हिमालय एयरलाइन्सको काठमाडौं–म्यानमार सिधा उडान सुरु
काठमाडौं: हिमालय एयरलाइन्सले शुक्रबारदेखि काठमाडौँ–म्यानमारको याङगोनमा पहिलो पटक सिधा उडान सुरु गरेको छ। करिव तीन लाख बढी नेपाली मुलका नागरिक बसोवास गर्दै अाएको म्यानमारलाई नेपालसँग सिधा जोड्ने लक्ष्यले हिमालय एयरलाइन्सले सोमबार र शुक्रबार सातामा दुई दिन सिधा उडान सुरु गरेको छ।
दुई दशकअघि नेपाल वायु सेवाले उडान गरेको थियो। तर, निरन्तरता दिन सकेको थिएन । उडानसँगै हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठ र म्यानमारका लागि नेपाली राजदुत सुरेस आचार्य, संस्कृति संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रालय प्रतिनिधि म्यानमारतर्फ प्रस्थान गरेका छन्। पहिलो उडानमा ९० वर्र्षीय सुकदेव पौडेल र ८४ वर्षीया सुशीला भण्डारी ४० वर्षपछि म्यानमार जान पाउँदा खुशी व्यक्त गरेका छन्।
नेपालीमुलीलाई नेपालको संस्कृतिसँग जोड्ने र दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनाउन उडानले सहयोग पुर्याउने लक्ष्य हिमालय एयरलाइन्सका मिडिया प्रतिनिधि उज्वला दलीले बताइन्। एयरलाइन्सले काठमाडौ–याङगोन–काठमाडौं भ्याटबाहेक २९ हजार ६ सय रुपैयाँ तोकेको छ।
काठमाडौबाट बिहान १०ः५५ बजे जहाज छुटेर दिउसो २ः१५ मा याङगोनमा जहाज पुग्ने छ। म्यानमारमा युनिक एसिया ट्रावल एण्ड कम्पनी लिमिटेडले वितरकको जिम्मा लिएको छ। एयरलाइन्सले फेव्रुअरी १० देखि मलेसियाको क्वालालम्पुरमा उडान सुरु गरिसकेको छ। चीन र नेपालको संयुक्त लगानीमा सुरु गरेको एयरलाइन्सले चीन,कतारको दोहा, श्रीलङ्काको कोलम्बो, मलेसियामा उडान सुरु गरिसकेको छ। एयरलाइन्सले तेस्रो जहाज एअरबस ३३० जहाज भित्रिएसँगै जापान, कोरिया, यूरोप, अस्ट्रेलिया र अमेरिकामा उडान गर्ने लक्ष्य राखेको जनायो ।