मोडलिङ क्षेत्र छाड्दिनँ :मिस कोसी
सानैदेखि मोडलिङमा लाग्ने रहर बोकेकी सुनसरी इटहरीकी सुजना खड्का मिस कोसी २०१७ को उपाधि जितेपछि अहिले खुसी छन् ।कलेजमा मेहनती विद्यार्थीको पहिचान बनाएकी उनले विज्ञान विषयमा कक्षा १२ पूरा गरेकी छन् । जय मिडिया म्यानेजमेन्ट प्रालिको आयोजनामा विराटनगरमा भएको मिस कोसीको उपाधि जितेपछि यिनै विषयमा कुमार लुइँटेलले गरेको कुराकानी:
उपाधि जितेपछि कस्तो लागिरहेको छ ?
मैले निकै मेहनत गरेकी थिएँ । सबैको सहयोग र सहानुभूतिले उपाधि जित्न सफल भएँ खुसी लागेको छ । मेहनत सार्थक भएको अनुभूति भइरहेको छ ।
बधाई त धेरै पाउनुभयो होला ?
यो स्वाभाविकै हो । उपाधि जितेपछि बधाई थाप्न भ्याइनभ्याइँ छ । सबैले स्यावासी दिइरहेका छन् । मलाई निकै हौसला मिलिरहेको छ । प्रतियोगिता अघिसम्म म एउटा विद्यार्थी थिएँ अहिले आफ्नो पहिचान अलि फराकिलो भएजस्तो लागेको छ ।
मोडलिङलाई पेसा बनाउने सोच ?
मोडलिङ मलाई मनपर्ने क्षेत्र हो । यसलाई पेसा बनाउने सोच बनाएकी छु । इन्जिनियरिङ पढ्ने तयारी हुँदैछ । तर, एक वर्ष पढाइ नभएकाले यो अवधिमा मोडलिङबारे तालिम लिने आफूलाई अझ निखार्ने योजना छ ।
मैले मोडलिङलाई मूल पेसा बनाएर अघि बढ्ने सोच बनाएकी छु । यो क्षेत्र छाडेर म कतै जान्न । यही क्षेत्रमा रमाउने योजना बनाएकी छु ।
मोडलिङमा भविष्य सम्भव होला त ?
मलाई सानैदेखि यस क्षेत्रप्रति आकर्षण थियो । विराटनगरमा मिस कोसी प्रतियोगिता हुने भएपछि यो प्रतियोगितालाई मैले अवसरको रूपमा सदुपयोग गर्न सकेँ भन्ने लाग्छ । भविष्यमा मोडलिङ र रंगक्षेत्रमा लाग्ने योजना छ ।
प्रतियोगिताको क्लोज क्याम्पमा सिकेका कुरा ?
मैले यो प्रतियोगितालाई मेरो जीवनकै ‘युटर्न’को रूपमा लिएकी छु । प्रशिक्षणमा बोल्ने, मानिससँग व्यवहार गर्ने, हिँड्ने, हाउभाउ कस्तो बनाउने धेरै विषयबारे जानकारी मिल्यो । प्रशिक्षकबाट प्रतियोगिताको फाइनलमा भिड्नमात्र नभएर जीवनशैली नै बदल्ने ज्ञानहरू पनि पाएका छौं ।
यस क्षेत्रमा परिवारको सहयोग ?
मैले परिवार र साथीभाइको सहयोगबाट मिस कोसीको उपाधि जित्न सफल भएकी हुँ । मोडलिङलाई करिअर बनाएर अगाडि बढ्ने विषयमा पनि परिवारबाट राम्रा सुझाव पाएको छु ।
यस्ता प्रतियोगिता जित्ने तर काम केही नगर्ने समस्या छ नि ?
मैले मोडलिङलाई मूल पेसा बनाएर अघि बढ्ने सोच बनाएकी छु । यो क्षेत्र छाडेर म कतै जान्न । यही क्षेत्रमा रमाउने योजना बनाएकी छु ।
प्रतियोगितामा भाग लिएपछि आफूमा के परिवर्तन आयो ?
पहिले लजाउने बानी थियो अहिले त्यो हट्यो । कन्फिडेन्स लेभल बढेको छ । मोडलिङका धेरै पक्षबारे थाहा भयो ।