दृष्टिविहीन क्रिकेटले देखाएको दृश्य
भारतको बैंगलोरस्थित ‘चिन्नस्वामी अन्तर्राष्ट्रिय स्टेडियम'मा एकपटक नेपाल गुञ्जियो। दोस्रो दृष्टिविहीन टीट्वेन्टी विश्वकपको समापन समारोहमा अन्तर्राष्ट्रिय दृष्टिविहीन क्रिकेट लिमिटेडका अध्यक्ष महान्तेस जिकेले विशेष प्रसंगमा नेपालको नाम लिएका थिए।
२८ जनवरीदेखि १२ फेब्रुअरीसम्म भारतका विभिन्न १२ सहरमा सञ्चालन भएको दोस्रो टीट्वेन्टी विश्वकपको दौरान नेपालका पदम बडैलाले दोहोरो शतक प्रहार गरे, जुन प्रतियोगिताकै एकमात्र दोहोरो शतक थियो। त्यसैले भारतीय दृष्टिविहीन क्रिकेट संघ (क्याबी)का समेत अध्यक्ष रहेका महान्तेसले नेपालसँग जोडेर बडैलाको नाम घोषणा गर्दा भारतकै चर्चित चिन्नस्वामी स्टेडियममा उपस्थित २० हजारभन्दा बढी दर्शक र १० विभिन्न देशका टोलीले सम्मानका साथ ताली बजाए।
राम्रो सुविधा र क्रिकेट संस्कृति भएका भारत, पाकिस्तान, श्रीलंका, इङ्ल्यान्ड, अस्ट्रेलिया, न्युजिल्यान्ड, वेस्ट इन्डिज, दक्षिण अफ्रिका र बंगलादेश सहभागी भएको प्रतियोगितामा नेपाल आठौं बनेर घर फर्किए पनि बडैलाले बनाएको दोहोरो शतकले सबैको मनमा नेपाल कुँदिदियो।
उनले न्युजिल्यान्डविरुद्धको खेलमा ९० बलसम्म अविजित हुँदै दुई सय ११ रन बनाएका थिए। प्रभाव यस्तो पर्यो, भोलिपल्ट बैंगलोरको अलुरस्थित क्रिकेट मैदानमा स्थानीय युवा बिहानै नेपाली खेलाडी भेट्न आइपुगेका थिए। त्यसपछि नै हो, मैदान र मैदानबाहिर बडैला र नेपाली दृष्टिविहीन क्रिकेट टोलीलाई बधाई आउन थालेको।
त्यसअघि आन्ध्रप्रदेशको विजयवाडास्थित मुलापाडु क्रिकेट स्टेडियममा नेपाली लोकदोहोरी घन्किएको थियो। नेपाली लोकगीत (‘हाम्रो गाउँमा भट्टीको पसल छ÷पसल गर्ने साउनी झन् असल छ÷मासु मीठो भालेको, माछा तारेको÷लेऊ लेऊ साइँली दुई बोतल घरमै पारेको)मा नेपाली र भारतीय दृष्टिविहीन क्रिकेटरहरू नाचेको दृश्य सुखद थियो। यस्तो दृश्य प्रायः दुर्लभ हुन्छ।
गीत बज्न सुरु भएपछि नेपालीमात्रै हैन, भारतीय खेलाडीहरू पनि छमछमी नाचे। उनीहरूले गीतको भाव सायदै बुझे होलान् तर ताल मिलेकै थियो। त्यही भिडियो सामाजिक सञ्जालमा भाइरल बन्यो। नेपाल एक सय ५२ रनको भारी अन्तरले पराजित भएको दिनकै त्यो दृश्य वास्तवमै नेपालले भारतीय खेलाडीबाट पाएको उपहारसमान थियो।
सफलता÷असफलता खेलको नियम नै हो। दोस्रो टीट्वेन्टी विश्व कपले दिएको सम्मान र स्नेहले भने नेपाली दृष्टिविहीन क्रिकेट टोलीलाई गौरव महसुस गराउनेछ।
सुखद अनुभवका बीच प्रतियोगिताका केही खेलमा नेपालले ठूलो अन्तरको पराजय बेहोर्यो। त्यसैले नेपाल १० टोली सम्मिलित प्रतियोगितामा आठौं स्थानमा पुग्यो। तर, नेपाली दृष्टिविहीन टोलीले तयारीका क्रममा पाएको सहयोग र सुविधाको दृष्टिबाट उपलब्धि साँच्चिकै सोचेभन्दा राम्रो मान्नुपर्छ।
