पत्रकार महासंघ बर्दियामा युनियन र सेन्टरबीच तालमेल
बर्दिया: नेपाल पत्रकार महासंघ जिल्ला शाखा बर्दियाको आसन्न अधिवेशनमा नेपाल प्रेस युनियन र प्रेस सेन्टर नेपाल मिलेर निर्वाचनमा जाने भएका छन् । आगामी फागुन २० गते हुने निर्वाचनमा प्रेस युनियनका राजेन्द्र धितालको अध्यक्षतामा बनेको समिति मार्फत दुवै संगठन एक भएर निर्वाचनमा जाने सहमति गरेका हुन् ।
दुई संगठनले तालमेल गरेपछि बर्दियामा प्रेस चौतारी नेपाल एक्लिएको छ । प्रेस युनियन नेपाल र प्रेस सेन्टर बीच तालमेल भएपछि करिव ७० प्रतिशत मत उनीहरुको पक्षमा भएको दुवै संगठनको दावी छ । बर्दियामा संयुक्त प्यानल बाहेक प्रेस चौतारीले हालसम्म कुनै पदको नाम सार्वजनिक गरेको छैन ।
बर्दिया महासंघमा नेपाल प्रेस युनियनको वर्चस्व रहेतापनि युनियनको आपसी खिचातानीले गर्दा अघिल्लो अधिवेशनमा प्रेस चौतारीले अध्यक्ष पद पाएको प्रेस युनियन बर्दियाका अध्यक्ष विनय राजभण्डारीले वताए । यसपटक भने त्यस्तो नहुने उनको दावी छ ।
प्रेस युनियन तथा प्रेस सेन्टरका अध्यक्षहरुले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै दुवै संगठन एक भएर संयुक्त प्यानल वनाई निर्वाचनमा जाने सहमति भएकोले सदस्यहरुलाई एक भएर लाग्न आव्हन गरेका छन् ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा बर्दियाले आगामी फागुन २० गते साधारण सभा तथा अधिवेशनको मिति तय गरेको जनाएको छ । विहान १० बजेदेखि जिल्ला विकास समिति बर्दियाको सभाहलमा अधिवेशनको उद्घाटन हुने नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष मीनराज शर्माले जानकारी दिएका छन् ।