तुलनामा धेरै सस्तो छ । हामीले धेरै छात्रवृत्ति पनि दिएका छौं । नेपाली युवाले बीसौं वर्ष हेलमेट बोकेर गरेको लगानीबारे कसैले सोचेको छैन । ९० प्रतिशतभन्दा बढी स्कुल भवन भाडाका छन् । हामी पनि श्रमजीवी हौं । हामीले गरेको योगदान राज्यले त बुझेको छैन नै, सञ्चारमाध्यमले पनि बुझिदिएनन् । हाम्रो लगानीको सही पहिचान हुन सकेको छैन । मुलुकको मूल नीति धमिलिएको अवस्थामा शाखा नीति पनि धमिलिनु स्वाभाविकै हो ।
नेपालको विज्ञापन बजारमध्ये २० प्रतिशत शिक्षाले ओगटेको छ । तर शिक्षाक्षेत्रका लागि समाचारमा जति स्पेस छुट्ट्याइएको छ, त्यो लक्षित समूहमा पुग्न सकेको छैन । यसका लागि ‘फिल्ड’मै जानुपर्छ, बच्चासँग गीत गाएर–नाचेर मात्र उनीहरूको मानसिकता बुझ्न सकिन्छ । यसका लागि ‘मार्केटिङ स्ट्राटेजी’ पनि हुनुपर्छ । प्रोफाइल राखेर भजन गाएर मात्र पनि हुँदैन, जुत्ता लाउनेलाई कहाँनिर दुखेको छ भन्ने कुरा पत्ता लगाउन सक्ने गरी समाचार सामग्री दिन सक्नुपर्छ ।
हिसानले विश्वविद्यालय शिक्षा सुधार्न सघाउँछ
एसपी सिंह
वरिष्ठ उपाध्यक्ष, हिसान
हिसानको मुख्य उद्देश्य निजी लगानी संरक्षण गर्ने नै हो । एजुकेसनको क्वालिटी सुधार्ने पनि हो । बीचमा सरकारको नीति परिवर्तन भएर एजुकेसन सिस्टम परिवर्तन भएपछि हिसान केही अलमलियो । तर अहिले ट्र्याकमा आएको छ । हिसानमा धेरै क्षमतावान् म्यानपावर छन् । देश–विदेशमा ख्याति कमाएका एवं अनुभवी व्यक्ति यस संस्थामा छन् ।
शिक्षाको कुरा गर्दा अहिलेको मुख्य चुनौती शिक्षालाई ‘वल्र्ड क्लास’ बनाउनु हो । हामी अहिले प्लस टू शिक्षामा लगभग ‘वल्र्ड क्लास’मै छौं । हाम्रा ‘पासआउट’ भएका विद्यार्थीबाट यो प्रमाणित भएको छ । उनीहरू विदेशमा पनि राम्रो ख्याति कमाएका छन् । तर हिसानले यससँगै ‘लोअर लेभल’देखि युनिभर्सिटी एजुकेसनमा पनि भूमिका खेल्न सक्छौं भन्ने हो । अबको आवश्यकता युनिभर्सिटी शिक्षालाई सुधार्ने हो । यसमा हिसानले सरोकारवालासँग सहकार्य गरेर अघि बढ्नुपर्छ । त्यसमा सञ्चारमाध्यमले पनि सहयोग गर्नुपर्छ । हामी आफ्ना तर्फबाट सहयोग गर्न तयार छौं ।
प्रस्तुति: सूर्यप्रसाद पाण्डे