'अपि नाम्पा'को काखमा आनन्दको अनुभूति (फोटो फिचर )
नेपालको सुदूरपश्चिम क्षेत्रको 'अपि नाम्पाको यात्रा' सदैव रोमाञ्चक र सुखद हुन्छ। विकट, अविकास, अशिक्षा, सरसफाइको कमी लगायतका धैरै सामाजिक सूचक नकारात्मक दिशातर्फ सोझिए पनि त्यहाँका बासिन्दाको मीठो र निःस्वार्थ मुस्कान तथा सहयोगले सधैं आनन्द अनुभूति गराउँछ। त्यही अपिको काखमा सन् २०१२ देखि प्रत्येक वर्ष निरन्तर यात्रा गर्दा देखिएका दृश्य क्यामरामा कैद गर्ने प्रयास गरेको छु।
दार्चुला र बैतडीको सीमाबजार गोकुलेश्वरबाट गन्ना हुँदै चमेलिया (स्थानीय भाषामा चौलानी) नदीको किनारैकिनार अपिको काख पुग्न अहिले गुल्जरसम्म गाडीमा जान सकिन्छ। अत्तरियाबाट गन्नासम्मको गाडी पनि पाइन्छ।
गन्नाबाट पैदलैपैदल पारि बगर गुल्जर, मकरीगार्ड, घुसा, खायाकौट सिमल हुँदै अपिको काख ओढार वा पिलकण्ठ दह पुग्न औसत गतिमा तीन दिन लाग्छ।
असार साउनमा यार्सा टिप्न जाने हजारौंको भीडले भने यो दूरी दुई दिनमै पार गर्छ। वर्षको १० महिना मानवरहित रहने यो स्थानमा यार्सागुम्बा टिप्ने असार-साउनका दुई महिनामा भने भक्तपुरको बिस्केट जात्रामा जस्तै मानव सागर ओर्लिएको हुन्छ।
वर्षामासको घाममा यार्सागुम्बा, पाँचऔले, वनलसुन र विषजस्ता बहुमूल्य जडिबुटी संकलन गरी सुकाइरहेको जताततै देख्न पाइन्छ। त्यही मौसममा मात्र मान्छेहरू ३५०० देखि ५००० मिटर उचाइमा दैनिकी बिताउँछन्, फुर्सदको समयमा चिट्ठा, भलिबल र जुवा खेल्नेहरू पनि देखिन्छन्। जुवामा यार्साकै दाउ लगाउँछन्।
अझ रमाइलो त त्यहाँ पनि चाउचाउ र बियर पुगेकै हुन्छ। मानिसहरू पैसाले होइन यार्साले नै ती खाद्य र पेय पदार्थ किन्ने गर्छन्। यार्सा विनिमयको साधन बनेको देख्दा अनौठो लाग्छ।
यार्सा संकलनले भने सिंगो नेपाललाई नै आकर्षण गरेजस्तो देखिन्छ। धादिङका मानिसहरू पनि अपिमा यार्सा टिप्न गएको भेटियो।
भीमकाय चट्टानमाथि थुप्रिएको हिउँ नै अपि हिमाल हो। अपिसँगै पूर्वमा अर्को हिमाल नाम्पा कहिल्यै नटुट्ने दौंतरीझैं गरी अडिएको छ। यी हिमालका काखमा फैलिएका उच्च हिमाली फाँट ठूला जहाजहरू अट्ने विमानस्थल नै बनाउन मिल्नेजस्ता देखिन्छन्। अपिको चट्टानको भित्रभित्रैबाट निस्केको पानी चमेलिया नदी भई बग्छ।