धुर्मुस-सुन्तलीलाई विवेकशील नेपालीको पाँच लाख सहयोग
काठमाडौं : विवेकशील नेपाली दलले धुर्मुस सुन्तली फाउन्डेसनको पुनर्निर्माण अभियानमा पाँच लाख रुपैयाँ सहयोग गरेको छ।
शनिबार दलको कार्यालय काठमाडौँमा एक कार्यक्रमका बीच रकम हस्तान्तरण गरिएको छ। कार्यक्रममा संस्थाको प्रथम राष्ट्रिय परिषद्को लागि मोरङ जिल्लाका प्रतिनिधि सरस्वती आचार्यले रकम फाउन्डेसनका संस्थापक सीताराम कट्टेल ‘धुर्मुस’ लाई हस्तान्तरण गरिन्। फाउन्डेसनको कामको प्रशंसा गर्दै दलको तर्फबाट एक कृतज्ञता पत्र पनि प्रदान गरिएको छ।
पुनर्निर्माणमा धुर्मुस सुन्तली फाउन्डेसनले गरेको कामलाई थप सहयोग पुगोस् भन्नका लागि यो सहयोग गरेको दलका प्रवक्ता रमेश पौड्यालले जानकारी दिए।
सहयोग हस्तान्तरपछि प्रवक्ता पौडेलले भने, ‘भूकम्प गएलगत्तै भएको राहत तथा उद्धार कार्यक्रममा हामीलाई देश विदेशबाट प्राप्त भएको सहयोगको ठूलो हिस्सा त्यही काममा उपयोग भयो। बाँकी रहेको रकमको केही हिस्सा उहाँहरुले सुरु गर्नुभएको पुनर्निर्माण अभियानलाई पार्टीको तर्फबाट सहयोग प्रदान गरेका हौं ।’
विवेकशील नेपालीले धुर्मुस सुन्तलीको काम पारदर्शी र प्रभावकारी भएको भन्दै प्रशंसा समेत गरेको छ।
रकम हस्तान्तरण समारोहमा बोल्दै फाउन्डेसनका संस्थापक सीताराम कट्टेल आफ्नो फाउन्डेसन विवेकशील नेपालीको यस सहयोगप्रति कृतज्ञ व्यक्त गरे।
‘विवेकशील नेपाली दलको यो सहयोगप्रति हामी कृतज्ञ छौं। यस सहयोगले मानवता र सद्भावका लागि सहकार्य राष्ट्र निर्माण, तपाईं हाम्रो अभियान अन्तरर्गतको महोत्तरीको बर्दिबासमा निर्माण भैरहेको एकीकृत नमुना मुसहर बस्तीको काम अगाडि बढाउन मद्दत पुर्याउँछ,’ धुर्मुसले भने, ‘उक्त कार्यक्रमलाई अगाडि बढाउन रकम अभाव भएको कुरा हामीले केही समय अगाडि सार्वजनिक गरेका थियौं। त्यस आह्वानलाई सुनेर सहयोगको प्रदान गर्नको लागि पहल गरिदिनुहुने सबैप्रति म पुनः धन्यवाद दिन चाहन्छु ।’
धुर्मुसले आफूले विवेकशील दलको विषयमा नजिकबाट बुझिरहेको बताउर्दै पार्टीका सकारात्मक कामको प्रशंसा समेत गरे।