निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छ : गगन थापा
काठमाडौँ : स्वास्थ्यन्त्री गगनकुमार थापाले आगामी वैशाख ३१ गते स्थानीय निर्वाचन गर्न नसके सरकारको औचित्य समाप्त हुने बताएका छन्।
सोमबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा मन्त्री थापाले भने,‘यो सरकार नै आगामी ०७४ माघ ७ गतेभित्रै तीन तहको निर्वाचन गर्न गठन भएको हो, निर्वाचन नै गर्न नसक्ने अवस्था आयो भने सरकारको औचित्य समाप्त हुन्छ।’
मन्त्री थापाले घोषित मिति मै स्थानीय तहको निर्वाचन गर्ने कुरामा सरकार अलमलमा नरहेको दाबी गरे। ‘बैशाख ३१ गते नै निर्वाचन हुन्छ, सरकार अलमलमा छैन, निर्वाचन गराउन नसक्ने हो भने सरकारको औचित्य समाप्त हुन्छ’, मन्त्री थापाले भने, ‘सरकार हुनुको अर्थ हुँदैन, सरकार लम्ब्याउने र तन्काउनुको अर्थ हुँदैन।’
मन्त्री थापाले मधेसी असन्तुष्ट दल संविधान संशोधन गर्ने पक्षमा लाग्नुपर्ने बताउँदै संशोधन प्रस्ताव पारित नभए सोही एजेण्डालाई निर्वाचनमा लैजान आग्रह समेत गरेका छन्।
एमालेको संविधान संशोधन गर्न हुँदैन भन्ने र मधेसी मोर्चाको संविधानले केही पनि दिएन भन्ने सोच नै अतिवादी रहेको गुनासो पोख्दै थापले भने, ‘उनीहरु यिनै एजेण्डा लिएर चुनावमा जान्छन्, तर हामी मध्यमार्गी बाटोमा मुलुकलाई निकास दिने एजेण्डा लिएर चुनावमा जान्छौँ।’
थापाले परिणामुखी कामका लागि आफू सदैव लागिरहेको बताउँदै कर्मचारीको सहयोगबाट सन्तुष्ट रहेको विश्वास व्यक्त गरे। उनले भने, ‘अहिले गरिरहेको कामलाई निरन्तरता दिए स्वास्थ्य क्षेत्रले ठूलो फड्को मार्छ, जोड्ने काम मात्रै हो, त्यति गरे धेरै गर्न सकिन्छ, यसको लागि म लागिपरिरहेको छु।”
उनले सरकारको जुनसुकै निकायमा पनि जोखिम मोल्दा पुरस्कार पाइन्छ भन्ने संस्कार बसाल्न सके अहिलेको भन्दा ५० औँ गुणा बढी काम गर्न सकिने दाबी गरे। थापाले भने,‘नेपालका कर्मचारीहरु रिस्क लिन चाहँदैनन्, किनकी उनीहरुलाई रिस्क लिँदा पुरस्कार पाइन्छ भन्ने कुरा थाहा छैन, उल्टै खतरा छ भन्ने भान हुन्छ, गलत काम हुन्छ कि भनेर नेपालमा धेरै कानून तथा नीतिहरु बनेका छन्।’
आगामी दिनमा देशका ७५ वटै जिल्लामा सुविधासम्पन्न एम्बुलेन्स पुर्याउने गरी आफूले काम गरिरहेको जनाउँदै थापाले भने, ‘यो कार्यलाई देशभरि तिव्रता दिनुपर्छ, एम्बुलेन्सको सेवा पाउनु भनेको लाइफ सेभिङ्को कुरा पनि हो।’