षड्यन्त्रकारीहरू सल्बलाउँदैछन् : केपी ओली

षड्यन्त्रकारीहरू सल्बलाउँदैछन् : केपी ओली

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान कार्यान्वयन हुन नदिन षड्यन्त्रकारीहरू सल्बलाइरहेको बताएका छन्। पार्टी मुख्यालय धुम्बाराहीमा शनिबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले तीनै तहको निर्वाचन समयमै सम्पन्न गरेर त्यस्ता षड्यन्त्रकारीलाई ‘तह लगाउनुपर्ने’ धारणा राखे।

‘संविधान जारीदेखि कार्यान्वयनसम्म षड्यन्त्र गर्नेहरू सल्बलाइरहेका छन्। उनीहरूलाई दह्रो जबाफ दिन आगामी माघ ७ गतेभित्र स्थानीय, प्रान्तीय र केन्द्रीय निर्वाचन गर्दै संविधान कार्यान्वयन गरौं’, उनले भने। संविधान कार्यान्वयन नै मुख्य चुनौती रहेको बताउँदै ओलीले स्थानीय निर्वाचनबाटै संविधान कार्यान्वयन प्रारम्भ हुने भएकाले आमकार्यकर्तालाई निर्वाचनमा जुट्न निर्देशन दिए।

ओलीले सरकारमा भएका दल नै निर्वाचनप्रति इमानदार नभएको आरोपसमेत लगाए। ‘निर्वाचनविरुद्ध सत्ता पक्षले जारी राखेको षड्यन्त्रको मुख्य कारण नै एमाले जित्छ भन्ने डर हो तर म भन्न चाहन्छु तीनै तहको निर्वाचन एमालेले जित्छ। अब के गर्छौ गर। सत्ता पक्ष आत्तिने गरी चुनाव जित्छ’, उनले दाबी गरे। महाभारतको युद्धमा पाण्डवहरूले जित्ने अवस्था बनेपछि दुर्याेधन पानीमुनि गएको र भीमसेनले पानीमुनिबाटै ल्याएर भए पनि पराजित गरेको उनले स्मरण गराए। उनले भने, ‘एमालेका आमकार्यकर्ताले पनि चुनावबाट अहिलेको सत्ता पक्षलाई भीमसेनले दुर्योधनलाई पराजित गरेजसरी पराजित गर्नेछन्।’

२०७२ असोज ३ गते संविधान जारी हुन नदिने शक्तिहरू अहिले चुनाव हुन नदिन लागिपरेको आरोप ओलीले लगाए। पूर्वराष्ट्रपति डा. रामवरण यादवतर्फ संकेत गर्दै उनले भने, ‘अहिले पनि ती शक्तिहरू निर्वाचनका लागि सबै पक्षको सहमति भन्दै हिँडेका छन्।’ केही तत्व चुनाव रोकौं भनेर लागेका र केही तत्व संविधान नै रोकौं भन्दा नमानेकाले मुलुक अस्थिर भएको प्रतिक्रिया दिइरहेका छन् भन्दै उनले पूर्वराष्ट्रपति यादवले शुक्रबार दिएको अभिव्यक्तिको तिखो आलोचना गरे।

‘केही तत्व चुनाव रोकौं भनेर लागेका छन् भने केही तत्व संविधान नै रोकौं भन्दा नमानेकाले मुलुक अस्थिर भएको प्रतिक्रिया दिइरहेका छन्।’ केपी ओली, अध्यक्ष, एमाले

देशलाई कता लैजाने भन्ने विषयमा दुई प्रकारका शक्तिबीच तानातान भइरहेको दाबी उनले गरे। एउटा लोकतन्त्र, राष्ट्रिय एकता, स्वाधीनता र समृद्धिको बाटोतिर लैजानुपर्छ भन्नेमा र अर्को शक्ति आफ्नो संकीर्ण स्वार्थ कहाँबाट पूरा हुन्छ भनेर भाँड्न व्यस्त रहेको आरोप उनले लगाए।

‘हात्तीविरुद्ध स्यालको मोर्चाबन्दी’
नेपालमा अस्थिरताका पक्षमा रहेकाहरूले जात र क्षेत्रका नाममा लडाउन खोजेको बताउँदै एमाले अध्यक्ष ओलीले भने, ‘यो जात र त्यो जात भनेर लडाउन खोज्ने होइन, सबै नेपाली एक भएर समृद्धिमा अघि बढ्नुपर्छ भनेर लागौं।’

लोभीपापीहरूलाई डर, त्रास देखाएर र किनेर एमाले नेतृत्वको सरकार ढालिएको आरोप लगाउँदै उनले भने, ‘सरकार ढाल्नेहरूले तत्कालीन सरकारको प्रभाव ढाल्न सकेनन्।’ एमालेविरुद्ध सबै एकजुट भएको भन्दै उनले भने, ‘बलियासँग लड्न एकजुट हुनैपर्‍यो, यो अनौठो कुरा भएन। स्यालले जति मोर्चाबन्दी गरे पनि हात्तीको सिकार गर्न सक्दैन। वरपर आउन खोज्छन्, हात्तीले कुल्चेला भनेर भाग्छन्। सत्ता पक्षका लागि चुनाव यस्तै भइरहेको छ।’

अहिले देशलाई प्रतिगमनमा लैजाने वा देशको अस्तित्व नै समाप्त पार्ने दुईखाले षड्यन्त्र भइरहेको उनले बताए। ‘एकातिर जनताले शासन गर्न सक्दैनन्, लोकतन्त्र काम लाग्दैन भन्दै कुनै घरानालाई नै शासन दिनुपर्छ भन्ने र अर्कोतर्फ राष्ट्रको अस्तित्व नै समाप्त पार्ने प्रयास भइरहेका छन्’, उनले भने।

०५१ सालमा तत्कालीन पार्टी अध्यक्ष मनमोहन अधिकारी नेतृत्वको अल्पमतको सरकारले राष्ट्र र जनताका लागि गरेको काम देखिनसहनेहरूले षड्यन्त्रपूर्वक हटाएको स्मरण गराउँदै उनले एउटा देशबाट वेष्ठित अवस्थाबाट मुलुकलाई मुक्त गराएकाले आफू नेतृत्वको सरकारविरुद्ध षड्यन्त्र भएको दाबी गरे।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.