याक नचाउँदै नाचे दावा
काठमाडौः स्वअ स्वअ भन्दै याक नचाउदै डोर्याउदै उनी मञ्च तर्फ अघि बढे । हेर्नेको भिड लाग्यो, नजिकै बसेका स्वीजरल्याण्डका दुई पर्यटक पनि वाउ नाइस भन्दै हेर्न तम्सिए । मञ्च नजिकैबाट एकाएक दुरुस्त याकको भेषमा नाच्दै निष्कीएका दुई युवा र याक गोठाला दावाको कला देखेर सबै चकित हुदै थप्पडी बजाएर स्वागत गरे ।
याकसँग हिमाली क्षेत्रमा बसोवास गर्ने शेर्पा जातिको सम्बन्ध नजिक रहेका र याककै सहायताले जीवन गुजारा चलाउने गर्नाले याकलाई शेर्पा संस्कृतिमा महत्वपुर्ण मानिन्छ । ग्याल्पो लोसारको अवशरमा आयोजित स्याव्रु प्रतियोगितामा सोलुखुम्बुका शेर्पाहरुले स्याब्रु नृत्यसँगै आफ्नो जातीको संस्कृतिलाई दुरुस्त प्रस्तुत गरे । याक गोठालाको भूमिकामा प्रस्तुत भएका सोलुखुम्बुका दावा शेर्पा हाम्रो जीवनसँग जोडिएको परम्परागत संस्कृति भएका याक नृत्य नाच्दै संरक्षण गर्दै आएको बताए ।
हामीले यस्ता कलाहरुलाई गाउँगाउँका युवालाई तालिम प्राप्त बनाइ संरक्षण गर्दै आएका छौ, राज्यले मयुर नाँचलाई मात्र संरक्षण गर्दै प्राथमिकतामा राखेको छ याक नाचलाई अझै देखेन उनले गुनासो पोखे । याकको हाउभाउ, हिमालमा गर्ने भूमिका, भारी बोक्ने देखि शेर्पाका घरमा हुदाको अभियान दुरुस्त प्रस्तुत गर्छन । बिषेश गरी शेर्पाहरुको लोसार, नाटक, पुजा जस्ता शुभ कार्यक्रममा याक नाँच नाच्ने गरेको दावाले बताए । उनले प्रत्येक गाउँमा दुई जनालाई तालिम दिएर याक नाँचलाई संरक्षण गरेको समेत बताए ।
हिमाली क्षेत्रमा बसोवास गर्ने भएको शेर्पाले याक पाल्ने र याकसँगै दैनिकी चलाउने जुगारा चलाउने भएकाले याक र शेर्पाको सम्बन्ध नजिक रहेकाले यो नृत्य परम्परागत रुपमा नाच्ने गरेको हिमालय शेर्पा सास्कृतिक केन्द्रका उपाध्यक्ष आङडोमा शेर्पाले बताइन । चार दर्जन बढी कलात्मक संस्कृति मध्ये याक नाच पनि शेर्पा जातिको एक मुख्य संस्कृति भएको उनले बताइन ।
शेर्पाहरूको आफ्नै भेषभुषा, नाचगान, खानपान रहेका छन् भने घरको वनावट शैलीदेखि लिएर घरको भित्र बाहिरको रङ्ग रोगन, मुर्ति काल, चित्र काल आदि अन्य समुदयको भन्दा केही फरक हुन्छ यसमा चौरी र याकको बासास्थान पनि छुटाइदैन । खर्कमा बनाइएका गोठ देखि घरको प्रकार पनि याकमैत्रीनै हुन्छ ।
शेर्पाहरूले मन्ने मुख्य चाडपर्व बुद्ध जयन्ती, धर्मचक्र प्रर्वतन, सागा दावा, देवातरण महोत्सव, ल्हाबापा तुइक्षेन) र आचार्य पद्मसम्भवसँग सम्बन्धित, कृष्ण पक्षको दशमी पूजा, (छेचु) र शुक्ल पक्षको दशमी (ञेरङ) को साथै मणि रिल्डुब, ञ्युङन्य (मौन व्रत) डुम्ची (डुव्क्षोद्) पनि मुख्य हुन ।
भाषा, संस्कृति, परम्परा, भेषभूषा र संस्कारलाई जिवन्त दिन लोसार कार्यक्रमसँगै अन्य समयमा पनि बिभिन्न संरक्षणका कार्यक्रमहरुको आयोजना गर्दै आएको केन्द्रले जनायो । शेर्पा राष्ट्रको विकास निर्माण र नेपाललाई अन्तर्राष्ट्रिय जगतमा परिचित गराउन बलियो माध्यम बन्दै गएकाले यो समाजको संस्कार र परम्परा जोगाउँदै राष्ट्रियताको निम्ति आवस्यक भएको शेर्पा संस्कृतिका अभियान्ता लाक्पा शेर्पाले बताए । उनी संस्कृति र परम्परा विकास र विस्तारमा राज्यको सहयोग र सद्भाव आवस्यक रहेको बताए ।