स्थानीय निर्वाचनमा दलीय उम्मेदवार नदिने छलफल भएको गृहमन्त्रीको खुलासा
काठमाडौँः दलहरुले आसन्न स्थानीय निकायको निर्वाचनमा दलीय आधारमा उमेदवारी नदिने बारे छलफल सुरु गरेका छन् ।
स्थानीय तहको निर्वाचन घोषणा हुनु अघिल्लो दिन नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र , राष्ट्रिय प्रजातन्त्र पार्टी र सरकारलाई समर्थन गर्दै आएको मधेसी मोर्चाका साथै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का बीचमा सो विषयले प्रवेश पाएको खुलासा भएको छ ।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले महेन्द्रनारायण निधिको ९५ औं जन्मजयन्तीका अवसरका आयोजित पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख दलका शीर्ष नेताले स्थानीय तहको निर्वाचन दलीय आधारमा नलडौँ भन्ने प्रस्ताव राखेको जानकारी दिएका छन् ।
दलीय आधारमा चुनाव नलडी के आधारमा चुनाव भाग लिने त ? भन्ने प्रश्न आउन सक्छ, यसलाई विकासका एजेन्डासँग जोड्न दलका नेताहरुबीचका कुराकानी भएको उहाँले बताउनु भयो । निधीले आगामी दलका नेताबीच हुने बैठकमा यस विषयमा विस्तृत छलफल हुने समेत जानकारी दिए ।
गृहमन्त्री निधि संविधान संशोधन गरी निर्धारित समयमा नै निर्वाचन गरिने दावी गर्दै निर्वाचन नहोला की भनी शङ्का नगर्न आग्रह समेत गरे । रासस