संशोधन गराइछाड्ने आश्वासन
काठमाडाैैः प्रधानमन्त्री पुष्पकमल दाहालले परिमार्जनसहितको संविधान संशोधन प्रस्तावलाई संसद्बाट अनुमोदन गराउनु सरकारको अबको उच्च प्राथमिकता रहेको आश्वासन मधेसी नेताहरूलाई दिएका छन् ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा सोमबार साँझ ६ बजेदेखि दुई घन्टा बसेको मोर्चा नेताहरूसँगको बैठकमा प्रधानमन्त्रीले भने, ‘हिजोको मेरो प्राथमिकता स्थानीय निर्वाचन घोषणा थियो । अब संविधान संशोधनमा केन्द्रित हुन्छु । त्यो काम यसै महिना सम्पन्न गर्नेछु ।'
प्रधानमन्त्रीले यस्तो आश्वासन दिए पनि मोर्चा नेताहरू भने आक्रोशित भएका थिए । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले निर्वाचन घोषणा गरेर सरकारले मधेसी जनतामाथि उपेक्षा गरेको आरोप लगाए । ‘सिंहदबारको शासकले मधेसलाई उपेक्षा गरेर निर्वाचन घोषणा गरेको छ । यसको परिणाम राष्ट्रले भोग्न नपरोस्', उनले भने, ‘प्रमुख तीन दलका कारण मधेसीले अधिकार नपाउने मात्र होइन, मधेस र मधेसीलाई लड्न बाध्य गराउने अवस्था आएको छ ।'
अघिल्लो आइतबार मोर्चासँग गरेको प्रतिबद्धताअनुसार चाँडोभन्दा चाँडो परिमार्जनसहितको संशोधन पारित गर्न उनले प्रधानमन्त्रीलाई दबाब दिए ।एमालेको दबाबमा निर्वाचन घोषणा गरेको भन्दै उनले निर्वाचन सम्पन्न गरेर देखाउन प्रधानमन्त्रीलाई हाँक दिए । ‘एमालेको दबाबमा हुँदै नहुने निर्वाचन गरेर देखाउने हुती सरकारसँग छ ? ' उनले प्रश्न गरे ।
हिजोको प्राथमिकता निर्वाचन घोषणा थियो । अब संविधान संशोधनमा केन्द्रित हुन्छु । त्यो काम यसै महिना सम्पन्न गर्नेछु । पुष्पकमल दाहाल प्रधानमन्त्री
अघिल्लो साता संविधान संशोधनमार्फत माग पूरा नभई स्थानीय निकाय निर्वाचन घोषणा गरे अकल्पनीय परिणाम भोग्नुपर्ने धम्की दिएका मोर्चाका नेताहरूले सोमबारको बैठकमा भने तीनबुँदे सहमतिका आधारमा संविधान संशोधन नभए सोही मितिबाट सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिने बताएको जानकारी स्रोतले दियो ।
प्रधानमन्त्रीले भने तीनबुँदे सहमतिकै आधारमा संशोधन प्रस्ताव पारित गराउने बताएका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टी र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकसँग सहमतिनिकट रहेको जानकारी उनले मोर्चा नेतालाई गराएका थिए । उनको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘एमालेलाई पनि विश्वासमा लिने प्रयास गरिरहेको छु तर सफल हुन सकेको छैन ।'
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान संशोधनमा दुईतिहाइ पुर्याउन गाह्रो भएको उल्लेख गर्दै यसका लागि अझै समय लाग्ने जानकारी प्रधानमन्त्रीले आफूहरूलाई दिएको बताए । प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै उनले अन्नपूर्णसँग भने, ‘वातावरण बनाऊँ, चुनावमा जाऊँ । जनसंख्याका आधारमा गाउँपालिका/नगरको क्षेत्र निर्धारण गर्न सकिन्छ ।' मंगलबार पुनः मोर्चा, कांग्रेस र माओवादी केन्द्रको बैठक हुने जानकारी प्रधानमन्त्रीले दिएको महतोले बताए ।
‘सिंहदबारको शासकले मधेसलाई उपेक्षा गरेर निर्वाचन घोषणा गरेको छ, यसको परिणाम राष्ट्रले भोग्न नपरोस् ।' -महन्थ ठाकुर, अध्यक्ष, तमलोपा
संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले आफूले बैठकमा दलहरूबीच सत्ता खिचातानीमै मुलुक रहने हो भने केन्द्र (संसद्) र प्रान्तको निर्वाचनपछि प्रान्तमा रहने गरी स्थानीय निर्वाचन गर्न माग गरेको बताए । उनले प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै भने, ‘स्थानीय तह पुनर्संरचना आयोगको अन्तिम प्रतिवदेनमा जनसंख्याका आधारमा स्थानीय तह पुनर्संरचना गराउनेछु ।'