लेख्नु भनेको बौद्धिकता प्रदर्शन हो
मुटुलाई ढुंगा बनाएर लड्नुपर्ने फौजीको मनमा पनि कतैकतै भावनाको मूल फुटिरहेको हुन्छ। रुम्जाटारको सांस्कृतिक वातावरणले उनको जीवनमा संगीतको रस भरिएको थियो।
लगभग तीन दशकअघि क्याम्पस पढ्न सातभन्ज्याङ नाघेर राजधानी आएका गौरव गुरुङको संगीत रुचिले अम्बर गुरुङको छत्रछायामा हुर्कने मौका पायो।गौरवले अम्बरसँगै संगीत सिके। अम्बरको निकटताले उनलाई सधैँ प्रेरणा दिइरह्यो। नेपाली सेनाका कर्णेल गौरवले फौजी जीवनसँगै संगीतयात्रालाई अघि बढाइरहे।
पाँचवटा एल्बम उनले श्रोतामाझ ल्याइसकेका छन्। दुई एल्बममा आफैंले गाएका छन्, अन्यमा गीतकारको भूमिकामा देखिएका छन्। गीत लेख्नेहरूलाई गाउने रहर हुन्छ। धेरैको पहिलो रोजाइ गायन हुन्छ, त्यसपछि मात्र लेखन। तर गौरव गायनबाट लेखनतर्फ आकर्षित भए। भन्छन्, 'लेख्नुको छुट्टै महत्व हुन्छ, यो बौद्धिकता प्रदर्शन गर्ने ठाउँ हो।'
सानैदेखिको सांगीतिक रुचिलाई माझ्दै शंकरदेव क्याम्पसबाट सुरु भएको उनको गायनयात्रा निरन्तर चलिरहेको छ। कहिले उनी गायकका रूपमा त कहिले गीतकारका रूपमा देखिँदै छन्। अब छिट्टै गायन एल्बम पनि सार्वजनिक गर्ने तयारीमा जुटेका छन्। केही दिनअघि मात्र एल्बम 'मीतज्यू' मा गीतकारको रूपमा प्रस्तुत भए। 'मीतज्यू' लाई शृंखलाको रूपमा अघि बढाउने योजनामा पनि छ उनको।
बाहिरबाट हेर्दा कठोर लाग्ने फौजी जीवनमा रमाइलो पक्षहरू पनि हुन्छन्। पल्टनमा सांगीतिक वातावरण भइरहन्छ। यही वातावरणले उनलाई गीत लेख्न र गाउन अझ प्रेरित गर्छ। पल्टनमा हुँदा कहिलेकाहीँ आफ्नै भावनाका वेग गीतमा पोखिन्छन् त कहिले आफूसँगै हिँडेका साथीभाइको कथाले गीतको रूप लिन्छ।
पल्टनभित्रको फरक परिवेशले फरकफरक सिर्जना उत्पादन गर्छ। एकतिर देशको सुरक्षाको जिम्मेवारी अर्कोतिर आफ्नो सोख। भन्छन्, 'जस्तोसुकै काम भए पनि मानवीय स्वभाव जहाँसुकै हुन्छ।'
देशको सेवामा समर्पित भएको मनमा देशभक्तिको भावनाहरू उर्लेर आउँदा गीत बनिहाल्छ। उनका धेरै गीतमा देशभक्तिको भावना भेटिन्छ। कुनै गीतमा रुम्जाटारका खेतबारी, धारा पधेँरा पनि त्यतिकै झल्किएका छन्।
गीतसंगीत मनोरञ्जनको लागि मात्र होइनन्। यसले आफ्नो पनि संस्कृति बोकेको हुनुपर्छ। नेपाली सांगीतिक बजारमा सुगम संगीतमा नेपालीपन झल्काउने उनको चाहना हो। त्यसैले उनको गीतमा नेपाली मौलिक स्वाद भेटिन्छन्।