उपाधि जितेको भारतले प्रतियोगिताका लागि सुविधासम्पन्न वातावरणमा झन्डै ६ महिना तयारी गरेको थियो। इङ्ल्यान्ड, अस्ट्रेलिया, पाकिस्तान लगायतका टोली विभिन्न घरेलु प्रतियोगितामा सशक्त प्रदर्शन गर्दै विश्वकपका लागि भारत आइपुगेका थिए।
नेपाल खर्च अभावमा कुनै पनि राष्ट्रिय प्रतियोगिता नखेली मात्र १८ दिनको बन्द प्रशिक्षणमा बसेर भारत पुगेको थियो। ती १८ दिन पनि मैदान अभावका कारण नेपाली टोलीले अन्तिम केही समय टुँडिखेलको धुलोमा ब्याटिङ गरेर बितायो। त्यसको असर प्रतियोगितामा नेपाली टोलीको फिल्डिङमा देखियो।
मैदान नभएपछि बन्द प्रशिक्षणमा टोलीले कहिल्यै पनि फिल्डिङको अभ्यास गर्न पाएन। त्यसैले बी वान क्याटेगोरी (पूरै आँखा नदेख्ने)का खेलाडीले सुतेर गर्नुपर्ने फिल्डिङमा नेपाली खेलाडी आक्कलझुक्कल त्यसो गर्थे। बाउन्ड्रीको फिल्डिङमा बस्ने बी थ्री (२० मिटरसम्म देख्नसक्ने) क्याटेगोरीका खेलाडीले समेत डाइभ हान्न जानेनन्। नेपालबाहेक अन्य देशका खेलाडी ‘मेन स्ट्रिम' क्रिकेटका खेलाडीले जस्तै डाइभ हान्थे।
इङ्ल्यान्ड, अस्टे«ेलियालगायत देशका प्रत्येक खेलाडीसँग व्यक्तिगत ‘किट्स' थिए। उनीहरू प्रत्येकसँग आफ्नो एकभन्दा बढी ब्याट थिए। नेपाली टोलीसँग मात्र तीनवटा ब्याट थिए। न्युजिल्यान्डविरुद्ध दोहोरो शतक प्रहार गरेपछि म्यान अफ दी म्याचको अवार्ड दिने क्रममा कार्यक्रम सञ्चालन गरिरहेका वेस्ट इन्डिजका भवानी प्रसादले पदम बडैलालाई सोधे, ‘यति धेरै रन प्रहार गर्ने ब्याट कहाँ किनेको ? कुन ब्याटले खेल्छौ ?' बडैलाले नेपाली खेलाडीसँग व्यक्तिगत ब्याट नभएको र सिंगो टोलीसँग जम्मा तीनवटा ब्याट रहेको जवाफ दिँदा सुन्नेहरूले पनि अचम्म माने। त्यसपछि भवानीले नेपाली दृष्टिविहीन क्रिकेटबारे जिज्ञासा राखेका थिए।
त्यस बेला बडैलाको जवाफ सुनेका भारतीय कर कार्यालयमा कार्यरत पंकज गुप्ताले नेपाली टोलीलाई तीनवटा ब्याट सहयोगस्वरूप दिएका थिए। अन्य टोलीहरू आवश्यकताअनुसार प्याड र हेल्मेट फेर्थे तर नेपाली टोलीसँग एउटा पनि हेल्मेट र प्याड थिएन। इङ्ल्यान्डविरुद्ध नेपालले प्रतिस्पर्धा गर्दा बंगलादेशले विकेटकिपरले लगाउने प्याड उपहार दिएको थियो। तर, सुरुआतको १० ओभरपछि नेपाली विकेटकिपर लोकबहादुर थापाले प्याड फुकालेर फालिदिए।
वेस्ट इन्डिजका भवानी प्रसादले पदम बडैलालाई सोधे, ‘यति धेरै रन प्रहार गर्ने ब्याट कहाँ किनेको ? कुन ब्याटले खेल्छौ ?' बडैलाले नेपाली खेलाडीसँग व्यक्तिगत ब्याट नभएको र सिंगो टोलीसँग जम्मा तीनवटा ब्याट रहेको जवाफ दिँदा सुन्नेहरूले पनि अचम्म माने।
