पैंचो पसलका उत्पादन नेपालगन्जमा
नेपालगन्जः पैंचो पसल प्रालिले नेपालगन्जमा आफ्ना उत्पादन प्रवेश गराएको छ । सोमबार एक समारोहबीच नेपालगन्जमा पैंचोका उत्पादन लन्च गरिएको छ । नेपालगन्ज उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष अब्दुल वाहिद मन्सुरी, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सुनिलकुमार शर्मा, पैंचो पसल प्रालिका अध्यक्ष दुर्गाप्रसाद भण्डारी, प्रबन्ध निर्देशक धु्रव न्यौपाने र सञ्चालक कपीलप्रसाद अधिकारीले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।
दुई वर्ष पहिले गुल्मीको बलेटक्सार गाउँबाट सुरु गरिएको पैंचो पसलका उत्पादन बुटवल, काठमाडा हुँदै मध्यपश्चिम र सुदूरपश्चिमका बजारमा पुर्याइएको अध्यक्ष भण्डारीले बताए । लामो समयदेखि सहरमा बसोबास गर्दै आए पनि गाँउवस्तीको परिकारलाई भुल्न नसकेका उपभोक्तालाई गाउँघर, यसमा पनि पहाडी र उच्च पहाडी क्षेत्रका कृषि उत्पादनको बजारीकरण गर्ने उद्देश्यले स्थापित पैंचो पसल प्रालिले राजधानी काठमाडौंपछि नेपालगन्जमा आइपुगेको हो ।
पैंचोको स्थापनाले पश्चिम नेपालका गुल्मी, पाल्पा, अर्घाखाँचीसहित स्याङ्जा, रोल्पा, रुकुमका हजारौं किसान र उपभोक्ता लाभाविन्त हुने उनले दाबी गरे । सिधै किसानसँग जोडिएर कृषिमा आधारित पैंचो पसल नेपालको पहिलो उद्योग भएको अध्यक्ष भण्डारीले बताए ।