मकै र आगोको भर

मकै र आगोको भर

सीता वाइवा (४०)को सपना नर्स बन्ने थियो । सेतो लुगा लगाएर सेतै फूलले कपाल सजाएर बिरामीको सेवामा जुट्ने नर्स देख्दा उनमा पनि त्यस्तै सपना आएको थियो । तर, अहिले थापाथली चोकमा दिनभरि तगारीमा मकै पोल्छिन् । प्रसूति गृहका नर्स उनका ग्राहक हुन् । भन्छिन्, ‘सपनै त देखेको हो । स्कुलको मुखै नदेखेकी गरिब टुहुरीको सपना कहाँ पूरा हुनु ।’ उनी दैनिक सयदेखि डेढसय घोगा मकै बेच्छिन् ।

त्यसबाट एक हजारदेखि १२ सय रूपैयाँसम्म कमाउँछिन् । मकै पोलेरै उनले चार जनाको परिवार पालेकी छन् । नुवाकोटमा जन्मेकी उनी र उनको परिवार वागमती पुलमुनि सुकुम्वासी बस्तीमा बस्छन् । बस्ती नब्युँझँदै उनको दिनचर्या चार बजेदेखि शुरु हुन्छ । झिसमिसेमै नाम्लो र बोरा बोकेर मकै लिन कालिमाटी पुग्छिन् । मधेशबाट एक ट्रिप मात्र आउने हुँदा मकै किन्न मारामार हुने उनी बताउँछिन् ।

भीडमा सक्नेले राम्रो मकै उठाइहाल्छन् । उनी पनि भीडमा लडाइँ गरेर रामै्र घोगा छान्छिन् । मध्याह्नदेखि मकै पोल्न थाल्छिन् । भन्छिन्, ‘खै ! मकै पोल्दा–पोल्दा यो आगोले मेरो शरीरको रगत पनि सुकायो कि कसो ?’

संघर्षका ती दिन
उनको बाल्यकाल पनि सुखद रहेन । सात वर्षकी छ“दा आमा बितिन् । अरूले भनेको सुनिन्, आमालाई बोक्सीले खायो । बोक्सीले खानु वा मर्नुको अर्थ थाहा नपाउने त्यो उमेरमा आमा फेरि कहिल्यै नफर्किने कुरा उनले बुझिनन् । कसैले भन्थे आमा तारा टिप्न गएकी छन् डाँडापारि । बर्कोभरी तारा टिपेर आउँछिन् । हातभरि तारा खेलाउने रहर बोकेर सानी बहिनी फकाउँदै आमा आउने बाटो हेरेर बस्थिन् । तर, आमा फर्किनन् ।

पत्नी वियोगले सीताका बाबु भौंतारिन थाले । त्यसपछि बाबु र बहिनीलाई खाना पकाएर खुवाउने, गाईभैंसीलाई घाँस काटेर हाल्ने जिम्मा आइलाग्यो । आमाले धानेको घरव्यवहारको भारीले स्कुल पनि छुटायो । त्यसैबीच, कान्छा दाजुको विवाह भयो । सोचिन्, भाउजू आएपछि सुख पाइएला । तर, भाउजू आउनुको खुशीले उनलाई धेरै दिन साथ दिएन ।

दाजुभाउजूसँग मन नमिलेपछि विरक्तिएकी उनी १२ वर्षको उमेरमा घर छाडेर हि“डिन् । घर छाड्दा उनको साथमा ४५ रुपैयाँ थियो । २८ वर्षअघि गाउँकै एक अग्रजको पछि लागेर काठमाडौं पसिन् । काठमाडौंमा उनको काकाको छोरा दाजुभाउजू बस्थे । उनी तिनैको शरणमा गइन् । भाउजू गलैंचाको धागो बाट्थिन्, भोलिपल्टदेखि उनी पनि त्यही काममा लागिन् । करिब चार वर्ष त्यसैबाट गुजारा चल्यो ।

मकै पोल्न तगारीमा सल्किँदै गरेको अगुल्टोको आगो ठोस्दै उनी भन्छिन्, ‘काली भए नि बैंसले यही आगोजस्तो राता थिए गाला । मन पराउने र जिस्क्याउने थुप्रै थिए । एकदिन साथीको लहलहैमा मकवानपुर पालुङको ट्रक ड्राइभरसँग भागेँ । जीवनको अर्को दुर्भाग्य त्यही दिनदेखि शुरु भयो ।’ लोग्नेको घरमा १५ सदस्य थिए । पाथीले चामल भरेर खाना पकाए पनि खानेबेलामा पिँधको रहलपहल मात्र भेटाउने । सासू र नन्दहरू निकै कडा स्वभावका थिए ।

