शिवरात्रिमा पशुपति क्षेत्रमा यस्तो देखियो (फोटोफिचर)
तस्बिर : सरोज बैजु
काठमाडौं : हिन्दूहरुको महान् पर्व महाशिवरात्रिमा करिब १३ लाख भक्तजन पाशुपत क्षेत्रमा पुगेपनि दर्शन भने ६ लाखको हाराहारीले गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। सःशुल्क वितरण हुँदै आएको विशेष पासमा रोक लगाएपछि यस वर्ष दर्शनार्थीले सजिलोसँग दर्शन गर्न पाएका हुन्।
कोषले बिहान साढे तीन बजेदेखि नै पशुपतिनाथ मन्दिरको चारवटै ढोका खोलिदिएर दर्शनार्थीलाई प्रवेश गराएको थियो। एक जना दर्शनार्थीले लाइन बसेको ३० देखि ४० मिनेटभित्रै भगवान शिवको दर्शन गर्न पाएको दावी कोषको छ। कोषका कार्यकारी निर्देशक रमेशकुमार उप्रेतीका अनुसार मन्दिरको प्रांगणमा पुगेपछि चार वटा ढोकाबाट एक मिनेटमा चार सय दर्शनार्थीले दर्शन गरेर फर्किएका थिए।
‘मन्दिरलाई हेरेर नमस्कार गर्दै फकाइएको थियो, प्रत्येक मिनेटमा चारवटै ढोकाबाट चार सय जनाले दर्शन गरेर फर्किए’, उप्रेतीले भने, ‘विशेष पास खारेज गरेपछि दर्शनार्थीलाई सहज र सरल भएको हामीले पायौं।’ उनका अनुसार यो वर्ष १३ लाख दर्शनार्थी पाशुपत क्षेत्रमा पुगे पनि दर्शन नै गर्नेको संख्या ६ लाखको हाराहारीमा पुगेको छ।