पहिलोपटक प्याड लगाएर खेलेका उनलाई निकै असहज महसुस भयो। बानी नभएकाले प्याडले उनको स्वाभाविक खेल नै बिगारिदियो।दृष्टिविहीन क्रिकेटमा नेपाल पछि सहभागी हुन आइपुगेको बंगलादेशको टोलीसँग पनि मार्चपासदेखि मैदानबाहिर र भित्र लगाउने फरकफरक ड्रेस थिए।
नेपाली टोलीसँग मैदानमा प्रयोग गर्ने दुई फरक जर्सीमात्रै थिए। अस्ट्रेलियाविरुद्धको पहिलो खेलमै कप्तान कीर्तन श्रेष्ठ दुवालको ट्राउजर च्यातिएपछि नेपाली टोलीले त्यसपछिका खेलमा एउटामात्रै जर्सी प्रयोग गर्यो।
दक्षिण अफ्रिकाविरुद्ध भएको आफ्नो तेस्रो खेलमा कीर्तनको अर्को ट्राउजर पनि च्यातिएपछि प्रतियोगिताभर नेपाली टोलीले च्यातिएकै जर्सी लगाएर खेल्यो। बी वान क्याटेगोरीका खेलाडीले प्रयोग गर्ने चस्मासमेत पर्याप्त नहुँदा नेपाली टोलीले अन्य टोलीसँग सहयोग मागेरै चलायो।
यति धेरै अभाव र अवसरको कमीका बीच नेपाली दृष्टिविहीन क्रिकेट टोलीले अन्तर्राष्ट्रिय प्रतियोगितामा आफ्नो क्षमता भने देखाएको छ। अब पालो नेपाली खेलसम्बद्ध सरकारी निकायको हो। के यी निकायको आँखा अब खुल्ला ?
सरकारको उपेक्षाका बीच दोस्रो दृष्टिविहीन विश्वकपमा नेपालले दक्षिण अफ्रिका र न्युजिल्यान्डजस्तो टोलीलाई पराजित गर्न सफल भयो। वेस्ट इन्डिज र बंगलादेशलाई कडा चुनौती दिन सफल भयो।
दृष्टिविहीन क्रिकेट वास्तवमै नेपालले राम्रो गर्नसक्ने खेल हो। अहिलेकै अवस्थामा पनि नेपाल भारत, पाकिस्तान र श्रीलंकाबाहेकका टोलीलाई बलियो चुनौती दिनसक्ने टोली हो। नियमित प्रतियोगिता र व्यवस्थित प्रशिक्षण हुने हो भने नेपाली टोलीले दृष्टिविहीन विश्वकपकै उपाधि जित्नसक्ने नेपाल दृष्टिविहीन क्रिकेट संघका अध्यक्ष पवन घिमिरे बताउँछन्।
‘अहिले विभिन्न कारणले दृष्टि गुमाएकाहरूलाई क्रिकेट खेल्न आऊ भनेर बोलाउनु परेको छ। जब कि उनीहरूलाई राम्रो खेल्ने भन्दा पनि क्रिकेटको आधारभूत नियम नै सिकाउनुपर्छ', अन्तर्राष्ट्रिय दृष्टिविहीन क्रिकेट लिमिटेडका उपाध्यक्षसमेत रहेका घिमिरे भन्छन्, ‘तर, त्यसरी सिकेर थोरै समयको तयारीका बीच पनि हामीले यसपटक न्युजिल्यान्ड र दक्षिण अफ्रिकाजस्तो टोलीलाई पराजित गर्न सफल भयौं। सुविधा दिएर व्यवस्थित प्रशिक्षण गराउने हो भने नेपाली टोलीसँग विश्वकप नै जित्नसक्ने क्षमता छ।'
त्यसका लागि नेपाल दृष्टिविहीन क्रिकेट टोलीले आफूसँग भएका कमजोरीहरू सुधार्न आवश्यक छ। राष्ट्रिय टोलीभित्र सशस्त्र द्वन्द्वका बेलामा दृष्टि गुमाएका र बाहिरका खेलाडीको आआफ्नै समूह छ, जसको नकारात्मक असर मैदानमा पनि पर्ने गरेको छ। कम्तीमा खेलाडीबीचको त्यो व्यवहारलाई हटाउन जरुरी छ।
अर्काे वर्ष पाकिस्तानले संयुक्त अरब इमिरेट्स (यूएई)मा आयोजना गर्न लागेको एकदिवसीय विश्वकप खेल्ने तयारीमा रहेको नेपालले कम्तीमा त्यसअघि खेलाडीका लागि मानसिक परामर्शका साथै उनीहरूको मनोबल उच्च राख्ने व्यवहार गर्नु आवश्यक छ।