पति आक्कलझुक्कल मात्र घर आउने, आए पनि खासै कुरा नगर्ने । उनको दुःख बिसाउने कोही हुँदैनथ्यो । बस्दै जाँदा छोरी जन्मिइन् । खासै जग्गा जमिन थिएन । परिवारले रक्सी बनाउने रहेछ । २/४ पैसा हात परे छोरीलाई न्यानो लुगा लगाइदिन हुन्थ्यो भन्ने सोचेर उनी पनि त्यही गर्न थालिन् । तर, उनले पैसा कमाएको सासूलाई मन परेन । झगडा पर्न थालेपछि उनी फेरि पति खोज्दै काठमाडौं आइन् । तर, विश्वासले गाँसेको सम्बन्धले उनलाई खासै न्यानो दिएन ।

उनी दोस्रो बच्चा पाउने व्यथाले च्यापेर प्रसूति गृह थापाथलीमा छटपटाउँदै गर्दा पनि पति आएनन् । भन्छिन्, ‘बिहान नौ बजे छोरा जन्मियो, खुशी हुँदै शिरमा हात राख्न लोग्ने आउला भनेर पर्खिएँ, बेलुकीसम्म पनि आएन । सुत्केरी मान्छे, दिनभर तातोपानीसम्म दिने कोही भएन । पाँच बजेतिर अस्पतालले भात दियो र खाएँ । साँझमा ट्रकको खलासीलाई लिन पठाएको थियो ।’

 काली भए नि बैंसले यही आगोजस्तो राता थिए गाला। मन पराउने र जिस्क्याउने थुप्रै थिए। एकदिन लहलहैमा मकवानपुर पालुङको ट्रक ड्राइभरसँग भागेँ। जीवनको अर्को दुर्भाग्य त्यही दिनदेखि शुरु भयो।

ती दिन सम्झ“दा आज पनि उनको मन अमिलो हुन्छ । त्यसपछि पनि पतिले कोठा भाडा नतिर्ने, रासन पनि नल्याइदिने गर्न थालेपछि उनी फेरि गाउँ फर्किन् । गाउँमा जति गरे पनि टिक्नै सकिनन् । कलिला लालाबाला टिपेर फेरि काठमाडौं आइन् र साबुन कारखानामा काम गर्न थालिन् । तीन हजार रूपैयाँले महिना चलाउन मुस्किल पथ्र्यो । उनी छोरा सुताएर आधारातसम्म गलैँचाको ऊन बाट्थिन् । त्यसबीच उनको जीवनले अर्को मोड लियो । गलैँचा उद्योगको ठेकेदार तेजबहादुर गोलेसँग उनको चिनजान भयो ।

बारा निजगढ घर भएका गोले उनीभन्दा अनाथ थिए । पत्नीले छाडेर एक्लिएका गोलेले उनलाई छोराछोरीसहितको साथ मागे । त्यस समयमा एक्ली त्यही पनि गरिब महिलालाई समाजमा टिक्न निकै गाह्रो थियो । एउटा अनाथको माया लागेपछि उनले गोलेसँग बिहे गरिन् । सोझो र कम बोल्ने स्वभावका गोलेले उनी र उनका दुई छोराछोरीलाई अभिभावकत्व दिँदै आएका छन् ।

छोराछोरीको पेट बढ्दै गयो । दुवै जनाको कमाइले पनि परिवार पाल्न मुस्किल पर्न थालेपछि उनीहरू साथीको सल्लाहमा दशकअघि हालको थातथलोमा बास बस्न आइपुगे । जिन्दगी कहिले पो सजिलो थियो र, यहाँ आएपछि उनले पसिना वागमतीको बालुवामा मिसाउन थालिन् । पतिसँग मिलेर उनी दिनभरिमा ५०/५५ डोको बालुवा निकालेर बेच्थिन् । त्यति गर्दा उनको परिवारको गुजारा मुस्किलले चलेको थियो । त्यहाँ मालिकको खप्की खानु पर्दैनथ्यो, पारिश्रमिकको चिन्ता पनि नहुने । जति हुन्थ्यो आफ्नै कमाइ ।

चुहिने छानोमुनि ढिँडोरोटो चलेकामा उनीहरू खुशी नै थिए । छोराछोरीलाई स्कुल हाल्नु पर्‍यो । त्यो पैसाले पुग्न छाड्यो । अनि, पानीमा चोपलिँदै गरेको ज्यान आगोको नजिक पुग्यो, उनी मकै पोल्न थालिन् । पतिसँग आलोपालो गर्दै बिहानभर बालुवा झिक्ने र दिउँसो मकै पोल्ने । सुकिलो लुगा लाएर अस्पताल हिँडेका नर्स हेर्दै मकै बेच्दा पुरानो सपना ब्युँझिन्थ्यो आँखामा ।

