तोकिएकै मितिमा चुनाव हुने देउवाको दाबी
बुटवल : नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन तोकिएको मितिमा हुने बताएका छन्। निर्वाचन हुने विषयमा कसैलाई शंका नगर्न आग्रह गर्दै देउवाले माघ ७ गतेसम्म तीनै तहको निर्वाचन सम्पन्न हुने दाबी गरे।
स्थानीय निर्वाचनको घोषणासँगै मुलुक निर्वाचनमय भएको भन्दै देउवाले निर्वाचनप्रति असहमत सबै दललाई मिलाएर नै निर्वाचन हुने दाबी गरे। बिपी कोइराला अध्ययन प्रतिष्ठानको भवन उद्घाटन कार्यक्रममा बोल्दै देउवाले यस्तो बताएका हुन्।
उनले विना डरत्रास चुनावमा जान कार्यकर्तालाई निर्देशन समेत दिएका छन्। ‘तपाईहरु ढुक्क भएर चुनावको तयारीमा लाग्नुहोस्, तोकिएकै समयमा चुनाव हुन्छ’, उनले भने।
लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन र संविधान कार्यान्वयन गर्न संबिधानले तय गरेको समय भित्र निर्वाचन हुने उनले दोहोर्याए।
संविधान कार्यान्वयन र निर्वाचनमा सबैको सहभागिताका लागि नै संसदमा संविधान संशोधन प्रस्ताव दर्ता भएको उल्लेख गर्दै प्रस्ताव पारित भएपपछि पुरै मुलुक निर्वाचनमय बन्ने जिकिर गरे।
नेपाली कांगे्रस सबैको पार्टी भएकाले सबैलाई मिलाएर अगाडि बढ्ने दायित्व रहेको उनको भनाइ छ। चुनावबाट नेपाली कांगे्रस बलियो भएमात्र प्रजातन्त्र बलियो हुने र जनता मालिक बन्न सक्ने दाबी उनले गरे।
कार्यक्रममा रक्षा मन्त्री बालकृष्ण खाँणले वैशाख ३१ गते नै स्थानीय निकायको निर्वाचन हुने बताए। सरकार निर्वाचनको पूर्ण तयारीमा लागेको बताउँदै कुनैपनि कारणले अब स्थानीय निर्वाचन नरोकिने उनको दाबी थियो।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले संविधान कार्यान्वयन कांगे्रसको एजेण्डा भएको बताए। उनले संविधान कार्यान्वयन गर्न र देशलाई बलियो बनाउन कांगे्रस बलियो हुनुपर्ने दाबी गरे।