एमालेकै समर्थनमा संविधान संशोधन प्रस्ताव पारित हुन्छ : बलदेव
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनालले संविधान संशोधन प्रस्ताव एमालेकै समर्थनमा संसदबाट पारित गराउने गृहकार्य अगाडि बढिरहेको बताएका छन्।
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै खनालले भने, ‘संशोधन प्रस्ताव ढिलोमा एक महिनाभित्रै पारित हुन्छ, कुन प्रक्रियाबाट मतदान गराउने भन्नेबारेमा हामीले छलफल गरिरहेका छौं।’
खनालले गोप्य रुपमा मतदान गर्दा दुई तिहाई पुग्ने आधार सरकारसँग भएको दाबी गर्दै भने, ‘संविधान संशोधन प्रस्ताव एमालेकै समर्थनमा पारित हुन्छ, त्यसो भयो भने कांग्रेस, एमाले र माओवादी केन्द्र मिलेर नै प्रस्ताव पारित गराएर चुनावमा सहमतिका साथ जान्छौं।’
खनालले प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच संशोधन प्रस्ताव पारित गराउनेबारे सहमति बन्दै गएको समेत खुलासा गरे।
‘परिस्थिति आयो भने वामपन्थी गठबन्धन बनाउन पनि सकिन्छ, संविधान संशोधन प्रस्ताव पारित गराउनकै लागि सरकारले जस्तोसुकै रणनीति बनाउन सक्छ, एमालेसँग यसबारेमा कुराकानी सकारात्मक भैरहेको छ,’ उनले भने।