त्यसैले आफूले पढ्न नपाए पनि छोराछोरीलाई पढाउने उनले अठोट गरिन् । थोरै भए पनि अंग्रेजी जानुन् भनेर उनले नानीहरूलाई दुई कक्षासम्म बोर्डिङ स्कुल पढाइन् । मनले मात्र चाहेर नहुने रहेछ । पैसाले नपुगेपछि उनका छोराछोरी त्रिपुरेश्वरस्थित विश्व निकेतन उच्चमावि धाउन थाले । छोरीले एसएलसी पास गरेका दिन उनी जीवनमै सबैभन्दा खुशी भइन् ।

उनलाई नर्स पढाउने चाहना थियो । तर, आम्दानीले भ्याउ“दैनथ्यो । छोरी अहिले स्नातक प्रथम वर्ष अध्ययरत छिन् । छोराले उनको सपनालाई खुट्टा टेकाउन सकेनन् । बीचमै पढाइ छाडेका उनको भविष्यको चिन्ताले अहिले निद्रा बिथोलेको छ ।

ओइलिए रहर
कुनै समय थियो, दाजुभाउजूसँग उनी राजधानीका सिनेमा हलमा पुग्थिन् । पाँच रूपैयाँ तिरे बाल्कोनीमै बसेर सिनेमाको मजा लिन सकिन्थ्यो । ‘त्यसबेला म जानीनजानी फिलिमको गीत गुन्गुनाउँदै धागो बाट्थेँ । भाउजूहरू जिस्क्याउँथे लौ ! हिरोनी हुने भइन् हाम्री सीता,’ थोते गिजा देखाउँदै मुस्कुराइन् उनी, ‘तर, व्यवहार र दुःखले किच्दै लगेपछि रमाइलो भन्ने कता भाग्यो खै !’

विवाहपछि पहिलो पतिले उनलाई सिनेमा हल त के एक दिन हाटबजार पनि सँगै लगेनन् । अहिलेसम्म मोबाइल बोक्न सकेकी छैनन् । एउटा तुना खुलेको चोलो, गुन्यु र पटुका, पछिल्ला कैयौँ वर्षदेखि उनको पहिचान यति लुगाले दिएका छन् । मकै पोलेको कमाइले उनले एकजोर सुनको मुन्द्राचाहिँ कानमा झुण्ड्याएकी छन् । यसबीच वागमतीमा पानीभन्दा धेरै ढल बगिरह्यो । उनको शरीरबाट पनि वागमतीजस्तै धमिलो पसिना कति बगे नदीको बगरमा, हिसाब छैन । भदौरे घाममा मकै पोल्दा कति निलिन् अमिलो पसिना न त्यसको लेखाजोखा छ उनीसँग ।

बाँदरले दुःख दिन आइरहन्छ । दाउरा उज्याएर धपाउँछिन्, झुक्याएर मकैको घोगा टिपिहाल्छ । बाँदरसँग उस्तो रिस उठ्दैन उनलाई । हाँस्दै भन्छिन्, ‘सुट लाएर आएका मान्छे त एक घोगा मकैको पाँच रूपैयाँमा किचकिच गर्छन् । लैजाओस् मोराले त्यसको भाग । यसको पनि मेरो जस्तै न जाने ठाउँ, न खाने ठाउँ छ ।’उनलाई गुनासो त ठूला मान्छेहरू मिलेर बनेको सरकारसँग छ ।

यसबीचमा सरकारले सुकुम्वासी बस्ती हटायो । त्यो विचल्लीमा परेर उनी जहान टिपेर कलंकी भाडाको कोठामा बस्न पुगिन् । तर, केही समयपछि नै कतै घर नभएकाहरू फेरि फर्केर त्यही बस्न पुगेपछि उनको परिवार पनि पुरानै थलो फर्कियो । वर्षा लागेपछि वागमतीले बगाउने डर, अरू बेला सरकारले डोजर लगाउने पीर । चुनाव र जुलुस गर्नुपर्ने बेला विभिन्न पार्टीका मान्छे आफूलाई सघाउन भन्दै आउँछन् । स्थायी बसोबासको टुंगो गरिदिने आश्वासन दिन्छन् । त्यस्तो आश्वासन भने अहिलेसम्म पूरा नभएकामा उनलाई गुनासो लाग्न छाडिसकेको छ ।

अन्नपूर्ण टुडेका थप सामग्री पढ्नुहोस्


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.