सिके राउतलाई थप १० दिन थुनामा राख्न आदेश
सिरहा : स्वतन्त्र मधेस गठबन्धनका संयोजक सिके राउतलाई बुधबार सिरहा जिल्ला अदालतले तेस्रो पटक थप १० दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको छ।
देश विखण्डनको गतिविधि गर्दै आएको आरोपमा जनकपुरबाट पक्राउ परेका राउतर्ला सिहरा ल्याइएको थियो। इलाका प्रहरी कार्यालय लहान मार्फत् राज्यविरुद्धको संगठित अपराध अन्तर्गत मुद्दा दायर गरिएपछि अदालतमा पेश गरिएका राउतलाई अदालतले तेस्रो पटक हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको हो।
राउतलाई पहिलो पटक माघ २१ गते सिरहा जिल्ला अदालतले अनुसन्धानका लागि १० दिनसम्म थुनामा राख्न आदेश दिएको थियो। राउतलाई पक्राउ गरेको विरोधमा प्रदर्शन गर्ने राउतका ८ कार्याकर्ता पनि प्रहरी हिरासत छन्।
यसैबीच, राउतका कार्यकर्ताले सिरहा सदरमुकाम जाने सडकमा पर्ने सिरहा नगरपालिका ११ भलुवाही चोकमा झुण्ड्याएको ‘फ्रि मधेस’ लेखिएको ब्यानर प्रहरीले हटाएको तस्बिर खिच्न पत्रकार कुटिएका छन्।
राउत समर्थकहरुले झुण्ड्याएको ब्यानर प्रहरीले हटाएको तस्बिर खिच्दा प्रहरीले माउन्टेन टेलिभिजनका पत्रकारमाथि कुटपिट गरेको हो।
नेपाल पत्रकार महासंघ सिरहा शाखाका अध्यक्ष देवकुमार यादवले प्रेस विज्ञप्तिमार्फत् समाचार संकलनको क्रममा पत्रकारलाई कुटपिट र दुव्र्यवहार गर्ने प्रहरीलाई कारबाही गर्न माग गरेका छन्। विज्ञप्तिमा पत्रकारले पनि समाचार संकलन गर्दा परिचय पत्र, प्रेस ज्याकेटसहित जान आग्रह गरिएको छ।