आकस्मिक सेवा दिक्षान्त समारोह
काठमाडौः नेपाल एम्बुलेन्स सर्भिसले दक्ष आकस्मिक सेवा स्वास्थ्यकर्मीका लागि दिक्षान्त समारोह आयोजना गरेको छ । तालिमको दोस्रो सत्रमा स्ट्यान्डफोर्ड युनिभर्सिटी स्कुल अफ मेडिसिनद्वारा सञ्चालित स्वास्थ्य आकस्मिक सेवा तालिममा संलग्न ४७ जना स्वास्थ्यकर्मीलाई समारोहका प्रमुख अतिथि स्वास्थ्यमन्त्री गगन थापाले प्रमाणपत्र प्रदान गरेका थिए । उक्त कार्यक्रममा इन्टरनेसनल मेडिकल कप्र्सले नेपाल एम्बुलेन्स सर्भिसलाई पाँच वटा नयाँ एम्बुलेन्स सहयोग गरेको छ । एनएएसले यसअघि नै काठमाडौं उपत्यका र चितवनमा दक्ष आकस्मिक सेवा स्वास्थ्यकर्मीसहितको पूर्ण सुविधा सम्पन्न ६ वटा एम्बुलेन्स सञ्चालन गर्दै आएको छ ।
संस्थाले पोखरा, बुटवल र भैरहवामा पनि सेवा बिस्तार गर्ने भएको छ । उक्त अवसरमा मन्त्री थापाले ‘नेपाल सरकार अब नेपाल एम्बुलेन्स सर्भिससँग हातेमालो गरेर स्तरीय सेवा सम्पूर्ण राज्यभरि सञ्चालन गर्नेछ । यो पब्लिक प्राइभेट पार्टनरसिपको उत्कृष्ट नमुना बन्ने उनले बताए । एम्बुलेन्स हस्तान्तरणपछि, नेपाल एम्बुलेन्स सर्भिसका अध्यक्ष ओम राजभण्डारीले २० हजारभन्दा बढी बिरामीलाई सेवा प्रदान गर्न सफल भएको बताएका छन् ।
इन्टरनेसनल मेडिकल कप्र्सका देसीय निर्देशक जोलेने माएमुलिन्सले नेपाल एम्बुलेन्स सर्भिससँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरे । उनले अन्य विकसित मुलुकजस्तै नेपालमा पनि अन्तर्राष्ट्रियस्तरको एम्बुलेन्स सेवा सञ्चालन गरिरहेकोमा एनएएसलाई बधाइ दिएका छन् ।