नांगो साबुन
म नांगो छु
सत्यजस्तै नांगो
म उदांगो छु
घामजस्तै उदांगो
मेरो उदाउँदो रूप पनि यही
मेरो अस्ताउँदो रूप पनि यही
किञ्चित छैन मलाई
बोक्रोको भव्यतामा आडम्बर
म नांगो साबुन हुँ
नांगो
ओ तेस्रो विश्व
तिम्रो आदिम आवरणहीन मुहार
र मेरो अनुुुुहारमा के फरक छ ?
शीत–ताप खोपिएको
तिम्रो जुरो उठेको काँध
र मेरो मटमैलो रङमा के फरक छ ?
तिमीले चपराले फर्काएका डल्ला
दाँदेले हिल्याएको खेत
के त्यही माटोजस्तो छैन मेरो बास्ना ?
हात बेचेर तिमीलाई
चम्चा किन भन्छ अखबार
जिब्रो बेचेर, स्वाद किन भन्छ टेलिभिजन
पैताला बेचेर,
विश्व भ्रमणको निम्तो किन भन्छ रेडियो
छालासँग गोरोपना साट्न
हौस्याउँछ होर्डिङ बोर्ड
अरू त अरू
तिम्रै अर्धांगिनी
तिमै छोराछोरी पनि
तिम्रो विपक्षमा खडा गराउँछ
तिमीमा आधुनिक संस्कार ग्रहण गर्ने क्षमता
छैन भन्छ बजार
कुटिर उद्योग ऊ रुचाउँदैन
सुरशाजस्तो मुख बाइरहन्छ
हाम्रा भेडाबाख्रा सखाप पारेर
हामीबाटै उम्दा जिब्रोको आश गरिरहन्छ
निर्लज्ज बाघ भैरबझै अझै
तिम्रा हाट–बजार, तिम्रा मेला–पर्म,
तिम्रा ठेकी–मदानी
र नांगो साबुन मै पनि
नष्ट पार्ने योजनामा यो छ
हो, म नांगो छु
म नांगो साबुन हुँ
तिनीहरूको बजारको नांगो नाचभन्दा
कैयन गुुुुणा
शालीन र शिष्ट छ
मेरो नांगो प्रस्तुुुुति
आवरणहीन उपस्थिति !!