अवैध क्लिनिक सञ्चालन गर्ने दुई पक्राउ
दाङ: दाङमा अवैध रुपमा प्याथोलोजी र डेन्टल क्लिनिक सञ्चालन गर्दै आएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । लालमटिया–३ भालुवाङ बजारमा स्वर्गद्धारी डेन्टल क्लिनिक सञ्जालन गर्ने २६ बर्षीय समीर भण्डारी र भालुवाङ बजारमै मौसम प्याथोलोजी सेन्टर सञ्चालन गर्दै आएका २३ बर्षीय गौतम गिरीलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुलाई पक्राउ गरी कारवाही अगाडि बढाइएको जिल्ला प्रहरी प्रमुख एसपी धिरज प्रताप सिंहले जानकारी दिए । अपराध नियन्त्रण तथा अवैध कारोवार नियन्त्रण अन्तरगत जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको विषेश अभियान टोलीले उनीहरुलाई पक्राउ गरेको एसपी सिंहले बताए ।
प्रहरीका अनुसार विगत लामो समयदेखि भण्डारी र गिरीले प्याथोलोजी र टेण्टल क्लिनिक स्वीकृति नलिएरै सञ्चालन गर्दै आएका थिए । स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा स्वीकृती नलिएर जनताको स्वास्थ्यमा खेलवाड गरेको तथा औषधि समेत अवैध रुपमा विक्री वितरण गरिरहेको भन्ने जनगुनासोको आधारमा भण्डारी र गिरीलाई पक्राउ गरिएको एसपी सिंहले जानकारी दिए ।