स्वास्थ्यमन्त्री थापाद्वारा सात अंगदान
भक्तपुर: स्वास्थ्यमन्त्री गगनकुमार थापाले आफ्ना शरीरका सात वटा अंग दान गरेका छन् । उनले मृत्युपश्चात् मुटु, फोक्सो, कलेजो, प्यान्क्रियाज, मिर्गौलालगायत दान गर्ने मञ्जुरी दिएका हुन् ।
स्वास्थ्य सेवा दिवसको अवसरमा आइतबार मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरले स्वास्थ्य मन्त्रालयमा आयोजना गरेको कार्यक्रममा स्वास्थ्यमन्त्री थापाले मृत्युपश्चात् अंग दान गर्ने मञ्जुरीनामामा हस्ताक्षर गरेका हुन् ।केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठका अनुसार स्वास्थ्यमन्त्री थापा मुटु, कलेजो, फोक्सो, प्यान्क्रियाज दान गर्न मञ्जुरी दिने प्रथम नेपालीसमेत बन्न सफल भएका छन् । मिर्गौला दान गर्न मञ्जुरी दिने प्रथम नेपाली भने वरिष्ठ प्रत्यारोपणविद् डा. श्रेष्ठ आफैं हुन् ।
उक्त कार्यक्रममा ६० जनाले मृत्युपश्चात् मुटु, कलेजो, फोक्सो, मिर्गौला र प्यान्क्रियाज दान गर्ने मञ्जुरीनामामा हस्ताक्षर गरेको केन्द्रले जनाएको छ ।
त्यस्तै, स्वास्थ्य सेवा दिवसकै अवसरमा आयोजित निःशुल्क मिर्गौला जाँच शिविरमा दुई सय २२ जनाको स्वास्थ्य परीक्षण गरिएको छ ।जसमा दुई सय २२ जनाकै पिसाब जाँच, एक सय ७५ जनाको रगत जाँच र ४० जनाको अल्ट्रासाउन्ड गरिएको थियो । उक्त शिविरमा २१ जनामा मिर्गौलाको रोग लागेको पाइएको केन्द्रका कार्यकारी निर्देशक डा. श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार मिर्गाैलाको रोग देखिएकामध्ये १८ जनामा मिर्गौलाबाट प्रोटिन चुहिने दीर्घकालीन मिर्गौला रोग, तीन जनामा पत्थरी, एक जनामा इक्टोपिक मिर्गौला, १० जनामा मधुमेह तथा १० जनामा उच्च रक्तचाप रहेको उनले बताए । वरिष्ठ मिर्गौलारोग विशेषज्ञ डा. कल्पना श्रेष्ठको नेतृत्वमा भएको उक्त शिविरमा नेफ्रोलोजिस्ट डा. लुसन सिंह, डा. सुमित आचार्य, डा. सन्तोष गुरुङ, युरोलोजिस्ट डा. नारायण भुसाल तथा मेडिकल अफिसर डा. रनिल श्रेष्ठले स्वास्थ्य परीक्षण गरेका थिए ।